Comments Add Comment

रोजगारीका लागि मलेसिया पुगेका तीनयुवा रित्तोहात फर्के

१५ साउन, कञ्चनपुर । रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन् ।

ठगिनेमा नगरपालिकाको वडा नं २ का २३ वर्षीय सुरेश चौधरी, वडा नं ४ का २१ वर्षीय अनिल राना र २२ वर्षीय अमर राना रहेका छन् ।

स्थानीय एजेन्ट मानबहादुर तामाङको सहयोगमा काठमाडौँस्थित स्मार्ट ओभरसिज प्रालि नामक मेनपावर कम्पनीलाई रु एक लाख ५० हजार रकम बुझाएर मलेसिया पुगेका युवालाई रोजगारदाता कम्पनीले भनेअनुसारको तलब र काम नदिएपछि उनीहरु रित्तो हात घर फर्केका हुन् ।

बैदेशिक रोजगार कम्पनीले मासिक एक हजार २०० मलेसियाली मुद्रा उपलब्ध गराउने सम्झौता अनुरुप युवा रोजगारीका लागि गएका थिए ।

सम्झौताअनुसार फुल प्याकिङ गर्ने काम उल्लेख गरिएको थियो, पीडित युवा सुरेश चौधरीले भने -मलेसिया पुगेपछि राहदानी खोसेर कम्पनीले निर्माण सामग्री ओसार्ने र तरकारीखेतीमा लगायो, आठघन्टा काम गर्ने भनिएकोमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म १२ घन्टा भन्दा बढी काममा लगाइन थालेपछि घर फिर्ता भएका छौँ ।

“कम्पनीले भनेअनुसारको तलबसमेत नदिने भएपछि फोनमार्फत अभिभावकलाई यसबारे जानकारी गराई राजनीतिक दलहरुको सहयोगमा घर फिर्ता हुन सकेका छौँ”, पीडित अनिल रानाले भने । मलेसिया पठाउने मेनपावर कम्पनीमाथि कारबाही र मेनपावर कम्पनीले असुलेको पैसा फिर्ता हुनुपर्ने माग युवाले गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment