Comments Add Comment

तीन संस्थाको प्रतिवद्धता : निजी क्षेत्रलाई बलियो बनाउन एकजुट हुन्छौं

FNCCI,-CNI-and-Chembar-Phot
१५ साउन, काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले एकजुट भएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । निजी क्षेत्रको विकासका लागि सबै संस्थाहरुको एउटै आवाज हुनुपर्नेमा उनीहरुको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ र नेपाल चेम्वर अफ कमर्सले यस्तो प्रतिवद्धता जनाएका हुन् । चेम्बरले महासंघ र परिसंघका पदाधिकारीलाई स्वागत गर्न बिहीबार आयोजना गरेको कार्यक्रममा तीनवटै संस्थाका प्रमुखले निजी क्षेत्र एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

तीनवटै संस्थाले मुलुकको आर्थिक एवं निजी क्षेत्रको विकासका लागि न्युनतम आर्थिक एजेण्डा तय गरेर कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले नीजि क्षेत्रको आवाज एउटै नहुँदासम्म आफुहरुको माग पुरा नहुने ठोकुवा गरे । ‘मिलेर अगाडि बढ्दा कोही पनि कमजोर वा बलियो हुँदैन’ उनले भने- ‘निजी क्षेत्रलाई बलियो र सवल बनाउन हामी सबै एक भएर लाग्नुपर्छ ।’

अध्यक्ष मुरारकाले बजेट, मौदि्रक नीति, संविधानको मस्यौदा जस्ता देशको जल्दाबल्दा विषयमा तिनवटै संस्थाको एउटै आवाज प्रतिविम्वित भएको बताउँदै संविधानमा खुला बजार अर्थतन्त्रको प्रत्याभूतिका लागि संयुक्त प्रयासको आवश्यकता रहेको बताए ।

परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यातले निजी क्षेत्र र आर्थिक विकासमा सबै संस्थाहरुको साझा धारणा आवश्यक रहेको बताए । ‘संस्थाहरु बिचको इगोका कारण मुद्धा एउटै भएपनि एकजुट हुन सकेनौं’ उनले भने- ‘अब सबै संस्थाहरु नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ ।’

छिमेकी मुलुकमा रहेका ठूला संस्थाहरु इगो लिएर नहिँड्ने गरेको उल्लेख गर्दै अध्यक्ष बस्न्यातले भने- हामी पनि इगो त्यागोर निजी क्षेत्रको हितमा आवाज बुलन्द बनाउनुपर्छ । निजी क्षेत्रको सहकार्यको सुरुवात भएको बताउँदै उनले यसलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिए ।

चेम्वरका राजेश काजी श्रेष्ठले मुलुकको आथिक र निजी क्षेत्रको विकासमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु वीचको एकता अपरिहार्य रहेको बताए । उनले निजी क्षेत्रका समस्या समाधान गर्न र बजेट, मौदि्रक नीति, संविधानको मस्यौदा तथा भूकम्प पश्चातको पुर्ननिर्माण कार्यमा निजी क्षेत्रको एउटै धारणा आवश्यक रहेकोमा जोड दिएका थिए । निजी क्षेत्रको एउटै आवाज भएमा सरकारसँगको सहकार्य पनि थप प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

महासंघका निर्वतमान अध्यक्ष सुरज वैद्यले मुलुकको आर्थिक तथा निजी क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रका नेतृत्व वर्ग सफल रहने विश्वास व्यक्त गर्दै राजनैतिक दलहरुलाई मान्य हुने गरी न्युनतम आर्थिक एजेण्डा तय गर्न अनुरोध गरे ।

महासंघकी प्रथम उपाध्यक्ष भवानी राणाले बजेट कार्यान्वय तथा भुकम्प पश्चात मुलुकको पुर्ननिर्माणमा निजी क्षेत्रवीच सहकार्य हुनु पर्नेमा जोड दिए ।

कार्याक्रममा नेपाल चेम्वर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका पदाधिकारी, प्रतिष्ठित उद्यमी व्यवसायीहरु एवं उच्च पदस्थ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment