Comments Add Comment

श्रमदान गरेर स्थानीयवासीले बनाए हेलिप्याड

१४ साउन, गोरखा । उत्तरी गोरखाको चुम्चेत गाविस–१ लोक्पा गाउँका भूकम्पपीडितले श्रमदान गरेर हेलिप्याड निर्माण गरेका छन् ।

भूकम्पपछि गोरेटो, घोरेटो बाटो पहिरोले अवरुद्ध भएपछि स्थानीयवासीले हेलिकोप्टरमार्फत राहत सामग्री गाउँसम्म ल्याउन हेलिप्याड निर्माण गरेको चुम्चेत गाविसका सहायक शेराप गुरुङले जानकारी दिए ।

“एक घर एक कामदारले तीन दिन काम गरेपछि हेलिप्याड निर्माण भयो”, उनले भने, “हेलिप्याड नहुँदा भूकम्पपीडित घाइतेको उद्धार र राहत सामग्री ढुवानीमा समस्या भएको थियो । अब गाउँमै हेलिकोप्टर बस्न सक्छ ।” तिब्बतसँग सिमाना जोडिएको चुम्चेत गाउँ पुग्ने गोरेटो बाटोको अधिकांश ठाउँमा झोलुङ्गे पुल भत्किएको छ । बूढीगण्डकी नदी कटानले गर्दा बाटो भत्केको छ ।

भिरालो जमिन सम्याएर हेलिप्याड निर्माण गरिएको र मौसम सफा भएमा उक्त हेलिप्याडमा सजिलै हेलिकोप्टर अवतरण गर्न सकिने गुरुङले बताए । उत्तरी भेगमा भूकम्पअघि खच्चडले सामग्री ढुवानी गर्दै आएको थियो । अहिले यातायातको एक मात्र विकल्प हेलिकोप्टर मात्रै भएको गुरुङको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment