Comments Add Comment

बबाल गर्ने भाले पुलिसको फन्दामा

cock 2

गाउँलेहरुबीच घमासान झगडा उत्पन्न गराइदिने कुखुराको भालेलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ ।

घटना भारतको हो । कानपुरस्थित सम्वादकर्नलजंग प्रहरी चौकी क्षेत्रमा पर्ने लुधौरामा एक भाले कुखुराले बबाल मच्चाइदियो । मानिसहरुबीच कुटपिट तथा ढुंगा हानाहान हुन थाल्यो । घटनाको सूचना पाएपछि ठूलो संख्यामा प्रहरी घटनास्थलमा पुगे । दुवै पक्षलाई सम्झाउने कोसिस भयो तर समझदारी भएन । त्यसपछि प्रहरीले त्यो बबाल मच्चाउने कुखुरालाई खोज्न थाल्यो । आधा घण्टाको प्रयास पछि प्रहरीले कुखुरा फेला पार्यो र पक्राउ गरेर उसलाई चौकीमा लगेर थुन्यो ।

कुखुरालाई मात्र होइन कुखुराको मालिक र उसको छोरालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि कुटपिट तथा शान्तीभंग गरेको लगायतका अभियोग लगाएको छ ।

के भएको हो ?

cock

लुधौरा निवासी गुलजार नामका व्यक्ति पसलमा सामान खरीद गरेर घर फर्किँदै थिए । बाटोमा हिँडिरहेको बेला छिमेकी राम उग्रहको भाले कुखुराले गुलजारलाई ठुँग्यो ।

आफुलाई तिखो चुच्चोले ठुँग्ने भालेलाई गुलजारले लात्ताले हानेर भगाए । उता आफ्नो भाले कुखुरालाई लात्ताले हानेको भन्दै राम उग्रहको छोरा शेराले गुलजारसँग झगडा गर्न थाल्यो र गुलजारलाई २-४ थप्पड हिर्कायो पनि । लक्काजवान ठिटोसँग जोरी खोज्न ठीक नहुने ठानी गुलजार त्यहाँबाट लुरुलुरु आफ्नो बाटो लागे । तर शेराको यस्तो व्यवहारमा चित्त नबुझेपछि अर्को छिमेकी सुनिलले कुखुरा सम्हालेर राख्न शेरालाई सल्लाह दिए ।

घमण्डी शेरालाई त्यो अर्ती कहाँ पच्थ्यो ? उसलाई काकाको भनाइ बिख भयो र उल्टै झगडा गर्न थाल्यो । झगडा बढ्दै गयो शेरा र सुनिल दुबैका परिवार जम्मा भए । छिमेकीहरु पनि दुवै पक्षमा बाँडिए र झगडाले उग्र रुप लिएर हातपात समेत सुरु भयो । ढुंगा हानाहान समेत हुन थाल्यो । भागदौड समेत मच्चियो र धेरै मानिस घाइते पनि भए । यो घटना प्रहरीले थाहा पाएपछि तत्कालै प्रहरी घटनास्थलमा आएर स्थिति साम्य पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment