Comments Add Comment

बोलबम यात्रीलाई बामदेवको सम्बोधन : हिन्दू धर्मलाई कसैले समाप्त गर्न सक्दैन

१८ साउन,काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले हिन्दू धर्मलाई नेपालबाट कसैले पनि समाप्त पार्न नसक्ने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

बोलबम यात्रीहरुलाई काठमाडौंको सुन्दरीजलमा सम्बोधन गर्दै मन्त्री गौतमले भने-८० प्रतिशत नेपाली जनता आबद्ध रहेको हिन्दू धर्म नेपालको राष्ट्रिय धर्म हो,यसलाई कसैले समाप्त पार्न सक्दैन ।

सुन्दरीजलको ओख्रेनी माविमा बोल बम काँबरिया संघले आयोजना गरेको कार्यक्रममामा एमाले उपाध्यक्षसमेत रहेका गौतमले धर्मका नाममा मान्छे उचाल्ने र पछार्ने काम भइरहेको बताए ।

गौतमले हिन्दू धर्म कसैले समाप्त पार्न नसक्ने भएकाले हिन्दू धर्माबलम्बीहरु उत्तेजित हुन जरुरी नरहेको भन्दै धर्मको आडमा हुने विकृति रोक्दै र सुधार गर्दै जानुपर्ने बताए ।

गौतमले बोल बम धाम निर्माणका लागि सुन्दरीजलको ४२ रोपनी सार्वजनिक जग्गा भोगाधिकार दिने प्रतिबद्धता पनि जनाए । गौतमले बोलबम धाम निर्माणका लागि आफूले सघाउने बताए ।

सो अवसरमा बोल्दै मुक्तिनाथ बाबा कमलनयनाचार्य, एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र महतो लगायतले हिन्दूत्वमाथि चौतर्फी आक्रमण भएको बताए ।

हिन्दूराष्ट्र स्थापनाको आन्दोलन घोषणा गरेका कमलनयनाचार्यले हिन्दूत्वमाथि सबैतिरबाट आक्रमण हुँदा पनि हिन्दू धर्माबलम्बीको सुरक्षामा चासो नदिइएको बताए ।

देशभरिका बिभिन्न ठाउँ विशेष गरी तराईबाट आएका बोलबम यात्रीहरु आइतबार राति नै सुन्दरीजल पुगेका थिए । बोलबमको नारा लाउँदै गएकाहरुले राति १२ बजेपछि स्नान गरी बागमती नदीको सुन्दरी माइ मन्दिरमुनिबाट खाली खुट्टा शुद्ध जल ल्याई सोमवार पशुपतिनाथ मन्दिरमा चढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment