Comments Add Comment

कतारमा एनआरएन उम्मेदवारसँग सार्वजनिक बहस, कसले के प्रतिबद्धता सुनाए ?

घनश्याम पराजुली/दिलिप पराजुली

doha-1दोहा । यतिबेला कतारको दोहामा रहेका नेपालीहरुलाई एनआरएनको चुनावी सरगर्मी लागिसकेको छ । एनआरएन कतारको नेतृत्व हत्याउन चारजना प्रतिस्पर्धी मैदानमा छन् ।

आखिर के छन उनीहरुका एजेण्डा ? किन उनीहरुलाई चुनाव जिताउनुपर्ने ? जितेपछि उनीहरुले के गर्नेछन नेपाली समुदायका लागि ?

यिनै प्रश्नको जवाफ खोज्न नेपाल पत्रकार महासंघ कतार शाखाले हालै सार्वजनिक बहस कार्यक्रम आयोजना गर्‍यो । कतारमा पहिलोपटक आयोजना गरिएको सार्वजनिक बहसमा उम्मेदवारलाई प्रश्न सोध्न बिभिन्न संस्थाका प्रतिनिधि र पंजीकृत सदस्यहरु उपस्थीत थिए ।

एनआरएन कतारको अध्यक्ष पदमा अर्जुन भट्टराई, बिल गुरुङ्ग, बिनेश तामाङ्ग र मोहम्द साकिर अलीले उम्मेवारी घोषणा गरको छन ।

कसले के प्रतिबद्धता जनाए ?

doha-3

बहसमा भट्टराईले प्रवासी लगानी भित्राउन कोशिष गर्ने भन्दै आफ्नो प्रतिबद्धता सुनाए । अध्यक्ष पदका दाबेदार गुरुङ्गले ‘सहकार्य सहमती जहाँ ,प्रगती उन्नती त्यहाँ’ भन्ने एक सुत्रिय चाहाना तथा मन्त्र रहेको भन्दै संस्थाको विधान बुझेमा मात्र नेतृत्व गर्न सकिने बताए । त्यस्तै तामाङ्गले आफ्ना सामाजिक गतिविधीलाई प्रष्ट पारे । अर्का उम्मेदवार साकिर अलीले विगतमा समेत एनआरएनएमा काम गरेको अनुभव रहेको भन्दै आफु सक्षम रहेको दावी गरे । उनीहरुको प्रतिबद्धतामाथि करिम बक्स मियाँ, नवराज बिक, मोहन शाह, युवराज पाण्डे, रुद्र बिक, मुनाफ मियाँ र शिवराज गौतमले प्रश्न गरेका थिए ।

प्रथम उपाध्यक्ष पदका लागी उम्मेदवारी दिएका नगेन्द्र पोखरेल, मोहम्मद मुक्तदा मुसलमान र श्रीकृष्ण भट्टराईले सार्वजनिक बहसमा आफ्नो प्रतिबद्धता सुनाए । अर्काले बनाईदिएको विधान पनि कसरी सदुपयोग गर्ने भन्ने विषयमा विगत देखी नै अनविज्ञ रहेको र एनआरएनएमा राजनितिक छैन भन्ने कुरा झुटो रहेको भन्दै सुधार गर्दै लैजाने भट्टराईले बताए । मुक्तदाले कतारको आन्तरिक मामिला मन्त्रालयसँग मिलेर काम गर्न सक्ने बताए । त्यस्तै पोखरेलले समग्र नेपाली श्रमिकको हकहित, कला र सँस्कृती साथै खेलकुदको विकासका लागी प्रवासबाट पहल गरिने प्रतिवद्धता जाहेर गरे ।

अध्यक्षका उम्मेदवार भट्टराई काँग्रेस निकट मानिन्छन । त्यस्तै तामाङ्गलाई एमाले तथा जनजाती महासंघको समर्थन छ । गुरुङ्गलाई जनजाती महासंघले साझा उम्मेदवारको रुपमा उठाएको हो । साकिर अलीले स्वतन्त्र रुपमा उम्मेदवार दिएका हुन । कार्यक्रमका सहभागीहरुले एनआरएनएलाई राजनितीकरण नगर्न आग्रह गरेका थिए ।

doha-2

सार्वजनिक बहसमा द्वितिय उपाध्यक्षका उम्मेदवारहरु प्रविन गुरुङ्ग , द्रोण बस्नेत र मोहम्मद उमेर अलाम , महासचिवमा नन्द प्रसाद गर्वुजा, करिम बक्स मियाँ र नन्द्र प्रसाद ढुङ्गाना, सचिवमा प्रेमकुमार बिक, उत्तिमकुमार शाह, संजय रजक र मोहम्द औजेर साथै कोषाध्यक्षका लागी भेषराज पराजुली, बुदबल गुरुङ्ग , अब्दुल वासिद, रुपेश यादव, आईसिसी सदस्य हंसराज क्षेत्री, बिनोद भट्टराई, होमनाथ शर्मा र सुनिल मण्डलसँग उनीहरुको उद्धेश्य र प्रतिवद्धताको विषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए ।

सार्वजनिक बहसमा उम्मेदवारहरुले सहमती गर्न तयार रहेको बताईरहे पनी सहमतिको सम्भावना अहिलेसम्म देखिएको छैन् । बहसमा उत्रिएका उम्मेदवारहरुले युवाशक्तिलाई एकिकृत गर्दै समाजिक कार्यमा लगाउन अग्रसर हुने, आर्थिक पारदर्शिता, लेखा परिक्षण, श्रमिकका समस्याहरुको समाधानमा पहल लगायतका विषयलाई प्राथमिकतामा राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment