Comments Add Comment

झाँक्रीेले यसरी बलि चढाए हाम्रो सुनजस्तो सोनुलाई !

नवलपरासीबाट सलमान खानकाे स्थलगत रिपाेर्टsonu ko family_650

  • मृतक सोनु कोहारका बुबाअामा र दिदीबहिनी 

१४ साउन, नवलपरासी । गत साउन ५ गते नवलपरासीको कुडिया गाविस-४, मर्चहावा गाउँमा हराएका १० वर्षीय बालक सोनु भन्ने जीवन कोहारको ८ गते घर नजिकै पोखरीमा शव फेला पर्‍यो । बालकको बलि चढाएको आरोपमा प्रहरीले झाँक्रीसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।

यसैक्रममा अनलाइनखबरकर्मीले मृतक सोनुका बुबाआमा, हजुरबुबा, छिमेकी र साथीहरुलाई मर्चहावा गाउँमै पुगेर घटनाबारे सोधपुछ गरेको छ । मृतकका आफन्तले यो कहालीलाग्दो घटनाबारे यसरी सुनाए :

तिनीहरु गाउँमा फर्के भने म जेल जान्छु
शिवमंगल कोहार (सोनुका पिता)
sonu ko buwaम बिहान काम गर्नका लागि भारतीय सीमाना नजिक पथलावामा गएको थिएँ । काम गरेर साँझ घर फर्केपछि सोनु छोरा कहाँ छ भनेर परिवारलाई सोधें । उनीहरुले खेल्न गएको छ, अहिले आउँछ भन्ने जवाफ दिए । त्यसपछि छोरीलाई भनें, जाऊ गएर हेर, कहाँ छ ? कसको घरमा टिभी हेर्दैछ कि ? छोरीले पुरै गाउँमा खोजिन् तर भेटिएन ।

त्यसपछि श्रीमतीलाई खोज्न पठाएँ । उसले पनि छोरो भेटाइन । त्यसपछि हामी श्रीमान श्रीमती दुबैजना मिलेर गाउँभरि खोज्यौँ । तर, भेटाएनौँ । त्यसपछि घरमा रुवावासी सुरु भयो । सबै गाउँलेहरु के भयो सोनुलाई, कहाँ गयो भनी सोध्न थाले ।

गाउँलेहरु सबै मिलेर छोराको खोजी कार्य सुरु गर्‍यौं । ३/४ दिनसम्म खोज्यौँ । छोरोको शव नभेटाएसम्म सबै जनाले खोज्यौँ ।

मैले झाँक्रीहरुको (हत्याको आरोपमा पक्राउ परेका व्यक्तिहरुको ) केही कुरा सुनेको थिइँन । मेरा बुवा र भाइहरुले सुनेका थिए । मलाई त्यसबारे केही जानकारी थिएन । जब छोरो हरायो, वरिपरि खोजेर पनि नभेटाएपछि मेरा बुवा र भाइले आज बिहान झाँक्रीहरुले देउता खेलाएका थिए, तिनीहरुले नै सोनुलाई केही गरेको हुन सक्छ भने । त्यसपछि हामीलाई (झाँक्री ) माथि शंका लाग्यो ।

त्यसपछि गाउँलेहरुले झाँक्री र तिनका परिवारहरुलाई कतै जान नदिई छोराको पुनः खोजी कार्य सुरु गर्‍यौँ । म छोराको खोजीमा लागेका कारण अन्य कुरा मभन्दा मेरो बुबालाई अर्थात सोनुका हजुरबुबालाई थाहा छ । छोराको शव पनि गाउँले भेटेपछि हामी सबैले थाहा पायौँ । गाउँले खेतबाट आउँदै गर्दा शवको दुर्गन्ध उनको नाकमा पुग्यो र त्यसपछि ती गाउँलेले मेरा बुबालाई लिएर गए । र, त्यसपछि बुबाले शव हरेर नातिको पहिचान गर्नुभयो ।

गाउँभरि हल्ला भयो । अनि प्रहरी आएर केही व्यक्तिहरुलाई पक्राउ गर्‍यो र केही भागभाग गर्न थाले । अब तिनीहरु (पक्राउ परेका व्यक्ति) ११ जना छन् र ती सबैलाई फासी नै होस् भन्ने चाहन्छु । तीमध्ये कोही घर नाआउन् । तिनीहरु गाउँमा आए म तिनीहरुलाई मारिदिन्छु र जेल गएर बस्छु । मलाई त्यसमा सन्तोष हुन्छ । तर, सबैलाई मार्छु एकजनालाई पनि छोड्दैन ।

फूलजस्तो बच्चा थियो मेरो । किन मेरो छोरालाई तिनीहरुले मारे ? केही दुशमनी पनि थिएन । कहिल्यै झगडा पनि भएको थिएन । पक्राउ परेका ११ जनासँगै कुनै किसिमको दुश्मनी नै थिएन । किन मारे मेरो छोरालाई ?

त्यसले भन्दै थियो, मान्छेको बलि चाहियो
परमानन्द कोहार (सोनुका हजुरबुबा)
sonu ko hajurbuba parmanand koharमंगलबारको दिन थियो । झाँक्रीहरु आफ्ना स-परिवारको उपस्थितिमा त्यो दिन देउता खेलाइरहेका थिए । शोखाई, झाँक्रीको पुजाआजा गरिरहेका थिए ।

सूर्यभान हरिजन, गंगा हरिजन, रुदल हरिजन, केदाई हरिजन लगायत स-परिवार सबै ११ जना त्यहाँ थिए । त्यसपछि म आफ्नो दोकानबाट आफ्नो घर आएँ । त्यसपछि मैले शेखाई (झाँक्रीको पुजाआजा) हेरेपछि म पनि त्यहाँ बस्न गएँ । उनीहरुले देउता खेलाउँदै थिए ।

जब विजय हरिजनले (हत्याको आरोपमा पक्राउ परेको व्यक्ति) देउता खेलाउँदै, जिउ हल्लाउँदै थियो, तब विजयले मलाई बली चाहियो बली, मान्छेको खून चाहियो भन्दै थियो । त्यसपछि झाँक्री सूर्यभान हरिजनले (हत्याको आरोपमा पक्राउ परेका अर्का व्यक्ति) ठीक छ, म बलि दिन्छु, तर तिमी शान्त भइहाल भन्दै थिए । जब सूर्यभानले मैले मान्छेकै बली दिन्छु, तिमी शान्त भइहाल भने, तब विजय शान्त भयो र जिउ हल्लाउन छाड्यो ।

त्यस लगत्तै सबैजना त्यहाँबाट उठेर गए र म पनि त्यहाँबाट उठेर हिँडे । यो घटना मंगलबार बिहान ८ बजेको थियो ।
जब हामी साँझ खेतबाट आयौँ घरमा नाति फेला नपरेपछि नातिलाई चारैतिर खोज्न सुरु गर्‍यौँ । नाति कतै नपाइएपछि मैले आफ्नो छोरा सोनुको बुबालाई भनें अरे बाबु, एले (सूर्यभान) भन्दै थियो कि मैले मान्छेको बली दिन्छु, कतै बाबुलाई यसैले त केही गरेको छैन ?

त्यसपछि शंकाका आधारमा त्यसको छोरालाई समातेर बसाल्यौँ । यदि त्यसले बलि दिएकै हो कि भनेर त्यसलाई यहीँ बसाल्यौँ । तर, तिनीहरुले त्यसै दिनको (मंगलबार) दिउँसो नै कथा समाप्त पारिसकेको रहेछन् । हामी दिन रात खोज्दै बस्यौँ ।

त्यसपछि बिहीबार कि शुक्रबार फेरि विजय हरिजन देउता खेल्न थाल्यो । त्यसले काम्दै भन्न थाल्यो, भोलि वा पर्सि तेरो छोरा आउँछ, पोखरीनिर (पीडितको घरदेखि ४ सय ९५ फिट टाढाको स्थान)मा खोज्नू ।

कामेर यति भनेपछि उ, फेरि खेल्न थाल्यो । हामीले पनि केही विश्वास गर्‍यौँ । तैपनि हामीले भन्यौँ कि यसलाई यहीँ आफुसँगै राख्नुपर्छ । त्यसपछि सबैले उतै (पोखरी तिर) खोज्न थाले ।

म दोकानमा थिएँ । एकजना गाउँले खेतबाट आएर पोखरीनिर दुर्गन्ध आउँदैछ, भनेपछि मैले भन जाउँ हिडौँ, धेरै जनाले विभिन्न जिवजन्तु मारेर फाल्छन् ।

ती गाउँले सडकमा उभिए र म पोखरीको झाडीमा पसें । अलिअलि पानी थियो, त्यसकारण खुट्टाले बिस्तारी छाम्दै गएँ । पानीबाट गन्ध आइरहेको थियो । उत्तरतर्फ मोडिएर हेर्दा नातिलाई घोप्टो पारेर सुताइएको थियो र आधी घाँटी काटिएको अवस्थामा मेरो नातिको शव फेला पर्‍यो ।

सोनुले उनीहरुलाई पनि आमाबुबा भन्थ्यो
निर्मला कोहार (सोनुकी आमा )
sonu's motherम त्यो दिन खेतमा घाँस निकाल्न गएकी थिएँ । घाँस निकालेर घर आएपछि बाबु (छोरा) म सगँ आउनुभयो । घाम लागेका कारण गर्मी भइरहेको थियो । पंखा लगाएर म सुतें, सोनु बाबु पनि सुत्नुभयो । त्यसपछि घाँस काट्दा र यताउता गर्दा दिउँसोको ३ बजिहाल्यो । अनि मैले सोनु बाबुलाई घरै बस्नु भनेर म खेतमा गएर आउँछु भनेर म खेतमा गएँ ।

यता तिनीहरुले (पक्राउ परेका व्यक्तिहरु) छोरालाई समातेर सबै समाप्त पारे । यदि यस्तो हुन्छ भनेर थाहा हुन्थ्यो भने म छोरालाई सँगै लिएर जान्थें ।

त्यो दिन (घटनाको दिन) पनि कोदई हरिजन (हत्याको आरोपमा पक्राउ परेको व्यक्ति) को श्रीमति मेरो घर आएर त्यहाँ (स्थान देखाउँदै) बसेको थियो । उसको श्रीमती बसिरहेका बेला म घाँस काट्दै थिएँ । घाँस काट्दा काट्दै ३ बजेपछि म खेततिर गएँ । यता मेरो बाबुलाई समातेर काटकुट पारे ।

भिडियो हेर्नुस्

उनीहरुले कतै लगेका थिएन्न बाबुलाई । आफ्नै घरममा काटेका थिए । दाया लागेन, माया लागेन, गाउँघरको बच्चा थियो । तिनीहरुको मुख हेर्न छैन । यति राम्रो मेरो बाबु थियो । तिनीहरुलाई पनि सोनुले बाबा आमा भन्थ्यो । एकदमै घर जस्तै थियो ।

काट्ने बेलामा उनीहरुले मेरो छोरोको मलिनो अनुहारसमेत देखेनन् । ती हत्याराहरुलाई छाड्नु हुँदैन । दुश्मनी पनि केही थिएन । यदि तिनीहरु मध्ये एकजना पनि छुटेर गाउँमा आए जसरी मेरो बाबुलाई काटेका थिए, त्यसरी नै हामी पनि तिनीहरुलाई काट्छौँ, छाड्दैनौँ ।

सँगै खेल्थ्यौं, झगडा गथ्यौं, अहिले रुन मन लाग्छ
जितेन्द्र कोहार (सोनुका साथी)
sonu ko saathi jitendra koharसोनु र म खेतमा सँगै दिशा गर्न जान्थ्यौँ । सँगै पिसाब फेथ्याैँ । सँगै घुम्न र पढ्न जान्थौँ । सँगै खेल्थ्यौं । झगडा गथ्यौँ अनि तुरुन्तै बोल्थ्यौँ ।

एकपटक मन्दिरनिर दुवैजना लड्दै थियौं अनि त्यसको गन्जी च्यातिएपछि हामी दुवैजना लड्न छाडेर हाँस्न थाल्यौँ । गल्ती भयो भनेर एकपटक दुबै जनाले कान समात्थ्यौँ । खेतमा पनि सँगसँगै काम गर्न जान्थ्यौँ ।

तर, अहिले मलाई रुन मन लाग्छ । अब एक्लै विद्यालय जादाँ पनि डर लाग्छ ।

त्यो दिन सोनु घरमै रहेको दोकानमा थियो । त्यसपछि घर नजिकैको आँपको रुखमा झलुवा खेल्न आएको थियो । त्यसपछि तिनीहरुले (हत्याको आरोपमा पक्राउ परेका व्यक्तिहरु) सोनुलाई आफ्नो घरमा लगे । त्यसपछि तिनीहरुले सोनको बलि दिए । हत्यारा हुन् तिनीहरु ।

तिनीहरुले  सोनुलाई अनार दिएर बोलाएका थिए । बिस्कुट दिएका थिए, मासुभात खुवाएका थिए । तिनीहरुलाई कडाभन्दा कडा सजायँ हुनुपर्छ, यता आए गाउँभरि मिलेर तिनीहरुलाई मारिदिन्छौँ ।

स्कुलमा सँगै चना मटर खान्थ्यौं
प्रियंका कोहार, सोनुकी साथी
sonu ko arko saathi priyanka koharहामी सोनुसँग सँगै पढ्न जान्थ्यौँ, सँगै घर आउँथ्यौँ । सोनु दुई कक्षामा पढ्थ्यो । हामी ३ कक्षामा पढ्थ्यौँ । सोनु पास भएपछि ३  कक्षामा गयो र सोनुकी दिदी प्रिया ३ कक्षामै फेल भई । हामी ३ कक्षाबाट पास भएर ४ कक्षामा गयौँ । त्यसपछि सोनु र सोनुकी दिदी एउटै ३ कक्षामा पढ्थे ।

मंगलबारको दिन म पढेर आएपछि सोनुका हजुरबुबाले घरमै रहेको दोकान चलाउँदै थिए । त्यसपछि हजुरबुबा सुते । त्यसपछि तिनीहरुले सोनुलाई मारिदिए । हत्याराहरुलाई कडा भन्दा कडा सजायँ हुनुपर्छ कहिले जेलबाट नछुटुन् तिनीहरु । तिनीहरुले तीन जातिका बच्चाहरुलाई मारेका छन् ।

पक्राउ परेको सबै ११ जनालाई सजायँ होस् । तिनीहरु यता कहिल्यै नआउन् । जेलबाट आएपछि हामीहरुले तिनीहरुलाई मारदिन्छौँ ।

पहिला हाँस्दै, डुल्दै सँगसँगै विद्यालय पढ्न जान्थ्यौं । तर, अब एक्लै विद्यालय पढ्न जान डर लाग्छ । विद्यालयमा चनामटर पाइन्थ्यो, सँगै बसेर खाएर खेल्न थाल्थ्यौँ । अनि छुट्टी भएपछि सँगै घर आउथ्यौँ । हामी झगडा गरे पनि सँगै विद्यालय जाने र आउने गर्दथ्यौँ ।

जल्लादहरु गाउँमा नआउन्
दुर्गावती हरिजन (छिमेकी)
chimeki durgawati harijanसुनजस्तै थियो सोनु । निकै असल स्वभाव र सोझो थियो । कोहीसँग झगडा गर्थेन । सोनुलाई पिटे पनि ऊ केही बोल्दैनथ्यो । उसको परिवार पनि निकै सोझा छन् । तर, हत्याराहरुले त्यो सुनजस्तो बच्चाको बली चढाइदिए ।

हत्याराहरुलाई कडाभन्दा कडा सजायँ हुनुपर्छ । यस्ता जल्लादहरु गाउँमा नआए हुन्छ, हामीले तिनीहरुलाई गाउँमा राख्दैनौँ ।

आजकल हामीलाई डर लाग्छ । अस्ति त्यस्तो भयो, के थाहा भोलि हाम्रा छोराछोरीको साथमा यस्तै होला । त्यसैले यस्ता जल्लादहरुलाई कडा भन्दा कडा सजायँ हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment