Comments Add Comment

जाजरकोटमा के थियो महामारी ? सरकार भन्छ-स्वाइनफ्लु त २० प्रतिशत मात्र थियो

१५ साउन, काठमाडौं । सरकारले चार महिनाअघि जाजरकोटमा फैलिएको महामारीमा इन्फ्लुएन्जा ए एच१एन१ को अंश २० प्रतिशत मात्रै रहेको दाबी गरेको छ । उसले ८० प्रतिशत मृत्युको कारण अन्य रोग भएको जनाएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

जिल्लाका पैक, साक्ला, नायकबाडा, टालेगाउँ, रामीडाँडा, रोकायागाउँ, लाह, कोरटाङ र माजकोट गाविसमा गत १२ चैतदेखि १२ वैशाखसम्म सयौँ बिरामी भएका थिए भने ३५ जनाको ज्यान गएको थियो । मृतक तथा कतिपय बिरामीमा इन्फ्लुएन्जा ए एच१एन१को लक्षण देखिएपछि सबैको मृत्यु स्वाइनफ्लुबाट भएको भनिएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन–प्रतिवेदनले जाजरकोटमा स्वाइनफ्लु मुख्य समस्या नभएको देखाएको नयाँ पत्रिकामा खबर छ ।

परिषद्ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा मृतक ३५ जनामध्ये स्वाइनफ्लु भनिने इन्फ्लुएन्जा ए एच१ एन१ बाट एकजनाको मात्र मृत्यु भएको उल्लेख छ । मृत्यु भएका ६ जना दम र खोकीका बिरामी भए पनि पछि इन्फ्लुएन्जा थपिएको प्रतिवेदनमा जनाइएको छ । इन्फ्लुएन्जाका १६ जना बिरामी भने उपचारपछि पूर्ण रूपमा स्वस्थ भएका थिए ।

परिषद्को अध्ययन–प्रतिवेदनले सबैभन्दा बढी १० जनाको दमखोकीबाटै मृत्यु भएको ठहर गरेको छ । स्वाइनफ्लुबाटै मृत्यु भएको भनिएकाको सूचीमा टिबीको औषधि खान छाडेका, रेबिज रोगले पुसमै ज्यान गुमाएका, खोलामा डुबेर मृत्यु भएकाको नाम उल्लेख गरेको पाइएको परिषद्ले दाबी गरेको छ । परिषद्को टोलीले भर्बल अटप्सी विधिबाट मृतकको रोग पत्ता लगाइएको जनाएको छ ।

सरकारले सार्वजनिक गरेको मृतकको विवरण

Jajarkot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment