Comments Add Comment

मोदीको मूड बुझेका देउवाले लिपुलेक लुकाए

१५ साउन, काठमाडौं । भारतीय कुटनीतिज्ञ र व्युरोक्रेसीसँगको छलफलपछि दिल्लीको मूड बुझिसकेका पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले नरेन्द्र मोदीसँगको विशेष भेटमा लिपुलेकको विवादित मुद्दा प्रवेशनै गराएनन् ।

शेरबहादुर देउवा । फाइल तस्वीर
शेरबहादुर देउवा । फाइल तस्वीर

शुक्रवार अपरान्ह नयाँ दिल्लीको हैदरवाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटवार्तामा देउवाले लिपुलेकको साटो महाकाली सन्धी कार्यान्वयनको विषय उठाएको भारतीय राजदूत जयन्तप्रसादलाई उधृत गर्दै दिल्लीबाट पत्रकार ऋषि धमलाले जनाएका छन् ।

देउवाले आफू प्रधानमन्त्री हुँदा भाजपा नेता अटल बिहारी बाजपेयी नेतृत्वको भारतीय सरकारसँग गरेको एकीकृत महाकाली सन्धी कार्यान्वयनमा भारतीय सहयोगको अपेक्षा गरेका थिए ।

देउवाले लिपुलेकको विषयमा मोदी समक्ष उठाउदै नउठाएको भेटमा सहभागी स्रोतले जनाएको छ । यसअघि भारत भ्रमणमा गएका पूर्व प्रधानमन्त्री प्रचण्डले लिपुलेकको कुरा उठाउदा मोदीले कुनै जवाफ दिएका थिएनन् ।

देउवासँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा संविधान चाँडो आउनुपर्ने भन्दै सबै पक्षले अपनत्व गर्ने धेरैको सहभागिताको संविधान ल्याउन सुझाव दिए ।

संविधान जारी भएपछि त्यसको कार्यान्वयनमा बाधा नआउने गरी सबै पक्षलाई समेट्न मोदीले देउवालाई सुझाव दिएको देउवासँगै रहेकी पत्नी आरजु देउवाले बताइन् ।

यसअघि देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, भाजपा उपाध्यक्ष भगतसिंह कोसियारी लगायतसँग वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment