Comments Add Comment

जब महन्थ ठाकुरलाई ओलीको बोली मिठो लाग्यो …

१३ साउन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ता बहिस्कार गरेको भोलिपल्ट साँझ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बालुवाटार पुगे ।

ठाकुर चार दलका शीर्ष नेताहरुसँग भेटेर बाहिरने क्रममा पानी परिरहेको थियो । छाता ओढेर बाहिरिँदै गरेका तमलोपा अध्यक्ष ठाकुरले भने-‘ओलीको वोली मिठो थियो ।’

Kp-oli-And-Mahantha-Thakur

आखिर के भएको थियो बालुवाटार वार्तामा ? जसले संविधानको मस्यौदाको विरोध गरिरहेको मधेसी मोर्चाका एक घटक तमलोपा अध्यक्ष ठाकुरलाई ओलीको बोलीले लोभ्यायो ।

प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष ओलीले मंगलबार नै महन्थ ठाकुरसँग वार्ता गर्न चाहेका थिए । १० बजे नै मधेसी मोर्चाका अध्यक्षहरुलाई बोलाइएको थियो । तर, औचित्य नभएको भन्दै मोर्चाले वार्ता बहिस्कार गर्‍यो ।

तर, बुधबार ठाकुर वार्तामा बस्न सहमत भए । चार दलले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पनि छुट्टै भेट्न चाहेका थिए । तर, उनले काठमाडौंमा रहे पनि महतोले आफू राजधानी बाहिर रहेको भन्दै टारेका छन् ।

तमलोपा अध्यक्ष ठाकुर साँझ ५ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । ठाकुरले सहमति गरेर आफूहरुलाई सुनाउन मात्र खोजेको आशंका गरेका थिए ।

तर, शीर्ष नेताहरुले गतिरोध फुकाउँ भनेर सहमति गरेको भन्दै के-के सम्बोधन गर्ने भनेर सुझाव मागेका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले ठाकुर सा’ब भन्दै हिन्दीमा सम्बोधन गर्दै आफ्नो कुरा राखेका थिए । ओलीले महन्थ ठाकुरलाई ‘तपाई मधेसमा मात्र संकुचित हुनु पो भयो कि राष्ट्रकै नेता हुनु पर्ने’ भनेका थिए ।

जवाफमा ठाकुर निकै सकारात्मक रुपमा प्रस्तुत भए । उनले नयाँ संविधान सबैभन्दा बढी कसैलाई चाहिएको छ भने त्यो मधेसीलाई भएको भन्दै आफूहरु संविधान विरोधी नभएको बताए ।

‘तर हाम्रो मुद्धा सम्बोधन नै नगरी संविधान आउँछ कि भन्ने चासो र चिन्ता उहाँको थियो’ भेटपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने ।

कम्तिमा प्रदेशहरुको सीमांकन हुने हो भने अन्य विषयमा फरक मत राखेर भएपनि संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने ठाकुरले बताएका छन् । ठाकुर चार दलको कुरा मधेसी मोर्चामा राख्ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।

बिहीबारबाट सहमति खोजिने

चार दलबीच प्रदेशहरुको सीमांकन गरेर जानेबारे छलफल भइरहेको छ । तर, सहमति जुटेको छ । जनमत संकलनका क्रममा अधिकांशले सीमांकन गरेर जान सुझाव दिएपछि दलहरुलाई दबाव बढेको छ । सीमांकन गर्ने हो भने असन्तुष्ट दलहरुको विरोधको स्वर पनि मत्थर हुनेछ ।

तर, पाँच जिल्ला विवादका कारण सहज छैन । साथै चार दलले साउन मसान्तभित्रै संविधान जारी गर्ने तालिका बनाएकाले समय पनि दबाव बढेको छ ।

नेताहरुका अनुसार जनताको सुझावलाई सम्बोधन गर्नेबारे बिहीबारबाट विषयबस्तु केन्द्रीत भएर छलफल सुरु हुनेछ । बैठक विहान ८ बजे बोलाइएको छ ।

चार दलले धर्म निरपेक्षताको सट्टा नयाँ शब्द खोज्ने र नागरिकतामा प्रष्ट पारेर जाने सहमति गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment