Comments Add Comment

कपिलवस्तुमा झोले डाक्टरले लिए बच्चाको ज्यान

१८ साउन, तौलिहवा । कपिलवस्तुको महाराजगन्ज गाविस ३ गैडाहवामा एक भारतीय झोले डाक्टरको लापर्वाहीका कारण एक बच्चाको ज्यान गएको स्थानीयले बताएका छन् । गैडाहवा निवासी राजकुमार लोनियाँका २ वर्षीय छोरा सुरेन्द्रको ज्यान गएको हो ।

सामान्य झाडापखाला लागेका सुरेन्द्रलाई झोले डाक्टर अमृत कुमार श्रीवास्तवले सुई लगाइदिए लगत्तै ज्यान गएको परिवारका सदस्यहरुले बताएका छन् । सुई लगाएपछि बच्चाको शरिर निलो भएको र एकैछिनमा मुर्छा परेर मरेको स्थानीयको भनाइ छ ।

बच्चाको शवलाई कपिलवस्तुको तौलिहवामा पोष्टमार्टम गरी गैडाहवामा अन्तिम संस्कार गरिएको छ । झोले डाक्टर श्रीवास्तवलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुमा पचास भन्दा बढी झोले डाक्टरहरु खुलेआम विना कागज पत्र क्लीनिक सञ्चालन गरे पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयको भनाइ छ ।

पुल नहुँदा समस्या

यसैबीच कपिलवस्तुको शिवराज नगरपालिका वडानम्बर २ र ३ जोड्ने काठको पुल भत्किएपछि ४ गाउँका मानिसहरुलाई आवत जावतमा समस्या भएको छ । जवाई खोलामा पुल नहुँदा भितारिया, धनगाढवा खरेन्द्रपुर लगायतका बासिन्दालाई समस्या परेको हो ।

जीर्ण अवस्थामा रहेको काठको पुल करिब ५ बर्ष अगाडि भत्किएपनि हालसम्म निर्माण नगरिदिँदा दैनिक उपभोग्य सामानहरु ओसारपसार गर्न समस्या भएको धनगाढवाका विकास पौडेलले बताए ।

– सनिउल्ला धोबीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment