Comments Add Comment

कास्कीको लुम्ले र भदौरेमा भिषण पहिरो, मृत्यु हुनेको संख्या १९ पुग्यो

Pahiro At Kaski 1

१४ साउन, पोखरा । कास्कीको लुम्ले र भदौरे गाविसमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १९ पुगेको छ । लुम्ले गाविस ६ मा १४ र भदौरे गाविस ५ मा ५ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये सबैको सनाखत भएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीका अनुसार लुम्लेमा मृत्यु हुनेहरुमा अर्जुन गुरुङ, सविता पौडेल, बसन्ती विक, चिजा विक, सम्झना विक, सलिना विक, सुनिल विक, मन्जु सुनार र मन्जुकी ३ महिने छोरी रहेका छन् ।

यसैगरी सुनकुमारी जिसी, सुगम जिसी, संगम जिसी, छिरिङ राई र छिरिङकी श्रीमतीको पनि मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।

लुम्लेमा तीन जना घाइते भएका छन् ।

Pahiro At Kaski

यस्तै भदौरे गाविसमा पहिरोमा पुरिएर टीकाराम विक, रामकुमारी विक, गौरी पराजुली, करण पराजुली र नन्दकली पराजुलीको मृत्यु भएको छ ।

भदौरेमा १० जना घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको स्थिति गम्भीर रहेको सहायक प्रजिअ रेग्मीले बताए । घाइतेहरुमध्ये ४ जनाको मणिपाल अस्पतालमा र अरुको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

Pahiro At Kaski  2

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । घटनास्थल पोखरा बजारबाट ३० किलोमिटर टाढा पर्दछ ।

म्याग्दीमा १ को मृत्यु, ६ वेपत्ता

म्याग्दीमा पनि गएराति गएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् । मुना गाविस ४ मा ८ बर्षकी एलिना दराईको मृत्यु भएको र मुदी गाविसका ६ जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

मुदीमा पहिरोले तीनवटा पशुपालन गर्ने गोठ बगाएको छ । ती गोठमा बसेका घर्ती र पुन परिवारका ३-३ जना वेपत्ता भएको खबर आएको पाठकले बताए । घटनास्थलमा ताकम प्रहरी चौकीबाट टोली पठाइएको उनले जानकारी दिए ।

यसैगरी बाग्लुङको रायडाँडा-९ आप्रेमा विहिबार विहान बर्षासँगै आएको पहिरोमा घर पुरिएर ८३ वर्षीय कर्णधर थापाको मृत्यु भएको छ ।

तस्वीर : हेमराज अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment