Comments Add Comment

नेपाली टीममा ‘फाइटिङ क्यारेक्टर’ देखिएको छ : पारस खड्का

parash-Khadka-650

१७ साउन, काठमाडौं । नेपाली क्रिकेट टीममा कप्तान पारस खड्काले आयरल्याण्ड भ्रमणलाई बिर्सनलायक भएको बताएका छन् । तर, विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ‘फाइटिङ क्यारेक्टर’ देखिएको बताए ।

टी-२० विश्वकप छनोटमा खराब प्रदर्शन गरेको नेपालले अर्को वर्ष भारतमा हुने विश्वकप खेल्ले मौका गुमायो र एमूह एको पुछारमा रहृयो ।

तर, एक सातापछि भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली आयरल्याण्डविरुद्ध मात्र ३ रनले पराजित भयो । वर्षाले प्रभावित दोस्रो खेलमा नेपाल सजिलै ९ विकेटले पराजित भयो ।

क्रिकइन्फोसँगको कुराकानीमा नेपाली कप्तान पारसले भने-आयरल्याण्ड भ्रमण बिर्सनलायक छ । किनभने हामीले जस्तो खेल प्रदर्शन गर्‍यौं, त्यो भन्दा हाम्रो टीम राम्रो छ ।’

एकसाताको आरामपछि टीमलाई एकीकृत गर्ने र कसरी अघि बढ्ने भन्ने सोच्ने समय पाएको भन्दै उनले अन्तिम समयसम्म हार नमान्ने चरित्र देखिएको बताए ।

टी-२० विश्वकप छनोटमा नेपाली ब्याटिङले घुँडा टेकेपछि विश्व क्रिकेट लिग च्याम्पियनसिपमामा केही सुधार देखिएको थियो । पहिलो खेलमा अनिल मण्डलले शतक तथा पारस स्वयमले ७० रन बनाएका थिए ।

parash-Khadka

दोस्रो खेलमा पनि नेपाल अन्तिम ओभरमा मात्र अल आउट भएको थियो । त्यसतर्फ संकेत गर्दै पारसले भने-हामीले अन्तिमसम्म लड्यौं । यो स्तरको क्रिकेटमा अन्तिम समयसम्म लड्ने क्यारेक्टर महत्वपूर्ण हुन्छ ।’

विश्व क्रिकेट लिग च्याम्पियनसिप ५० ओभरको विश्वकप र एक दिवसिय मान्यतासँग जोडिएको भन्दै उनले एशोसिएट क्रिकेट टीममा ठूलो भिन्नता नरहेको र सबैको तयारी राम्र्रो हुने बताए ।

नेपाली कप्तान पारसले भने-हरेक खेल अघि हामीलाई डेढ/दुई महिनाको समय हुन्छ । आश छ कडा मेहनत गरेर हामी आफ्नो लयमा फर्कन्छौं ।’

कहिले काँही चाहे जस्तो नहुने भन्दै उनले एकदिवसीय विश्वकप छनाेटको न्यूजिल्याण्ड भ्रमणलाई सम्झिए । उनले भने-तर, हामीले कसरी पुनरागमन गर्छौ भन्ने महत्वपूर्ण छ । यो दुई खेलमा राम्रो क्यारेक्टर देखिएको छ । आश छ आगामी दिनमा हामीले राम्रो प्रदर्शन गर्न सक्छौं ।’

कमजोरीबाट पाठ सिक्दै पछिल्लो ३/४ वर्षमा जस्तै खेल्नु पर्ने उनले बताए । टीममा क्षमताबान खेलाडीहरु रहेको भन्दै कप्तान खड्काले सबैले चाहिएको बेला प्रदर्शन गर्न सक्नु पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment