Comments Add Comment

अमरेशलाई कारबाही गर्ने सुशील कोइरालाको प्रस्ताव

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला आफैंले सभासद अमरेशकुमार सिंहलाई कारबाही गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका छन् । बैठकमा भएको सहमति अनुसार अब पार्टी अनुशासन समितिले कारबाहीको प्रक्रिया थाल्नेछ ।

बालुवाटारमा बसेको संसदीय दल र केन्द्रीय समितिको बैठकमा नेताहरु सिंहले देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेका थिए ।

Amresh Kumar Sing

लगतै गाउँ/नगर, क्षेत्र र जिल्लाको धिवेशनबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले अधिवेशन कार्यतालिका पारित गरेपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति कोइरालाले सिंहको प्रसंग उठाए ।

अमरेशकुमार सिंहको नाम नलिई केही नेता तथा सभासदले पार्टी नीति विपरित गतिविधि गरेको र के हेरेर बसेको भनेर आफूलाई देशभरबाट कार्यकर्ताले दबाव दिएको कोइरालाले बताए ।

काइरालाले यसो भनिरहँदा सदस्यहरुले अमरेशकुमारलाई नै भनेको सहजै अनुमान गरे । लगतै बलबहादुर केसीले कारबाही गर्ने गरी ल्याएको कि भन्नका लागि मात्र भएको भन्दै प्रश्न गरे ।

जवाफमा पार्टी सभापति कोइरालाले अनुशासन समितिको सभापति बाहिर भएकाले आफूहरुले कार्यसमितिमा प्रस्ताव राखेको बताए । लगतै नरहरि आचार्यले सभापति नभए पनि चार जना सदस्य रहेको र विधान अनुसार उनीहरुले कामकारबाही गर्न सक्ने बताए ।

अनुशासन समितिका सदस्य सुरेन्द्र पाण्डेले समितिले तुरुन्तै बैठक बसेर कारबाही गर्न सक्ने बताए । तर, उनले यसअघि जस्तो अनुशासन आयोगले कारबाही सिफारिस गर्ने र सभापतिले फिर्ता लिने हो भने किन कारबाही सिफारिस गर्ने भनेका थिए ।

बैठकपछि एक नेताले अनलाइनखबरसँग भने-‘अनुशासन समितिको बाटोबाट जाने भन्ने भएको छ । तर, के कारबाही गर्ने भन्ने टुङ्गो भएको छैन ।’

खुमबहादुरबारे मौन

अमरेशलाई कारबाही गर्ने प्रस्ताव राखेका कोइरालाले खुमबहादुरबारे केही बोलेनन् । बैठकपछि केही केन्द्रीय सदस्यबीच अमरेशलाई कारबाही गरेपनि पावर भएकालाई केही नगरेको भन्दै कुराकानी भएको थियो ।

स्रोतका अनुसार फर्मुल्लाह मन्सुरले यसअघिकै बैठकमा खड्काबारे प्रश्न उठाएका थिए । पूर्वमन्त्री खड्का भ्रष्टाचारमा जेल परेका थिए । तर, त्यसबेला पनि पार्टीले उनलाई केन्द्रीय सदस्यबाट निलम्बन समेत गरेन ।

अहिले खड्काले हिन्दु राष्ट्रको माग गर्दै अभियान चलाइरहेका छन् भने अनुशासन समितिका सदस्य सुरेन्द्र पाण्डेसहितका नेताहरु खड्का संयोजक रहेको सनातन हिन्दु राष्ट्र अभियानमा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment