Comments Add Comment

छोरा बित्दा सँगै रुन पनि पाएनौं : वैद्य पत्नी

१७ साउन, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यकी पत्नी सुश्मा बैद्य त्यति सिनमा आउँदिनन् । राजनीतिमा पनि उनी त्यति सक्रिय छैनन् ।

कतिपय नेता पत्नी राजनीतिमा सक्रिय मात्रै छनन्, सभासद, मन्त्री लगायतका पदमा समेत पुगेका छन् । तर, नेता पत्नी हुनुका आफ्ना दुःख छन् । झन भूमिगत नेता पत्नीको दुःखका अनोक कथा छन् ।

मोहन बैद्य पत्नी सुश्माले अनलाइनखबरसँगको कुराकानीमा आफ्नो मोहन वैद्यसित चार दशक लामो सम्वन्धको पोको खोलेकी छन् । कम्युनिष्टको छोरी भएकै कारण सासु ससुराले उनले पकाएको खाएनन् ।

एक समय अवस्था यस्तो आयो कि दुई वर्षको छोरो हुँदा निमोनियाले बित्दा समेत पतीसँगै रहेनन् । ‘सर (बैद्य) आउँदा छोरो सिरियस थियो । प्राण उडिनसकेको तर, बाँच्ने आशा मरिसकेको अवस्थामा’ उनले भनिन्-भोलीपल्ट बिहान छोरो बित्यो । त्यतिबेलासम्म घरमा पुलिस छ्याछ्याप भइसकेका थिए ।’

सुश्माको नजरमा मोहन वैद्यसित चार दशक लामो सम्वन्धः

susma baidhya

मेरो माइती अर्घाखाँची । बाबु खुङखार कम्युनिष्ट हुनुहुन्थ्यो । उहाँको अठोट थियो, छोरीको बिहे पनि आफूजस्तै खुङखार कम्युनिष्टसित गराइदिने ।

म १३-१४ वर्षको भएपछि केटाहरु माग्न आउन थालेका थिए । थरीथरीका केटाहरु आए । तर, बुवाले सबैलाई फर्काइदिनुभयो । पढेलेखेका, जागिरेहरु आउँदा पनि बुवाले रुची दिनुभएन । किनकी उनीहरु कम्युनिष्ट थिएनन् ।

उनीहरु मलाई चोरी-चोरी हेर्थे र निराश बन्दै फर्किन्थे । बाबुले जे गर्नुभयो, त्यसमा मलाई कुनै गूनासो थिएन । मलाई पनि केटो त कम्युनिष्ट नै हुनुपर्छ भन्ने छाप परेको थियो सानैदेखि ।
आएका केटाहरु लगालग फर्काउँदै गएपछि मेरो बिहे गर्न ढिला भयो । कान्छोबाको छोरीहरुको बिहे भइसकेको थियो ।

छरछिमेकले ‘यो त बुढीकन्या बस्ने भई’ भनेर कुरा काट्न थालेका थिए ।

भेटियो ‘भनेजस्तो केटो’

Mohan baidhya Kiranआखिरमा बुवाले भनेजस्तो केटो पाएरै छाड्नुभो । मेरो भिनाजू चित्रबेसीमा शिक्षक हुनुहुन्थ्यो । उहाँले बाबुसित एउटा केटोको कुरा ल्याउनुभएछ । त्यतिबेला म १८ वर्षकी थिएँ । ‘मोहन वैद्य भन्ने केटो छ, खुङखार कम्युनिस्ट हो’ भनेपछि बाबुले चाख लिनुभयो ।

बाबु त्यतिबेला मशालमा हुनुहुन्थ्यो । मोहनविक्रम सिंह हाम्रो घरमा आइरहनु हुन्थ्यो । म उहाँलाई पनि बाबु भन्थेँ ।

मोहनविक्रमले पनि बाबुलाई भन्नुभएछ, ‘त्यसलाई त आँखा चिम्लेर छोरी दिँदा हुन्छ । एमए पास गरेको छ । तर, अहिले चाहिँ जेलमा छ ।’ जेलमा भएको कुराले बाबुलाई चिन्तित तुल्याएन । बरु खुशी हुनुभयो ।

त्यतिबेला किरण सर पार्टीको सिसिएम हुनुहुन्थ्यो । शिक्षक पेशा छोडेर पूर्णकालीन राजनीतिमा लाग्नुभएको रहेछ । बाबुले अञ्चलाधिशसित कुरा गरेर उहाँलाई छुटाउनुभयो । जेलबाट छुटेपछि मलाई हेर्न घरमा आउनुभो । मेघराज आचार्य भन्ने एकजना हेडमास्टरसित आउनुभएको थियो ।

उहाँहरुले बुवासित लामै कुरा गर्नुभो । म उहाँहरुसित बसिनँ । बरु लुकेर धित मरुञ्जेल हेरेँ । साँच्चिकै चिटिक्कको हुनुहुन्थ्यो । मलाई बाबुले भनेजस्तो ज्वाईं पाउने हुनुभो भनेर औधी खुशी लाग्यो ।

केटाहरु गएपछि बुवाले मलाई सोध्नुभो, ‘कस्तो लाग्यो त तँलाई ?’ मलाई भन्नै लाज लाग्यो । उहाँले कुरा बुझिहाल्नुभो । त्यसो त मलाई सोध्नुभन्दा अघि नै उहाँले निधो गरिसक्नु भएको थियो ।

हाम्रो बिहे त नाम मात्रैको हो । केटी हेर्न आएको २० दिनपछि असोज ७ गते उहाँ ११-१२ जना जन्ति लिएर आउनुभो । जन्ति भन्नु कि प्रतिनिधिमण्डल भन्नु । प्राय पार्टीका साथीहरु थिए ।

हाम्रो घरको बैठक कोठामै बिहे भयो । जग्गेसग्गे हुने कुरै भएन । माला लायौं कि लाएनौं भन्ने पनि बिर्सेँ । सिन्दूर-पोते चाहिँ भयो । सिन्दुर हालेर उहाँले मसित हात मिलाउनुभो ।

छोएको खाएनन् सासुससुराले

बिहे गरेर मलाई प्यूठान लगे । घरमा सासु-ससुरा, ६ वटा देवर एक नन्द हुनुहुन्थ्यो ।ससुरासित उहाँको (बैद्य बाबुछोराको) सम्वन्ध विग्रेको रहेछ । ससुरा पण्डित हुनुहुन्थ्यो । तर, छोरो कम्युनिस्ट पार्टीमा लागेको उहाँलाई मन परेको रहेनछ ।

बाग्दुलामा शिक्षक हुँदा नै किरण सरहरुले हलो जोतेर पाडो खानु भएको रहेछ । यो कुरा थाहा पाएर बुवा आगो हुनुभएछ । त्यसपछि छोराले छोएको पनि खान छाड्नुभएको रहेछ । त्यत्रो पढेको छोराले कमाई-धमाई नगरेकोमा पनि उहाँको गुनासो थियो ।

बिहेपछि मैले छोएको सासुससुराले खानुभएन । सुरुमा त म बाहुनकी छोरी हुँ भन्नेमै उहाँहरुलाई शंका थियो । धेरै बुझेर बाहुनकै छोरी हो भन्ने पत्ता लगाउनुभो । तर, पनि कम्युनिस्ट केटी भनेर पकाएको खानुभएन ।

खासमा उहाँहरु कुनै पढेलेखेकी केटीसित छोराको विहे गरिदिन चाहनुहन्थ्यो । तर, किरण सरको सोच चाहिँ सकभर नपढेकै भए हुन्थ्यो भन्ने रहेछ । पढेकी केटी बिहे गर्दा पार्टीका धेरै साथीहरुको राजनीति चौपट भएको उहाँले देख्नुभएको थियो । नपढेकी केटी आई भने घर धानेर बस्छे, आफू बेफिक्री हिँड्न पाइन्छ भनेर होला ।

नभन्दै बिहेपछि म चुलोचौकोमै सिमित भएँ । सासुले खाना पकाउनुहुन्थ्यो, म धन्दा गर्थेँ । खेतबारी प्रशस्तै थियो । घर धन्दा र मेलापातमा मेरा दिन बित्न थाले ।

बिहे भएको केहि समयपछि नै सर (बैद्य) भूमिगत हुनुभयो । भूमिगत नहुँदा पनि घरमा त्यति बस्नुहुन्नथ्यो । हप्ता १० दिनमा आउनुहुन्थ्यो । भूमिगत भएपछि त सम्पर्क माध्यम समेत भएन । अहिलेजस्तो फोन सुविधा थिएन ।

कहिलेकाहीँ साथीहरुमार्फत चिठी पठाउनुहुन्थ्यो । तर, आफू कहाँ छु भनेर लेख्नुहुन्नथ्यो । म जवाफ पठाउन सक्दिनथेँ, किनकी पढेकी थिईंन ।

छोरा बित्दा बाबुको भागाभाग

२०३५ सालमा हाम्रो जेठो छोरा जन्मियो । सर भूमिगत हुनुहुन्थ्यो त्यतिबेला । छोरो दुई वर्षको हुँदा निमोनियाले बित्यो । छोरो बितेको रात संयोगले सर घरमा आइपुग्नुभएको थियो ।

त्यो रात उहाँ हाम्रो टोलमा आउनुभएको रहेछ । १५-२० जना गाउँलेहरु घरमा जम्मा भएका थिए । टाढैबाट उहाँले घरमा राति अबेरसम्म बत्ति बलेको हल्लाखल्ला भइरहेको थाहा पाउनुभएछ । अनि जोखिम मोलेर घरमै आउनुभो ।

सर आउँदा छोरो सिरियस थियो । प्राण उडिनसकेको तर, बाँच्ने आशा मरिसकेको अवस्थामा । उहाँले छोरालाई बोक्नुभो । भोलीपल्ट बिहान छोरो बित्यो । त्यतिबेलासम्म घरमा पुलिस छ्यापछ्याप भइसकेका थिए ।

छोरो बितेपछि म आलसतालस भईंहालेँ । गाउँलेहरुले छोराको शव लिएर गए । सरले म जान्न भनेर घरमै बस्नुभएको रहेछ । तर, पुलिसले घेरा हालेको थाहा पाएपछि कसरी कसरी फुत्केर भाग्नुभएछ ।

पुलिसहरु घरभित्र खानतलासी गरे । उहाँलाई नभेटेपछि फर्के । म ४-५ दिनसम्म ओछ्यानमै लडिरहेँ । यस्तो दुःखमा घर छोडेर भाग्नुपर्दा उहाँलाई कस्तो भयो होला ?
बुवालाई मामा भन्छन् छोरीहरु
मेरा चारवटै सन्तान बुवा भूमिगत हुँदा जन्मेका हुन् । आक्कलझुक्कल मात्रै घर आउने बुवासित उनीहरु राम्ररी झ्याम्मिनै पाएनन् । त्यतिबेला हाम्रो घरमा बादलजी, सिपिजी आइरहनुहुन्थ्यो । छोरीहरुले उहाँहरुलाई मामा भन्थे । बादलजीसित त छोरीहरु औधि झुम्मिन्थे । उहाँ पनि खुबै माया गर्नुहुन्थ्यो । मिठाइहरु ल्याइदिने, घुमाउन लैजाने गर्नुहुन्थ्यो ।
susma baidhya_400_1छोरीहरु आफ्नै बुवालाई पनि मामा भन्थे । हामीले नै मामा भन्न सिकाएका थियौं । टोलमा गएर बाबा घरमा आउनुभो भन्दै हल्ला गर्लान् भनेर । वहुदल आइसक्दा पनि मामा नै भन्थे । कहिलेकाहीँ मात्रै भेट्ने भएकाले बुवासित लाडिएका थिएनन् ।

वहुदल आएपछि उहाँ खुला हुनुभयो । त्यतिबेला छोराछोरी ठूला भइसकेका थिए । ससुरा पनि बितिसक्नुभएको थियो । बित्नुभन्दा अगाडि चाहिँ बुवाछोराको सम्वन्ध सुधार भएको थियो । उहाँले चार धाम घुमाउन लगेपछि बुबा खुशी हुनुभएको थियो ।

५२ सालमा माओवादी जनयुद्ध सुरु भएपछि सर फेरि भूमिगत हुनुभयो । त्यसको एक वर्षपछि म पनि भूमिगत भएँ ।

म भूमिगत हुँदा ससुराले छोरीहरुलाई घरमा राख्न मान्नुभएन । पुलिसले दुःख दिन्छ भनेर इन्कार गर्नुभयो । त्यसपछि माइलो ससुराकहाँ राखेँ । जनयुद्धकालभरी हामी सँगै रह्यौं । म पनि फिल्डमा हिड्न थालेँ । पार्टीले कार्यालयको जिम्मेवारी दियो । त्यसपछि धेरै जान्नेबुझ्ने भएँ । बढि समय नेपालमै र केहि समय भारतमा बितायौं । बीचमा एकपटक उहाँ भारतको जेल पनि पर्नुभयो ।

झगडा कहिल्यै भएन

हामीले श्रीमान श्रीमतीका रुपमा चार दशक बिताइसकेका छौं । यसबीचमा सानातिना मनमुटाब भए होलान् तर, ठूलो झगडा कहिल्यै भएको छैन ।

उहाँ घरमा कम बोल्नु हुन्छ । म प्यारप्यार बोलिरहन्छु । घर व्यवहार सबै मैले नै धानेकी छु । हाम्रो त पार्टी र घर मिसमास जस्तो छ । हामीबीच घरमा राजनीतिक कुराहरु पनि हुने गरेका छन् । म आफूलाई लागेको सल्लाह सुझावहरु दिन्छु ।

उहाँ घरबाहिर जस्तै घरभित्र पनि जाँगरिलो हुनुहुन्छ । फुर्सद हुँदा खालि बस्नुहुन्न । मसला पिन्ने, लसुन छोडाउने, आलु ताछ्ने कामहरु गर्नुहुन्छ । उहाँलाई टमाटरको चट्नी मिठो लाग्छ । भातभन्दा रोटी मन पर्छ । च्याँख्ला पनि रुचाउनुहुन्छ । स्वास्थ्यको ख्याल चैं कत्ति पनि गर्नुहुन्न । मलाई यहि चिन्ता छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment