Comments Add Comment

भूकम्पपछि ९० दिनमा २० अर्ब मात्रै कर्जा बढ्यो

Nepali money१८ साउन, काठमाडौं । वैशाख १२ गतेको विनासकारी भूकम्पपछि बैंकहरुले प्रवाह गर्ने कर्जा सुस्ताएको छ । भूकम्पपछिका ९० दिनमा वाणिज्य बैंकहरुले २० अर्ब रुपैयाँ मात्रै कर्जा बढाएको राष्ट्र बैंकले जनाएको छ । जबकी यस अवधिमा बैंकहरुको निक्षेप भने १ खर्ब २२ अर्ब रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार साउन पहिलो सातासम्ममा बाणिज्य बैंकहरुले १४ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

भूकम्पपछि व्यापार/व्यवसाय सुस्ताएकाले ऋण बढ्न नसकेको नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अनलाइनखबरलाई बताए ।

‘भूकम्पअघि निक्षेपको तुलनामा कर्जाको वृद्धिदर बढी थियो, त्यसैले निक्षेप आकषिर्त गर्न बैंकहरुले व्याजदर पनि बढाएका थिए ।’ ढुंगानाले भने -भूकम्पका कारण ऋण बढ्न सकेको छैन तर निक्षेप भने बढिरहेको छ ।

भूकम्पसँगै व्याजदर घट्यो

भूकम्पपछि बैंकहरुले व्याजदर घटाउन थालेको उनले बताए । राष्ट्र बैंकको तथ्यांक हेर्दा पनि चैत महिनाको तुलनामा भन्दा बैशाख र जेठ महिनामा व्याजदर केही घटेको छ । वाणिज्य बैंकहरुले चैत महिनामा निक्षेपमा ४.०७ प्रतिशत व्याजदर दिन्थे भने बैशाखमा ४.०६ प्रतिशत र जेठमा ४.०५ प्रतिशत व्याजदर प्रदान गरेका छन् ।

साउनदेखि व्याजदर झन घट्यो

सीइओ ढुंगानाका अनुसार साउन लागेपछि व्याजदर अझ बढी घटेको छ । लगानी योग्य पुँजीको अत्यधिक चापका कारण बैंकहरुले व्याजदर घटाएको उनले बताए ।

‘साउनको पहिलो हप्तादेखिनै बैंकहरुले उल्लेख्यमात्रामा व्याजदर घटाएका छन् ।’ ढुंगानाले भने- एक/डेढ महिनाभित्र बैंकहरुले निक्षेपमा दिने औषत व्याजदर अढाईदेखि ३ प्रतिशत मात्रै हुने छ ।’

महिना निक्षेपको व्याजदर प्रतिशतमा कर्जाको व्याजदर प्रतिशतमा
साउन ३.९९ १०.३०
भदौ ३.९० १०.२३
असोज ३.७९ १०.१४
कात्तिक ३.८१ ९.९४
मंसिर ३.७६ ९.९४
पुस ३.७५ ९.८२
माघ ३.८४ ९.६७
फागुन ३.७९ ९.५६
चैत ४.०७ ९.६४
बैशाख ४.०६ ९.६५
जेठ ४.०५ ९.५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment