Comments Add Comment

औषधिको खुद्रा मूल्य तोकियो, नयाँ मूल्य लागू गर्न ढिलाइ

१६ साउन, काठमाडौं । मन्त्रिपरिषद्ले औषधिको खुद्रा मूल्य तोकेको छ । तर, तीन साता पुगिसक्दा पनि औषधिको मूल्य लागू हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को २१ असारको बैठकले औषधिको खुद्रा मूल्य तोक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित गर्न ढिलाइले निर्णय कार्यान्वयन ढिलाइ भएको हो ।
medicine
मन्त्रिपरिषद्ले ९६ वटा औषधिको मूल्य तोक्ने निर्णय गरेको थियो । एउटै औषधिको मूल्य कम्पनीअनुसार फरक–फरक पर्ने समस्या समाधान गर्न भन्दै स्वास्थ्यमन्त्री नेतृत्वको औषधि परामर्श परिषद्ले औषधिको मूल्यसूची तयार गरेको नयाँ पत्रिकामा खबर छ ।

मूल्य तोकिएका औषधिमा साधारण रुघाखोकीदेखि मुटु तथा क्यान्सर रोगमा प्रयोग हुने महँगासमेत छन् । नयाँ मूल्यसूची हालको बजारमूल्यभन्दा २० देखि ५० प्रतिशतसम्म कम रहेको मन्त्रालयले जनाएको छ ।

औषधि व्यवस्था विभागका अनुसार पहिलो चरणमा मूल्य तोकिएका औषधिमा क्यान्सर रोगमा प्रयोग हुने ४८, ब्लडप्रेसरका ११, सुगर रोगका सातवटा छन् । त्यस्तै, मानसिक समस्याका आठ, एन्टिबायोटिक १०, कोलेस्टेरोल तीन, ग्याष्ट्रिक तीन र गर्भपतन, आउँ, दुखाइ कम गर्ने, रुघाका एक–एकवटा औषधिको मूल्य तोकिएको छ ।

विभागका महानिर्देशक बालकृष्ण खकुरेलले नयाँ मूल्य लागू भएपछि जनताले २० देखि ५० प्रतिशतसम्म सहुलियत पाउने बताए । नयाँ मूल्यसूची तोकिएको मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने उनको भनाइ छ ।

‘हामीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि २२ असारमै गजेटमा प्रकाशित गर्न मन्त्रालय पठाएका हौँ,’ खकुरेलले भने, ‘मन्त्रालयले पनि मुद्रणका लागि पठाएको भनेको छ । अब केही दिनमा आउला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment