Comments Add Comment

देखाउँछु भन्दै ओली जंगिएपछि सुशील हच्किए

susil-kp oli

मात्रिका पौडेल

१५ साउन, काठमाडौं । सत्तारुढ दुई ठूला दल कांग्रेस र एमालेबीच शासन सञ्चालनमा कुरा नमिलेपछि एकले अर्कोलाई देखाइदिने तहमा विवाद चुलिएको छ ।

बालुवाटार स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई ‘देखाइदिने’ धम्की दिएपछि कोइराला कांग्रेस नेताहरुसँग छलफलमा जुटेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस एमालेको बैठकमा ओलीले प्रधानमन्त्रीलाई एकलौटी सत्ता चलाएर देखाउन चुनौति नै दिएका थिए ।

किन भयो विवाद ?

विवादको जड भने मुख्य सचिव र पुननिर्माण प्राधिकरणको कार्यकारी अधिकृत नियुक्तिको सन्दर्भ थियो । कांग्रेसले दुवै पदमा प्रधानमन्त्रीले रुचाएका व्यक्तिलाई नियुक्ति गर्न खोजेपछि ओली जंगिएको वार्तामा सहभागी एक एमाले नेताले बताए ।

‘कोइरालाले यो दुनियाँमा कांग्रेस बाहेक अरु कोही पनि छैनन् भन्ने ढंगले पेल्न खोजेपछि हामीले सहने कुरा भएन’ ती नेताले भने ‘हाम्रो अध्यक्षले पनि तिमीले सकेको तिमी गर, हामी पनि देखाउछौं,लौ एकलौटी गरेर देखाऊ भनेपछि कांग्रेस हच्किएको छ ।’

कोइरालाले मुख्य सचिवमा विश्वप्रकाश पण्डित र प्राधिकरणको कार्यकारी निर्देशकमा डा.गोविन्दराज पोखरेललाई नियुक्ति गर्ने प्रस्ताव ल्याएको एमाले नेताले बताए । तर, ओली जंगिएपछि कोइराला हच्किएका छन् ।

एमाले उपमहासचिव विष्णु पौडेलले भने सत्ता सञ्चालनमा गठबन्धनका प्रमुख घटकबीच छलफल हुनुपर्ने भएकाले अहिले नै टुंगो नलागेको प्रतिक्रिया दिए ।

स्रोतका अनुसार एमालेले प्राधिकरणको कार्यकारी प्रमुख र मुख्य सचिव मध्ये एकजना एमालेको सिफारिसका व्यक्ति हुनुपर्ने अडान राखेको छ । तर, कांग्रेस दुबै प्रधानमन्त्रीको रोजाइका व्यक्ति हुनुपर्ने अडानमा छ ।

ओलीले यदि कांग्रेसले एकलौटि गर्न खोजे जे पनि हुन सक्ने धम्की दिएपछि कोइरालाले फेरि छलफल गरौं भनेको बालुवाटार स्रोतले जनाएको छ । दुबै पदमा नाम टुंग्याउने गरी फेरि छलफल हुने भएको छ ।

एमालेले कांग्रेसले मुख्य सचिव वा प्राधिकरणको सीइओ रोजेपछि आफूले बाँकी रहेको पदमा नाम दिने बताएको छ । मुख्य सचिवमा एमालेका उम्मेदवार जयमुकुन्द खनाल छन् भने प्राधिकरणमा माधव घिमिरे, लीलामणि पौडेलमध्ये एक हुन सक्छन् ।

पौडेलको अन्तिम दिन

Lilamani-Paudelयसैबीच मुख्य सचिव लीलामणि पौडेल शुक्रवार अन्तिम दिन कार्यालयमा हाजिर भएका छन् । साउन २३ देखि अवकाश हुन लागेका पौडेल आइतवारदेखि विदा बस्ने भएका छन् ।

सरकारलाई अर्को मुख्य सचिव नियुक्तिको बाटो खुलाउन पौडेल एक साता अघि नै बिदा बस्न लागेको स्रोतले जनाएको छ ।

भोलि शनिवार परेकाले पौडेलको जागिरे जीवन शुक्रबार अन्तिम दिन हुनेछ । मुख्य सचिवको तीन वर्षे कार्यकाल पूरा हुनु एक साताअघि बिदा बस्न लागेका पौडेल निजामति प्रशासनमा हक्की र पारदर्शी प्रशासक मानिन्छन् ।

उनले आफ्नो तीन वर्षे कार्यकालमा बागमति सफाइ अभियान लाखौं मानिसलाई सहभागी गराएर चर्चित बने । लीलामणिको अवकाशसँगै अबको एक सातापछिको मुख्य सचिव को भन्ने टुंगो लागिसकेको छैन । मुख्य सचिव प्रधानमन्त्रीले चाहेका व्यक्ति हुने भनिए पनि एमालेले कोइरालालाई पेलिरहेको छ ।

दाबेदारको दौडधूप

मुख्य सचिवको प्रतिस्पर्धामा रहेका सोमलाल सुबेदी र जयमुकुन्द खनालले सत्तारुढ दलका प्रभावशाली नेताहरुको घरदैलो अभियान नै चलाएका छन् ।

बरियतामा एक नम्बरमा रहेका गरीवी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले भने राजनीतिक लबिङमा खासै प्रयास गरेका छैनन् ।स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीलाई मुख्य सचिव बनाउन मन्त्री प्रकाशमानसिंह सहित प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य र जनसम्पर्क सल्लाहकार मृदुला कोइरालाले साथ दिएका छन् ।

उद्योग सचिव जयमुकुन्द खनालको पक्षमा एमाले देखिएको छ । उनलाई उद्योगमन्त्री महेश बस्नेतले एमालेका शीर्ष नेताहरुसँग नजिक्याएको स्रोतले जनाएको छ ।

राजनीतिकरुपमा सुवेदी कांग्रेस नभए पनि कांग्रेसले उनलाई साथ दिएको छ । त्यस्तै खनाल एमाले नभए पनि उनको पक्षमा एमाले नेताहरु देखिएका छन् । सुवेदी एमाले पृष्ठभूमिका हुन् भने खनालको पारिवारिक पृष्ठभूमि कांग्रेस हो ।

पण्डितले पल्टाउँदै

कांग्रेसकै एउटा खेमाले दोस्रो ब्याचका शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई मुख्य सचिवको दावेदारका रुपमा उभ्याउन खोजेको छ । तर, पण्डित भन्दा बरिष्ठ तीन जना सचिव हुँदा हुँदै कुनै हालतमा जुनियरलाई नमान्ने चेतावनी ओलीले विहीबार साँझै दिइसकेका छन् ।

प्रधानमन्त्री कोइराला सहित कांग्रेसको एउटा समूह पण्डितलाई मुख्य सचिव बनाउने पक्षमा छ । मुख्य सचिवमा बरिष्ठतालाई मात्र आधार मान्नु नपर्ने तर्क कोइराला पक्षको छ ।

पौडेलको समर्थन खनाललाई

अवकाश हुन लागेका मुख्य सचिव पौडेलको सहानुभूति जयमुकुन्द खनालतिर छ । गृह प्रशासनको लामो अनुभव भएका र विवादमा कहिल्यै नपरेका कारण पौडेलले खनालतिर झुकाब देखाएका हुन् ।

यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम मुख्यसचिव नियुक्तिबारे अहिलेसम्म छलफल नभएको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment