Comments Add Comment

सौराहामा राप्ती नदिले किनारका रेस्टुराँ डुबायो

१४ साउन, । चितवन । वर्षापछि आज बिहान आएको बाढीले चितवनको रत्ननगर सौराहास्थित राप्ती किनारमा रहेका रेष्टुराँका पव डुबाएको छ । राप्ती नदीमा आएको बाढीले किनार क्षेत्रमा बनाएका दर्जनभन्दा बढी पव डुबाएको व्यवसायीले बताएका छन् ।

पर्यटन व्यवसायी शीरलाल परियारले किनारमा पर्यटकले बसेर खाने तथा आनन्द लिने क्षेत्रका दर्जनभन्दा बढी पव डुबाएको जानकारी दिए । सो क्षेत्रमा बाढीले कटान गर्ने गरेकाले अघिल्लो वर्ष बाँध बाँधिएको थियो ।

ड्यामका कारण कटान नभए पनि अहिले बाढी बढेकाले डुबाएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । बछौली प्रहरी चौकीका इन्चार्ज श्यामबाबु यादवले किनार क्षेत्रका पव डुबाएको जानकारी दिँदै क्षतिको विवरण सङ्कलन भइरहेको बताए ।

गएराति यहाँ वर्षा भएको थियो । वर्षाले चितवनका विभिन्न क्षेत्रमा बाढी आएकाले किनार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।

पूर्वी चितवनको शक्तिखोरबाट बग्ने कयर खोलामा समेत बाढी बढेकाले पिठ्वा क्षेत्रको किनारमा रहेका सुकुम्बासी बस्ती प्रभावित भएका इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

प्रहरीका अनुसार रत्ननगरको शान्तिचोकमा समेत केही क्षेत्र डुबान भएको छ । क्षतिको पूर्ण विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

यस्तै, चितवनको विकट काउलेमा पहिरो गएको खबर आए पनि क्षति के भएको हो भन्नेबारेमा जानकारी आइनसकेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए ।

चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले पहिरोमा एकजना मानिस पनि परेको भन्ने जानकारीमा आए पनि पुष्टि भने नभएको बताए । सो क्षेत्रमा प्रहरी टोली खटाइएको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment