Comments Add Comment

बच्चाको रगतमा सिसैसिसा ?

१५ साउन, काठमाडौं । तपाईंका बालबालिका पेट दुखेको गुनासो गरिरहन्छन्? रिसाउने र एकान्त मन पराउनेजस्ता असामान्य आनीबानी देखाइरहन्छन्? उनीहरूको उमेरअनुसार शारीरिक र मानसिक विकास भएको छैन ?

babyयस्ता लक्षण बालबालिकामा देखिए स्वास्थ्यकर्मीको परामर्श तुरुन्त लिनुपर्छ। उनीहरूको रगतमा हानिकारक लिडको मात्रा बढी हुन सक्छ।

बिहीबार सार्वजनिक स्वास्थ्य अनुसन्धान प्रतिवेदनअनुसार लिडले बच्चाको शारीरिक तथा मानसिक विकासमा असर पुर्यारउँछ। लिडको मात्रा बढी भए बच्चामा पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत तथा रक्तअल्पता हुने लक्षण देखा पर्छन्। र, मिर्गौला नै फेल हुने सम्भावना पनि हुन्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले तयार गरेको प्रतिवेदनअनुसार उपत्यकाका तीन जिल्लाका बालबालिकामा रगतमा लिडको मात्रा अत्यधिक भेटिएको छ। परिषदले लिडजन्य सामग्री र खेलौनाका कारण बालबालिकामा असर बढ्दै गएको परिकल्पनामा अनुसन्धान गरेको थियो।

घर रङरोगन गर्ने पेन्ट्स, खेलौना, लिपस्टिकमा बढी मात्रामा लिड पाइने गरेको छ। यस्ता लिड हावा तथा धुलोको कणबाट श्वासप्रश्वास, खाना तथा अन्य माध्यममार्फत शरीरभित्र पुगेपछि रगत संक्रमित हुन्छ र असर देखा पर्छ।

परिषदका प्रमुख अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार नेपालका औसत बालबालिकामा लिडको मात्रा न्यूनतम सीमाभन्दा धेरै बढी र तत्काल अस्पताल भर्ना गरिहाल्नुपर्ने तहभन्दा केही मात्रै कम छ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) का अनुसार रगतमा लिडको मात्रा ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी हुनु हुन्न। ४५ भन्दा बढी भए अस्पताल भर्ना गर्नुपर्छ। सयभन्दा बढी भए तत्काल मृत्यु हुन्छ।

धिमालका अनुसार अध्ययन गरिएका बालबालिकामध्ये ९.३ प्रतिशतको रगतमा मात्रै लिड शून्य थियो। २६ प्रतिशतमा ०.१ देखि ५ मिलिग्राम डेसिलिटर र अन्यमा झन्डै अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था नजिक थियो।

लिडको सम्पर्कमा आउँदा वयस्कभन्दा बालबालिकामा असर बढी हुने भएकाले अध्ययन बालबालिकाकेन्द्रित गरिएको धिमालको भनाइ छ। ‘बडीमासका कारण वयस्कमा २० प्रतिशत असर हुँदा बालबालिकामा ७० प्रतिशतसम्म हुन्छ,’ उनले भने।

धिमालका अनुसार पाटन, त्रिवि शिक्षण र सिद्धि स्मृति अस्पताल भक्तपुरमा उपचारका लागि आएका ३ सय १२ बालबालिकाको रगतको नमुना अध्ययन गरिएको थियो। ती बालबालिका बिरामीभन्दा पनि खोप लगाउन र अन्य शारीरिक वृद्धि परीक्षणका लागि आएका थिए। ‘सहरीकरणसँगै रङको प्रयोग बढ्दा लिडको असर पनि बालबालिकामा बढिरहेको छ,’ धिमालले भने, ‘धुलोमा बढी खेल्ने बालबालिकामा पनि लिड धेरै पाइएको छ।’

धिमालका अनुसार लिडले स्नायु प्रणाली, मस्तिष्क, मिर्गौला र आइक्यू विकास, हाडजोर्नी र मासु वृद्धिमा सबैभन्दा बढी असर पार्छ। त्यसैगरी बच्चामा तौल घट्दै जाने, कब्जियत र कमजोर हुने समस्या त्यत्तिकै देखिने गरेको नागरिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment