Comments Add Comment

डेंगुबाट बच्न विश्वकै ठूलो लामखुट्टे कारखाना, हप्तामा १० लाख लामखुट्टे उत्पादन !

Mascuto

औलो, डेन्गु लगायतका घातक रोग सार्ने लामखुट्टेको नियन्त्रणका लागि झुल तथा अन्य औषधि उत्पादन गर्ने कारखाना स्थापना हुनु त सामान्य हो । तर यदि कसैले उल्टै लामखुट्टे नै उत्पादन गर्ने कारखाना बनायो भने त्यसलाई के भन्ने ?

सायद त्यसलाई मुर्ख वा सत्रु भन्नुहोला । तर त्यसो भनि नहाल्नुस् किनकी चीनको एउटा कम्पनीले विश्वकै ठूलो लामखुट्टे उत्पादन कम्पनी स्थापना गरेको छ जसले एक हप्तामै १० लाख लामखुट्टे उत्पादन गर्दछ । र, यसरी लामखुट्टे उत्पादन गर्नुको उद्धेश्य भनेको लामखुट्टे नियन्त्रण गरेर औलो तथा डेंगु जस्ता रोग निर्मूल पार्नु नै हो ।

हप्तामा १० लाख लामखुट्टे उत्पादन गरेर कसरी हुन्छ त लामखुट्टे नियन्त्रण ? यो त उल्टै लामखुट्टे बढाएर मानिसलाई रोगले मार्ने ध्येय पो भयो भन्नुहोला । तर होइन, यसरी उत्पादन गर्ने लामखुट्टेहरु नपुंशक हुन् जसले रोग फैलाउने अन्य लामखुट्टेको संख्या कम गर्न सहयोग गर्छन् ।

चीनको सरकारी पिपुल्स डेली अनलाइनका अनुसार साइन्स सिटी इलाकामा कारखानाबाट निर्मित लामखुट्टेलाई प्राकृतिक वातावरणमा छाड्ने जिम्मेवारी शी झियोंगले सम्हालेका छन् । यसको पहिलो परीक्षण खेतमा गरिएको थियो र यसबाट लामखुट्टेको संख्या ९० प्रतिशतले कम भएको पाइयो ।

Maskuto1

डेंगु लगायतका रोगको नियन्त्रणका लागि नपुंशक लामखुट्टेलाई जंगलमा छाड्नु एक नवीन तथा अनौठो उपाय नै मान्नुपर्छ । चीनमा अघिल्लो वर्ष ४७ हजार मानिस डेंगुबाट प्रभावित भए र त्यसमध्ये अधिकांस मानिस गुआंगडोंग प्रान्तका थिए । डेंगुका कारण विश्वमा हरेक वर्ष २२ हजार जनाको ज्यान जाने गरेको छ भने मलेरियाबाट त्यो भन्दा निकै ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाउने गर्छन् ।

नपुंशक लामखुट्टेले कसरी रोग फैलाउने लामखुट्टेको संख्या घटाउँछन् त भन्नुहोला । वास्तवमा ठूलो संख्यामा रहेका नपुंशक भाले लामखुट्टेले रोग फैलाउने पोथी लामखुट्टेसँग समागम गर्ने तर त्यसरी पोथीले पारेका फूल कोरिलिएर लार्भा नबन्ने भएकाले लामखुट्टेको सन्तान उत्पादन रोकिन्छ । नपुंशक लामखुट्टेको संख्या अत्यधिक हुँदा प्राकृतिक वातावरणमा रहेका भाले लामखुट्टेले पोथी लामखुट्टेलाई गर्भाधारण गराउनै पाउँदैनन् ।

उसैपनि लामखुट्टेको जिवनचक्र निकै छोटो हुने भएकाले समागम गर्नै नपाइ धेरै भालेको मृत्यु हुन्छ र पोथीहरु पनि बतासे फुल पार्दैमा समय कटाउने र मर्ने गर्दछन् । यसरी लामखुट्टेको जिवनचक्र नै खल्बलिने र नयाँ लार्भा उत्पादन नै हुन नपाउने भएपछि रोग फैलाउने लामखुट्टेको संख्या ह्वात्तै घट्दछ र यसले फैलाउने डेंगु तथा मलेरिया रोगमा पनि कमी आउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment