Comments Add Comment

ग्यास उद्योग सञ्चालन र वितरणसम्बन्धी स्पष्ट कानुन नहुँदा समस्या

१५ साउन, काठमाडौँ । ग्यास उद्योग सञ्चालन तथा व्यवस्थापन र ग्यास वितरणसम्बन्धी स्पष्ट ऐननियमको अभावका कारण उपभोक्तामा समस्या पर्ने गरेको संविधानसभा÷व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निष्कर्ष निकालेको छ ।

समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको ग्यास आपूर्ति एवम् व्यवस्थापन विषयमा छलफल गर्दै सभासद्ले ग्यास उद्योग तथा वितरणलाई कानुनले सम्बोधन गर्न नसकेको बताएका हुन् ।

सभापति आङ्देम्बेले उपभोक्तासँग सम्बन्धित प्रस्ट ऐन तथा नियम नहुँदा आम उपभोक्ता समस्यामा परेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए । उनले उपसमितिले दिएका सुझाव तथा निष्कर्षका आधारमा सम्बन्धित निकायसँग छलफल गर्ने उल्लेख गरे ।

ग्यास आपूर्ति तथा व्यवस्थापनसम्बन्धी उपसमितिका संयोजक नारायणबहादुर कार्कीले भन्नुभयो – “ग्यासम्बन्धी कुनै पनि कानुन नभएको र त्यसको मार उपभोक्तामाथि पर्ने गरेको छ ।” उहाँले ग्यासको आपूर्ति तथा व्यवस्थापनका लागि कानुन आवश्यक भएको बताउनुभयो ।

आपूर्ति तथा उपभोक्ता सम्बन्ध उपसमितिका संयोजक कार्कीले उपभोक्ता हितसम्बन्धित ऐन, नियमावली समयसापेक्ष बनाइनुपर्नेमा र बजार अनुगमनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले छुट्टै अनुगमनकारी निकाय गठन नहुन्जेलसम्म वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई सबल बनाउनुपर्ने बताउनुभयो ।

सभासद् श्यामकुमार श्रेष्ठले आवश्यक कानुनी संरचना तयार गरी ग्यास उद्योगलाई नियमन गर्नुपर्ने बताउनुभयो । त्यस्तै सभासद् चन्द्र महर्जनले वातावरणमैत्री उद्योगको सञ्चालन तथा व्यवस्थापनका आवश्यक नीति तयार गर्न पहल गर्नुपर्ने बताए ।

बैठकमा सहभागी सभासद्ले ग्यास उद्योग तथा वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, ग्यासको मूल्यलाई स्वचालित गराइनुपर्ने र आयल निगमको व्यवस्थापनको पुनःसंरचना गरिनुपर्नेलगायतका सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment