Comments Add Comment

मानव तस्करी गर्ने आठ नेपाली विरुद्ध रेडकर्नर नोटिस

१७ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले वैदेशिक रोजगारीको प्रलोभन दिएर मानव तस्करी गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर डिफ्युजन नोटिस जारी गरेको छ। अनुसन्धानका क्रममा रहेको घटनामा संलग्न फरार अभियुक्त देशबाहिर पुगेको अवस्थामा पक्राउ गर्न अन्य देशका प्रहरी संगठनको सहयोगका लागि इन्टरपोलले डिफ्युजन नोटिस जारी गर्छ।
Interpol
अनुसन्धानबाट दोषी देखिएका उनीहरू नेपालको सीमाबाहिर रहेको भन्दै नेपाल प्रहरीले पक्राउ गर्न सहयोगका लागि आग्रह गरेपछि इन्टरपोलले उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी गरेको नागरिकमा खबर छ ।

इन्टरपोलले परशुराम गुरुङ, किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्ता तुलाधर निरौला, विनोद पाण्डे र सञ्जिव मुडभरीविरुद्ध रेडर्कनर नोटिस जारी गरेको हो।

रेडकर्नर नोटिसमा परेका अधिकांशविरुद्ध बैंकक, अमेरिका, कोरिया, अफगानिस्तान, युरोपेली र आफ्रिकी राष्ट्रमा रोजगारी दिलाइदिने प्रलोभनमा रकम लिई ठगी गरेको अभियोग छ।

नेपालस्थित इन्टरपोलको समन्वय शाखाका अनुसार परशुराम र किशोरमाथि थाइल्यान्ड, दक्षिण कोरिया र अस्ट्रेलियाका होटल तथा जहाजमा आकर्षक रोजगारी दिने भन्दै पैसा लिई पीडितलाई होटलमा राखी मानसिक यातना दिएको तथा वैदेशिक रोजगारसम्बन्धी नक्कली सम्झौतापत्र र मागपत्र दिएको अभियोग छ।

अमेरिकामा रोजगारी दिलाउने भन्दै १३ लाखभन्दा बढी रकम ठगेको अभियोगमा ओमप्रकाशविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो। बुटवलका ओमप्रकाशमाथि करुणाकार घिमिरेलाई ठगेको अभियोग छ।

काठमाडौं बालाजुका दुर्गा, सोमनाथ र अजन्तामाथि अफगानिस्तान पठाउने प्रलोभन देखाएर जनही ३ लाख ५० हजार लिएर नक्कली सम्झौतापत्र दिई करोडौं ठगेको अभियोगमा रेडकर्नर नोटिस जारी भएको इन्टरपोलको नेपालस्थित समन्वय शाखाले सार्वजनिक गरेको छ।

युरोप र अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाउँदै विभिन्न व्यक्तिसँग ६६ लाख ठगेको अभियोगमा वैदेशिक रोजगार विभागको आग्रहमा सञ्जिवविरुद्ध रेडकर्नर जारी भएको हो। विनोद पाण्डेविरुद्ध पनि वैदेशिक रोजगारी ठगीमै रेडकर्नर जारी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment