Comments Add Comment

परदेशिएका नेपाली युवाले के पाए, के गुमाए ?

यूएर्इ । घरदेश छाडी परदेश जानु रहर होइन बाध्यता हो लाखौं प्रवासी नेपालीहरुको । बाध्यतावश परदेसिएका सबैका केही सपना हुन्छन् । केहीका सपना पूरा होलान् तर धेरैका सपना अधुरै रहेका छन् परदेशमा । बेरोजगारी, अभाव र चुनौतीलाई चिर्दै आफ्नो सपना साकार पार्न यूएई आएका केही युवाहरुले के पाए अनि के गुमाए ?

अधिकांश नेपाली धेरै पैसा कमाउने सपना साँचेर आए पनि सोँचेजस्तो नभएको बताउँछन् भने कहीले दुई चारपैसा कमाउन सकेकोमा सन्तुष्ट छन् । तर पनि मुलुकमै रोजगारीको सिर्जना गर्न नसकिएकैले विदेशी भूमीमा पसिना बगाउनुको पीडालाई कसैले निको मान्दैनन् ।

जीवनका उर्वर समयहरु विदेशी माटोमा विताउनु परेकोमा आत्मग्लानी छ नेपालीहरुलाई । केहीले भने रोजगारीका लागि लागि दुबई आएर आफैले ब्यवसाय गरेर पनि बसेका देखिन्छन् । रोजगारीमा शिलशिलामा यूएई आइपुगेका नेपालीहरुको जीवन भोगाई अचम्म लाग्दो छ ।

नेपाल पुलिसको सईबाट अबुधाबी पुलिसमा

सूर्य गिरी, खाेटाङ
surya giriम नेपालमा प्रहरी सेवामा थिएँ । २०५५ सालमा म असईमा भर्ना भएर २०६३ सालमा सईमा प्रमोसन भएको थिएँ । तर नेपालको अस्थिरता, अन्योलता र महंगीले सामान्य कमाइ गरी खाने कर्मचारीलाई जीवन धान्न गाह्रो थियो, अझै पनि उस्तै समस्या छ ।

विदेशमा केही वर्ष दुःख गर्दा कमाइ हुन्छ भने किन नजाऊ भनी यतातिर पैसा कमाउने उद्देेश्य बोकेर आएको हुँ । मेराे सपना ठूलो थिएन । म सामाजिक काममा रुचि राख्ने मान्छे । म २००६ मा अबुधाबी पुलिसमा काम गर्न आएको थिए । फुर्सदको समयमा विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गर्दै आएको थिएँ ।

सामाजिक क्षेत्रमा काम गर्दागर्दै एउटा राम्रो सर्कलमा विश्वास कमाइयो । मन मिल्ने पार्टनरहरुबीच व्यापार गर्ने विषयमा छलफल चल्यो । बालकृष्ण खड्का जस्तो युएईको नेपाली समाजमा सर्वत्र रुचाइएको मान्छेसँग सहकार्य गर्ने अवसर पाइयो । उहाँकै संगत, योजना र प्रेरणाले गर्दा यही आएर व्यापार गर्ने सपना पलाएको हो ।

बजारमा धेरै ट्राभलहरु छन् । तर हाम्रो ट्राभल भनेको नेपालीहरुको लगानीमा सञ्चालित युएईकै पहिलो ट्राभल अल हानाको बिस्तारित रुप हो । हामी टिकट मात्र काट्दैनौं, हाम्रा ग्राहकहरुलाई सही सूचना दिएर सेवा गर्छौ । ग्राहकलाई हामी सही सूचना दिएर र अन्य ट्राभलभन्दा सस्तो र सहज सेवा दिएर आकषिर्त गरिरहेका छौं । हामी हाम्रो सेवा अझ प्रभावकारी बनाउनका लागि विभिन्न निकाय, संघसंस्था, समुदायसँग हातेमालो गरी अगाडि बढिरहेका छौं ।

हाम्रो ग्रुपले टाभल र फास्टफुडको क्षेत्रमा हात हालेको छ । स्वाभाविक रुपले यसका शाखाहरु नेपालीहरुको जनघनत्व बढी भएको स्थानमा स्थापना गर्ने योजना छ । यूएईका सातै वटा स्टेटमा शाखा खोल्दा सबै नेपालीहरुसमक्ष पुग्न सकिन्छ । त्यस विषयमा हामी स्टडी गरिरहेका छौं । कतारमा पनि सर्भे गरिसकिएको अवस्था छ । केही कुरामा सहमति हुनेबित्तिकै हामी कतारसम्म पुग्नेछौं । मेरा केही सपनाहरु पूरा भएपनि केही पूरा हुने क्रममा छन् ।

जीवनका उर्वर समयहरु परदेशमा बिते

पोष्टबहादुर बानियाँ, ताप्लेजुङ
post bahadur baniyaम नेपालमा रहँदा सामान्य किसानको छोरा थिएँ । मेरो पढाइ राम्रो थियो । कक्षा १० सम्म प्रथम हुँदै गएको थिएँ । आर्थिक कारणले अगाडिको पढाइ सोचेजस्तो भएन । मेरो जस्तो समस्या मेरो छोराले भोग्नु नपरोस् भनी म २०१० मा यूएई आएको हुँ । छोराको उज्वल भविष्यका लागि पहाडबाट झापा झरिएको छ तर पानी पनि किनेर खानुपर्ने अवस्था छ । महंगीले गर्दा देश कहाँबाट कहाँ पुगिसक्यो ।

हामीले पठाएको रेमिटयान्स त बालुवामा पानी हाले जस्तो भएको छ । आज पाँच वर्षपछि म सम्झदैछु कि मैले मेरा जीवनका उर्वर समयहरु परदेशमा बिताएर आर्थिक रुपमा केही सबल भए पनि महत्वपूर्ण समय त्यसै बितेको जस्तो लागिरहेछ । पैसा कमाउँदैमा केही आवश्यकता पूरा भए पनि अमूय समय त्यसै बितेछ ।

हामी युवाहरु नयाँ विचार र नयाँ सोचका साथ हातेमालो गरी समाज र राष्ट्रलाई अघि बढाउन र देशलाई शान्ति, विकास र निकास दिनका लागि एकताबद्ध हुनुपर्ने मैले आवश्यकताबोध गरेको छु । बन्द, हड्ताल र आन्दोलनले मुलुकलाई निकास र विकास नदिने कुरालाई महसुस गर्दै त्यस्ता कुराहरुलाई पूर्ण रुपमा बहिष्कार गरी नयाँ शक्ति निर्माण गर्ने महान् अभियानमा लाग्न म सबै नेपाली युवाहरुलाई आग्रह गर्दछु ।

देशभित्र र बाहिर रहेका लाखौं युवा मित्रहरु, हामीले ठूलादेखि साना सबै राजनीतिक दलहरुको झन्डा त बोक्यौं तर खोइ त निकास अनि खोइ त विकास ? अब हामीले नै अघि बढ्नुपर्छ । त्यसैले देशमा नयाँ शक्तिको आवश्यकता झनझन् बढिरहेको छ । हामीले परदेशबाटै नेपालको शान्ति, विकास र निकासका लागि नयाँ शक्ति निर्माणका लागि एकजुट हुनुपर्छ । मैले यहा आएर मात्र देशको मायालाई नजिकबाट अनुभव गर्न सकें । म देश फर्किएर नयाँ शक्ति निर्माणमा केन्दि्रत हुनेछु । मेरो सपना अब देशको चौतर्फी विकास र निकास भएको छ ।

यूएई आएर विश्व देखेँ

मोहन राई ‘परदेशी’, पाख्रिबास, धनकुटा
mohan raiविगत एक वर्षदेखि अल सेक्योर मिडिल इस्ट सेक्युरिटी कम्पनीमा काम गरिरहेको छु । त्योभन्दा पहिला म भारतीय गोर्खा सेनामा जागिरे थिएँ । भारतमा सैन्य जीवनको काम र शैली अनि यहाको काम र जीवनशैलीमा धेरै भिन्नता पाएको छु । यहाँको कानुनअनुसार एक घन्टा रेस्ट कटाएर ९ घन्टा अनिवार्य काम र तीन घन्टा अनिवार्य ओटी गरेर दैनिक १२ घन्टा काम गरिरहेको छु । बाँकी १२ घन्टामा आफ्नो समय हो ।

कामअनुसारको दाम भएका कारण यहाँ राम्रो छ । यहाँ जनधनको सुरक्षा छ । घरदेशभन्दा टाढा परदेशमा बस्दा एक प्रकारको न्यास्रो र अव्यक्त पीडा त मनभरि हुन्छ तर आर्थिक रुपमा केही लाभ भएको कल्पनाले गर्दा केही राहत मिलेको छ ।

आफ्नो गाउँघर, परिवार, पाखापखेरी, साथीसंगी र समग्रमा भन्दा आफ्नो जन्मभूमिको माया छातीभित्र लुकाई बाँच्नु हामी बिदेसिएकाहरुको बाध्यता हो भनी चित्त बुझाइ बसेको छु । यहाँ आएर मैले विश्व देखें ।

विश्वका २२५ देशका मानिसहरुले काम गरेको देशमा मेरा पनि केही सपनाहरु छन् जो पूरा हुन बाँकी छन् । हामी सानो देशका साना मान्छेहरुका सपना पनि सानै छन् तर ती साना सपनाहरु पनि कहिले पूरा हुने हो कुन्नी ?

पैसा नकमाए पनि साथीभाइ कमाएँ

रुद्र कार्की प्रज्ज्वल, धनकुटा
rudra karkiप्रवाससँग धेरै साइनो गाँस्दागाँस्दै यहासम्म आइपुगियो । यो समयको खेल हो भनौं या आफ्नै बाध्यता । वि.सं. २०६२/६३ को दोस्रो जनआन्दोलनताका एउटा प्राइभेट स्कुलको जागिर छाडेर पैसा फल्ने बुट्यान हेर्न र त्यो बुट्यानबाट पैसा झोलामा हाल्न पाइने आशामा मलेसिया प्रस्थान गरियो ।

विदेशमा पैसाको बोट त हुँदो रहेछ तर त्यहाँसम्म पुग्न निकै कठिन । त्यहाँको साहित्यिक माहोलमा रुमल्लिँदा एउटा इतिहास त कोरियो तर पैसा कमाउने सपना अधुरै रहृयो । साहित्यिक माहोलले जीवनको गोरेटो नै मोडियो । सपनाहरु पनि फेरिए । जीवन नै अन्तै मोडियो । आर्थिक पाटो भने अधुरै रहृयो । त्यसपछि कर्मले मातृभूमि नै फर्कायो । मातृभूमिमा पनि प्रवासको मोहले बसिरहन दिएन । त्यसैको सिलसिलामा आजभन्दा पाँच वर्षअघि यूएईतिर लागियो ।

प्रवासका अनगिन्ती आरोह अवरोह पार गर्दा यहाँसम्मको यात्रामा खासै नमिठो अनुभव त लिनुपरेको छैन तर जीवन सोचेजस्तो भएको छैन । सपनाहरु पूरा भएका छैनन् । चाहनाहरु बढिरहेका छन् । यो समयको खेल भनौ या प्रवासको नमिठो वास्तवविकता । तर म आशावादी छु, सबै नभए पनि के्ही सपना पूरा होलान् भविष्यमा । त्यही आशाको त्यान्द्रोमा बाँचिरहेको अवस्था हो यूएईमा । तर परदेशी जीवनका कारण पैसा नकमाए पनि साथीभाइचाहिँ धेरै कमाइयो । त्यसैमा चित्त बुझाएको छु ।

यूएईबासी नेपालीहरुको कोठाकोठामा रासन पुर्याउने लक्ष्य

–रामभुवन चौधरी, सप्तरी
ram bhuwan chaudhariम सन् २००४ तिर एक हजार दिराम्स मासिक सेलरीमा काम गर्न बीएमडब्लू कम्पनीमा आएको थिएँ । सेक्युरिटी गार्डको रुपमा काम गर्नुपर्ने जिम्मेवारी थियो । तर, मैले आन्तरिक प्रतिस्पर्धामा भिडेर एचआरमा नाम निकालें । त्यसपछि कम्पनीमा अगाडि बढ्दै गएँ । धनी बाउको छोरा भए पनि बिहे गरेपछि बाबुको कमाइमा आश्रति हुनुहुन्न भनेर नै म आत्मनिर्भर हुने सोँचाइले ठूलो सपना बोकेर आएँ । सोही सपना साँचेर अबुधाबीमा नेपाल प्यालेस र साबिया एरियामा डाँफे रेस्टुरेन्ट चलाइरहेको छु । भर्खरै नयाँ व्यवसायमा हात पनि हालेको छु ।

मैले व्यापारलाई व्यापक ढंगले विस्तार गर्न लागेको छु । दुबईलाई केन्द्र बनाएर नेपाली प्रोडक्टहरु जस्तै गुन्द्रुक, भटमास, सिकुटी, टिम्बुर, चामल लगायत दैनिक उपभोग्य सामग्रीहरु इम्पोट र एक्पोर्ट गर्ने कम्पनी स्थापना गरिसकेको छु ।

(एमजीएच)माई ग्रेट होप जनरल टे्रडिङ कम्पनीको नाम स्वीकृत भइसकेको छ । नेपालीबाट सञ्चालित यो ठूलो लगानीको पहिलो जनरल ट्रेडिङ कम्पनी हो । चामल अहिलेको भाउभन्दा करिब आधा सस्तोमा यूएईबासी नेपालीहरुको कोठाकोठामा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छु । प्रोडक्टहरुको नमुना पेस गरेर विभिन्न निकायमा वैधानिक तरिकाले पास गराएर काम अगाडि बढिसकेको छ ।

व्यापारिक नीति र बोनसको सिस्टममा परिवर्तन ल्याउने योजनाका साथ काम गरिरहेको छु । अलि व्यापक र फरक तरिकाले प्रभावकारी काम गर्दैछु । म पनि यूएईको नेपाली समुदायमा ठोस योगदान पुर्याउन चाहन्छु । सामाजिक प्राणी भएपछि समाजसेवामा रुचि त्यसै पनि भइहाल्छ । व्यापारीले पनि यही समाजमा व्यापार गर्ने हो । त्यसकारण समाजप्रति व्यापारीहरुको अझ ज्यादा झुकाव हुनुपर्छ । यूएईमा मेरा सपनाहरु पूरा हुँदैछन् ।

(प्रस्तुतिः  रामप्रसाद ढुंगेल )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment