Comments Add Comment

संघीयताको ‘पोलिटिकल म्यापिङ’मा चार नेता निर्णायक

मात्रिका पौडेल

१८ साउन,काठमाडौं । प्रमुख दलका शीर्ष नेता संघीयताको राजनीतिक नक्सांकनका लागि सोमबार विहानैदेखि भिडेका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था समितिको हलमा विहान ९ बजेदेखि शुरु भएको नेताहरुको छलफल अपरान्ह लन्च ब्रेक भए पनि एमाले अध्यक्ष केपी ओली भने बैठक कक्षमै अन्य पक्षसँग छलफलमा व्यस्त भए ।

Kp oli, Ser bahadur, Bhim rawal and Krishna sitaula 650

सीमांकन सहितको संविधान जारी गर्न आन्तरिक र बाहृय दबाब बढेपछि शीर्ष नेताहरु ‘जसरी पनि’ सिमांकन टुंग्याउने गरी छलफलमा जुटेको फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले बताए । ‘सिमांकनको पोलिटिकल म्यापिङको लागि बिभिन्न बिकल्पमा छलफल भइरहेको छ, सबै विकल्प टेबुल भएका छन् तर टुंगो लागेको छैन’ देवले अनलाइनखबरसँग भने ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समतिका अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा शीर्ष नेता सम्मिलित विशेष समितिमा सीमांकनका लागि विकल्पहरु प्रस्तुत भएका छन् ।

स्रोतका अनुसार पूर्वको झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली कन्चनपूरकै कारण सीमांकनमा सहमति हुन सकेको छैन । पाँच जिल्लाको गाँठो फुकाउन एमाले अध्यक्ष केपी ओली, कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र कांग्रेस महामन्त्री कृष्ण सिटौला निर्णायक पात्र बनेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार झापा पहाडतिर छाडेर सुनसरी र मोरङ अलग गर्ने विकल्पमा पनि ओली र सिटौला तयार भएका छैनन् ।

त्यस्तै झापदेखि उदयपूरसम्मका ६ जिल्ला मिलाएर अलग प्रदेश बनाउन पनि ओली र सिटौला तयार छैनन् । उनीहरुले ताप्लेजुङदेखि सुनसरीसम्मको भूभागलाई एउटै प्रदेशमा राख्नुपर्ने अडान लिएका छन् ।

त्यस्तै सुदूरपश्चिममा पनि देउवा आफू मुखरित नभए पनि उनका प्रतिनिधि रमेश लेखक र एमाले उपाध्यक्ष भीम रावल अखण्ड सुदूरपश्चिमको अडानमा छन् ।

कन्चनपूरलाई पहाड मिलाएर कैलाली छाड्ने प्रस्ताव पनि नमानेपछि पछिल्लो पटक फोरम लोकतान्त्रिकले कैलालीको पनि माथिल्लो क्षेत्र छाड्ने नयाँ प्रस्ताव राखेको छ ।

यिनै बिभिन्न विकल्पहरुमा छलफल भए पनि राजनीतिक नक्सांकन टुंगो लागेको छैन । सोमवार दिनभरी छलफल गरेर रातिसम्म भने पनि सिमांकन हल गर्ने प्रयास भइरहेको एमाओवादी अध्यक्ष प्रचण्डले बताए ।

मिडियासँग बाबुराम आक्रोशित

साउन मसान्तभित्र सिमांकन सहितको संविधान जारी हुने विहानको बैठकपछि भट्टराईले बताए । उनले नेताहरुले समय गुजारेको तथा संविधान साउन मसान्तमा नआउने भनी मिडियाले भ्रम सिर्जना गरेको आरोप लगाए ।

भट्टराईले भने-‘मिडियाका साथीहरुलाई मेरो अनुरोध छ,तपाईहरु जनतालाई कूसूचित नगर्नुस,संविधान नल्याउने भए भन्ने भ्रम पैदा नगरिदिनुस । हामी साउन मसान्तमै संघीयता सहितको संविधान ल्याउछौं ।’

भट्टराई सोमबारको पहिलो बैठकपछि बाहिर निस्कदा मिडियाप्रति आक्रोशित थिए । उनी आफ्नो असन्तुष्टि राखेर अन्य विषयमा जानकारी नदिई झन्किदै हिडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment