Comments Add Comment

माथेमा प्रतिवेदन कार्यान्वयन भए मेडिकल शिक्षा धरासयी हुन्छ

नेपालकै सबैभन्दा धनी व्यक्ति नभए पनि डाक्टरहरूमध्ये राज्यलाई सबैभन्दा बढी आयकर तिर्ने नागरिक हुन्- ओम अस्पतालका प्रमुख डा. भोला रिजाल । धनकुटा पुर्ख्यौली थलो भएका डा. रिजाललाई अनलाइनखबरले मुख्यतः तीनवटा विषयमा प्रश्न सोधेको छ : एक- गरीबको छोरो डाक्टर बन्न सक्छ कि सक्दैन ? दुई- नयाँ पुस्तालाई डाक्टरी नै पढ्न सल्लाह दिनुहुन्छ कि अरु नै विषय ? र, तीन- माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि डा. गोविन्द केसी फेरि अनसन बस्ने चर्चा छ, यसमा तपाईको समर्थन रहन्छ कि विरोध ?

डा. रिजालको अनुभव रहेछ : डाक्टरी पेशा निरीह, सम्मान नपाइने एवं अति संघर्ष गर्नुपर्ने पेशा हो । दोस्रो- सजिलै दाम र नाम कमाउने मन भए नेतागिरी गर्नु राम्रो हुन्छ, जहाँ ‘क्वालिफिकेसन’ चाहिँदैन । र, तीन- माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन भए नेपालको मेडिकल शिक्षा धरासयी हुन्छ । माथेमा आयोगलाई टेकेर अनशन बस्दा विदेशीलाई फाइदा पुग्छ र डा. गोविन्द केसीले कुनै महत्व पाउँदैनन् ।

dr vola rijal_1

डाक्टरी विद्या धनीले मात्रै पढ्न सक्छन् कि गरीबका छोराछोरीलाई पनि यो पेशामा ठाउँ छ ?

जहाँ इच्छा त्यहाँ उपाय । गरीबले डाक्टर पढ्न सक्दैन भन्ने हो भने मैले धनी भएर डाक्टरी पढेको होइन । जतिखेर सीट आयो, अरुहरुले पाए, मैले पाइँन । नपाएपछि आफ्नै पैसाले भए पनि पढ्छु भनेर मैले आँट गरें र म ढाका गएँ ।

मैले त्यहाँ जम्मा तीन महिना आफ्नो पैसाले पढें हुँला । त्यसपछि मैले काम गर्न थालें । रिसर्चको काम गरें । त्यहीँ रेडियोमा जर्नालिज्म गरें । म न्युज रिडर थिएँ । न्युज ट्रान्सलेट गर्थें, फिचर लेख्थें, अन्तरवार्ताहरु लिन्थें । म प्रोग्राम अर्गनाइज्ड गर्थें । त्यसरी मैले ढाका रेडियोमा आठ वर्ष काम गरें । आफ्नो कमाउनेमात्रै त छाडिदिनोस्, मैले कमाएको पैसाले अरु दुईजना पालिन्थे ।

अहिले जेहेन्दार विद्यार्थीको कुरा आउँछ । सरकारले दुई सय सीट दिएको छ । जेमा पनि स्कलरसीप छ, जेमा पनि कोटा छ । त्यसकारण पैसाको आडमा पढ्ने भनेको त मैले धेरै कम देख्छु ।

तर, के हो भनेदेखि संसारका जुनसुकै कुनामा पनि पब्लिक सेक्टर र प्राइभेट सेक्टर हुन्छन् । पब्लिक सेक्टरमा त पाउनै गाह्रो हुन्छ । कसैले पनि एकदमै राम्रो बेस्टमा पनि बेस्ट छ भने पब्लिक सेक्टरमा प्रयास गर्छन् र पाएन भने मात्रै प्राइभेटमा आउँछन् । यहाँचाँहि ठीक उल्टो छ ।

तर, पढ्नका लागि, अगाडि बढ्नका लागि, आफ्नो प्रतिभा देखाउनका लागि पैसाको आड चाहिन्छ भनेर जसले भन्छन्, हो, पैसा चाहिन्छ, तर त्यही मात्रै सबथोक हो भनेर म भन्दिँन । ईच्छाशक्ति भयो भने गर्न सकिन्छ, त्यसको ज्वलन्त उदाहरणै म छु ।

मैले बनारसमै पनि कहिल्यै महिनाको दुईसय रुपैयाँ खर्च गरिँन । कसैले अनुमानै गर्न सक्दैन कि मैले ०२९ सालमा ढाकामा ५ हजार डलरको जागिर छाडेर नेपाल आएर ४ सय ५० रुपैयाँको जागिर खाएको हुँ ।

एसएलसीमा अलिकति राम्रो नम्बर ल्याउने विद्यार्थीहरु डाक्टर पढ्ने ईच्छा गर्छन्, तपाई उनीहरुलाई डाक्टर नै पढ भन्नुहुन्छ या अरु नै विषय पढ्न सल्लाह दिनुहुन्छ ?

अहिले मैले कोही पनि डाक्टरी नपढ बाबु, मैलेजस्तो दुख तिमीहरुले नपाओ भनें भनेदेखि मलाई मानिसहरुले बहुलाहा भन्छन् । आफूले चाहिँ नाम पनि कमायो, दाम पनि कमायो, जे पनि गर्‍यो, अरुलाई चाहिँ त्यो बाटो नहिँड् भनेर सल्लाह दिन्छ भन्छन् । त्यसकारण कुरो के हो भनेदेखि मेरो सबैलाई अनुरोध छ, यदि यो लाइनमा संघर्ष गर्न, सबैको भनाइ सुन्न, आफू अपहेलित नागरिक भएर बाँच्न यदि कोही पनि राजी छ भनेदेखि आफ्नो स्वालम्वन र सेवाका लागि त्यसले डाक्टर हुनैपर्छ । आफ्नो रहरले होइन, बाबुबाजेको डाइनेस्टीले होइन, यहाँ गएँ भने मेरो रोजीरोटी मर्दैन भनेर होइन, त्यहाँ गएँ भने म संघर्षशील हुन सिक्छु, मैले २४ घण्टा पनि आफ्नो भनेर सुत्न पाउँदिन, मैले सुत्नु हुँदैन र म राष्ट्रकै एउटा सबैभन्दा तिरस्कृत व्यक्ति भएर बाँच्न तयार छु भनेर डाक्टर बन्न तयार हुनुपर्छ ।

डाक्टरहरु तिरस्कृत हुन्छन् र ?

अहिलेकै भुइँचालोमा पनि हामीले देख्यौं, कसरी तीनवटा औंलाहरु बाँचे ? चाहे त्यो सुरक्षाकर्मी होस्, चाहे त्यो सञ्चारकर्मी होस्, चाहे त्यो स्वास्थ्यकर्मी होस् । यी बाहेक अरु त घर गएर सुतेका थिए । यिनीहरु कहिल्यै पनि सुत्न पाउँदैनथे ।

dr vola rijal_650

भनेपछि तपाईको अनुभवमा डाक्टरी पेशा सजिलो रहेनछ….

सजिलो गरी जीवन चलाउने हो भने नेतागिरी गर्नोस् । केही गर्नुपर्दैन । पैसा जति पनि आउँछ । पढ्नु पनि पर्दैन । क्वालिफिकेसन पनि चाहिँदैन । पपुलर पनि हुनुपर्दैन । भोट किने पनि पुग्छ । बेचे पनि पुग्छ । त्यसकारण सबैभन्दा राम्रो लाइफ लीड गर्ने हो भने नेता हुनोस् । नेता हुन पायो भने यो यस्ता डाक्टर त कति किन्न सकिन्छ, कति । यी डाक्टर र सञ्चारकर्मीहरुलाई त कति कँजाउन सकिन्छ । चाह्यो भने बन्द गर्न सकिन्छ । ती सुरक्षाकर्मीहरुको त कुरै छाडिदिनास् । सबै आफ्नो मुठ्ठीमा हुन्छन् । मान्छेलाई सुन्दाखेरि यो आक्रोशजस्तो लाग्ला, तर मैले आक्रोशित भएर यो कुरा गरेको होइन । नेपालको परिप्रेक्ष्यमा यो स्वाथ्य क्षेत्र कहिल्यै पनि राज्यको प्राथमिकतामा परेन ।

तुलनात्मकरुपमा हेर्दा ०४७ सालमा प्रजातन्त्र आएपछि वा त्योभन्दा पहिले नेपालको स्वास्थ्य क्षेत्र कुन राम्रो थियो ?

यतातिर आएपछि राम्रो वातावरण सिर्जना भयो ०४६ सालको आन्दोलनमा म टिचिङ हस्पिटलको डाइरेक्टर थिएँ । टिचिङ हस्पिटलले ०४६ सालको आन्दोलनलाई नब्युँताएको भएदेखि आज पनि शायद हामी प्रजातान्त्रिक मुलुक हुन पाउँदैनथ्यौं होला । शिक्षण अस्पतालै हो, ०४६ सालको आन्दोलनको मुटु । हामीले हारेको भए, हामीलाई शुली चढाइन्थ्यो कि के गरिन्थ्यो, थाहा छैन ।

आन्दोलनबाट पार पाएर यतातिर आएपछि सञ्चारको जगतमा, स्वाथ्यको जगतमा निजी क्षेत्रमा प्रगति भएको छ । निजी अस्पताल खोल्ने, मेडिकल कलेज खोल्ने भन्ने कसैले सोचेको पनि थिएन होला । तर, ०४६ सालको प्रजातन्त्र प्राप्ति पछि यी कुराहरु अगाडि आए ।

जति ठाउँमा सरकारका कमी कमजोरीहरु थिए, ती ठाउँमा निजी क्षेत्र अगाडि बढ्यो । यसले गर्दा आज हामी कमसेकम बोल्न सक्ने भएका छौं । सञ्चारजगत केही लेख्न सक्ने भएको छ, देखाउन सक्ने भएको छ ।

सरकारी क्षेत्रको कुरा गर्ने हो भने गंगालाल हस्पिटल एउटा थपियो, केही बेडहरु थपिए । त्यो भन्दाबाहेक सरकारी क्षेत्रमा ६ हजार बेडहरु थिए भने आज पनि आएर ७ हजार हाराहारीमा बेडहरु छन् ।

यस अवधिमा निजी क्षेत्रले गरेको योगदान के हो ?

जबकि निजी क्षेत्रमा २५ वटा बेड थिए भने आज आएर झण्डै १४ हजार बेड निजी क्षेत्रमा आएका छन् । यसले गर्दाखेरि नेपाली जनताले स्वास्थ्य सेवा पाइरहेका छन् ।

वर्षमा जम्मा ३० जना मेडिकल ग्राजुएट हुन्थे, जुन शिक्षण अस्पतालले मात्रै गथ्र्यो भनेदेखि आज आएर सरकारी क्षेत्रबाट वर्षमा ३ सय जना ग्राजुएट हुन्छन् भनेदेखि ३ सय ग्राजुएट त निजी क्षेत्रले निशुल्क उत्पादन गरेर सरकारलाई दिन्छ । झण्डै झण्डै दुई हजारको हाराहारीमा निजी क्षेत्रले चिकित्सकहरु उत्पादन गरेको छ । यी उत्पादित जो चिकित्सकहरु छन्, यसवापत सरकारले निजी क्षेत्रलाई धन्यवाद दिनुपर्नेमा अहिले विषम परिस्थिति आयो । स्वाथ्य क्षेत्रमा ०४६ सालयता प्रगति भयो, तर मानसिकतामा हामीले प्रगति गर्न सकेनौं ।

तर, निजी क्षेत्र जतिसुकै फस्टाए पनि गरीब जनताले पाउने स्वास्थ्य सेवा महंगो भयो, व्यापारीकरण भयो भन्ने गुनासो पनि त बढिरहेकै छ । डा. गोविन्द केसीले बारम्बार यही मुद्दालाई लिएर बारम्बार अनसन बसिरहनुपरेको यथार्थलाई कसरी लिने ?

यो एकदमै सान्दर्भिक प्रश्न हो । अहिले जसरी डा. केसीले फेरि अनसन गर्ने भन्ने कुरा पत्रपत्रिकामा आइरहेका छन् । अहिलेको नेपालको समस्या के हो ? अहिलेको समस्या डा. केसीले उठाउनुभएको समस्या हो कि, अथवा त्योभन्दा बाहेक अरु नै समस्याहरु छन्, जुन हामीले पहिले त्यसलाई निर्वाह गर्नुपर्दथ्यो ? त्यो चुरो समस्यालाई हामीले बिर्सिन हुँदैन । आज आएर जुन मेडिकल कलेजहरुले चिकित्सकहरु उत्पादन गरेर सरकारलाई दिइरहेको जनशक्ति होस्, चाहे राजस्व होस् । चाहे जनताले पाएको सेवा होस्, यो सरकारी अस्पतालहरुले दिएको सेवा भन्दा पनि अझ सुलभ र सस्तो छ ।

आज मेडिकल कलेजहरुसँग १४ हजार बेडहरु छन् । आज कम्तिमा १० हजार बिरामीहरुले दैनिक उपचार पाइरहेका छन् । यसलाई एउटा ठूलो उपलब्धि मानेर यसलाई अझ कसरी स्तरीय गराउने भनेर सोच्नुपर्छ । यसरी लाग्नुको सट्टामा अब मेडिकल कलेजहरुलाई नै धरासायी बनाउनेखालका कुराहरु आए ।

भनेपछि डा. गोविन्द केसीले उठाएका मुद्दा सही छैनन् भन्न खोज्नुभएको हो ?

हामीले त अहिले के हेर्नुपर्दथ्यो भने डा. गोविन्द केसीको जुन मुद्दा हो, त्रिवि हस्पिटलमा अथवा विश्वविद्यालयमा जति पनि राजनीतिकरण भइरहेको छ, हामीले त्यो राजनीतिकरण हुन दिनुहुँदैन । राजनीतिकरण भइसकेपछि त्यसमा योग्यताको कुरो आउँदैन । दक्षताको कुरो आउँदैन । मर्यादाको कुरो आउँदैन । राजनीतिको कुरो मात्रै आउँछ ।

त्यहाँ जति पनि आए, राजनीतिकरण भयो भनेर हामीले नै समर्थन गरेर डा. केसी सत्याग्रह भएको छ । डा. केसी अत्यन्तै कुशल अर्थोपेडिक सर्जन हुँदा हुँदै पनि त्यस्तोखालको अनशन गर्नुपर्‍यो । हामीले त्यहाँ दिनरात बसेर यी कुराहरुलाई सपोर्ट गर्‍यौं र यहाँसम्म ल्यायौं ।

तर, हुँदाहुँदा यो कुरासँग जोडिएर अब नेपालमा मेडिकल कलेजको संख्यात्मक र गुणात्मक कुराहरु यसमा आउन थाले । यदि नेपालमा टिचिङ हस्पिटलले आज ६० वटा कोटा सञ्चालन गरिराखेको थियो, त्यसले यति मेनपावर पुगेको भए काठमाडौंमा आएर कर्णालीका बिरामीहरुले २/३ महिना कुरेर सेवा लिनुपर्ने बाध्यता हुने थिएन । यही कुरालाई ध्यानमा राखेर निजी क्षेत्रहरु पलाएका हुन् नि त । नभए निजी क्षेत्र पलाउँदैनथे ।

सरकारी अस्पतालका डाक्टरले निजीमा गएर काम गर्न थालेपछि जनताले असुविधा पाएका हुन् कि ?

मलाई थाहा छ, मैले शिक्षण अस्पताल किन छाडें ? शिक्षण अस्पतालमा २३ जना डाक्टरले एकसाथमा छाडेका हौं । त्यहाँ ठूलो समस्या थियो । त्यहाँ प्राक्टिसिङ र नन प्राक्टिसिङको झगडा भयो । मैले भनें, कुनै पनि नेपाली परिप्रेक्ष्यमा प्राक्टिसिङबाहेक नन प्राक्टिसिङको अस्थित्व छैन । नन प्राक्टिसिङ गर्ने हो भने पूरा जसरी अल इण्डियामा त्यहाँको पियनदेखि कन्सल्ट्यान्टदेखि लिएर सबैलाई नन प्राक्टिसिङ गरेको हुनाले त्यहाँ चल्यो ।

चिकित्सिकहरुलाई नन प्राक्टिसिङ गराउनुभनेको उनीहरुलाई जकट्नु हो । हामीलाई जति तलब दिइएको थियो, त्यसले पुग्दैनथ्यो । तल्लो तहको कर्मचारीले ८ हजार खान्थे । हामीलाई २०/२५ हजार तलबमा काम लगाउँदाखेरि हामीले सहन सकेनौं । हामीलाई त्यो चिज मन परेन र हामीले त्यसको विरोध गर्‍यौं । त्यसपछि हामी त्यहाँबाट निस्कियौं, अथवा निकालियौं ।

आज पनि शिक्षणमा यस्तै समस्या विद्यमान छ । तर, आज पनि गएर त्यहाँ हेर्नोस् आज पनि टिचिङका डाक्टरहरुले बाहिर गएर काम गरिराखेका छन् कि छैनन् ? यति ठूलो विसंगति आज पनि शिक्षण अस्पतालमा छ । जसले धेरै ठूलाठूला कुराहरु गर्नुहुन्छ, त्यो कुरो गर्न उहाँहरु योग्य हुनुहुन्छ कि हुनुहुन्न ? नन प्राक्टिसिङको सुविधा पनि पाएर बाहिर प्राक्टिस पनि गरेर जसले काम गर्दै हुनुहुन्छ, उहाँहरु भागिदार हुनुहुन्छ कि हुनुहुन्न ? अहिले जसले मोरालका कुरा गर्दै हुनुहुन्छ, म उहाँहरुलाई सोध्न चाहन्छु ।

अहिले गोविन्द केसीले यति ठूलो महत्व पाएका छन्, भोलि गएर त्यो महत्व पाउँदैनन् । किनभने यसमा अर्को गन्ध आइसकेको छ । यसको ज्वलन्त उदाहरण हो, नेपालका मेडिकल कलेजहरु बन्द गर्ने र यहाँका विद्यार्थीहरुलाई विदेश पढ्न पढाउने ।

उसोभए अब जुन विषयलाई लिएर डा. केसी अनशन बस्न लाग्दै हुनुहुन्छ, त्यसमा तपाईको समर्थन हुँदैन ?

आज जुन जनताका लागि गरिएका वाचा अनुसार अनशन बस्ने हो भने हाम्रो पनि सपोर्ट रहन्छ । त्यसमा हामी कहिल्यै पनि नाईँ भन्दैनौं ।

तर, आज आएर नेपालका मेडिकल कलेजका विषयमा प्रश्न उठाएर, माफियादेखि के-के शब्दहरु प्रयोग गरेर सञ्चालकहरुलाई निरुत्साहित पार्ने र मेडिकल कलेजहरु बन्द गराएर यसभित्र विदेशी र स्वदेशीहरुको जुन चलखेल भयो, यसले गर्दा अहिलेको जुन सत्याग्रह आन्दोलन छ, म दाबाका साथ भनिदिन्छु, भोलि गएर यसले अर्को रुप लिन्छ ।
अहिले गोविन्द केसीले यति ठूलो महत्व पाएका छन्, भोलि गएर त्यो महत्व पाउँदैनन् । किनभने यसमा अर्को गन्ध आइसकेको छ । यसको ज्वलन्त उदाहरण हो, नेपालका मेडिकल कलेजहरु बन्द गर्ने र यहाँका विद्यार्थीहरुलाई विदेश पढ्न पढाउने । यसो गर्दा ठूलो धनराशी प्राप्त हुन्छ । यदि मलाई पैसाको मात्रै ध्यान हुने हो भने मेडिकल कलेज बन्द गरिदिएर खाली कन्सल्टेन्सीमात्रै खोलेर बसें भनेदेखि मलाई अर्थोक केही पनि चाहिँदैन ।

त्यसकारण आज करोडको लगानी गरेर अरब कमाएका छन् भनेर जसले वक्तव्य दिनुभएको छ, उहाँहरुले अलिकति सोचेर, सम्झेर हामी सबै नेपाली हौं, हामी सबै चिकित्साप्रेमी हौं भन्ने बुझ्नुपर्छ । एउटाले बोल्दा अर्कालाई कति आघात पर्छ भन्ने विचार गर्नुपर्छ । कति दुख सहेर मेडिकल कलेज सञ्चालन गरेका छन्, त्यो बुझ्न सक्नुपर्छ । अचानोलाई मात्र थाहा हुन्छ, खुकुरीको मार । हामीले दिनरात कर्मचारीको ताडनादेखि लिएर सबै समस्या सहेर नेपालको मेडिकल एजुकेसनलाई माथि उठाएका छौं । आज हामीले उत्पादन गरेका चिकित्सकहरु मेडिकल काउन्सिलको जाँचमा ८५ प्रतिशत उत्तीर्ण गरिराखेका छन् । के यो स्तरहीन भएको हो ? चीन, भारत अथवा बाहिरबाट आएका विद्यार्थीहरु २० प्रतिशत पास गरेका छन् ।

यदि हामीले नेपालका मेडिकल कलेजहरु बन्द गरिदिएर नेपालका गरिब किसानका विद्यार्थीहरुलाई पढ्नबाट वञ्चित गर्ने हो भनेेदेखि यो पाप अरुलाई लाग्दैन । यदि हामीले भोलि मेडिकल कलेज सञ्चालन गर्न नसकेर यसमा केही तलमाथि पर्‍यो भने यो पाप हामीलाई लाग्दैन । त्यसकारण हामीले यी सबै स्टेपहरु लिनुभन्दा अगाडि के हेर्नुपर्छ भने अहिले पढिरहेका विद्यार्थीहरु पढ्नबाट वञ्चित नहुन् । आज हामीले लिएको दुई सय विद्यार्थीको निशुल्क कोटा बन्द नहोस् । डेन्टलको समेत जोड्दा झण्डै ३ सय विद्यार्थी निशुल्क पढाएका छन् । यस्तो स्थितिमा कसले गर्‍यो माफियागिरी ? भोलि जनताले सोध्ने स्थिति आउन सक्छ ।

निश्कर्षमा भन्दा, राजनीतिकरणविरुद्ध डा. केसीको मागप्रति तपाईको समर्थन छ, तर, निजी मेडिकल कलेज बन्द गरेर नेपालको पैसा विदेश पठाउने षड्यन्त्र भइरहेको छ भन्ने तपाई आरोप हो ?

एकदमै । मैले कहिले विरोध गरेको छु ? म ०३९ सालदेखि मेडिकल एजुकेसनको लागेको मान्छे । ओम अस्पतालमै आएर बताइदिनोस् न यदि हाम्रो स्तर छैन भने किन फ्रान्स, जापान, इटली, बेलायत, नर्वे, बु्रनाई, हङकङ लगायतका ठाउँबाट हाम्रो ओम अस्पतालमा सेवा लिन आउनुहुन्छ ?

तर, डा. केसी माथेमा आयोगको रिपोर्ट लागू नभए फेरि अनशन बस्ने भन्ने सुनिएको छ, त्यो आयोगको प्रतिवेदन लागू गरे के बिग्रन्छ ?

दुईजनाले दिएको रिपोर्ट एवं पाँच जनाले भनेको कुरा सत्य हुन्छ र त्यही नै शत प्रतिशत लागु हुनुपर्छ भनेर कसैले पनि त्यो नभएको खण्डमा यसो गर्छु र उसो गर्छु भन्नु युक्तिसंगत हुँदैन ।

आजसम्म चाहे त्यो राज्य पुनसंरचना आयोगका प्रतिवेदनका कुरा गरौं, चाहे मल्लिक आयोगका कुरा गरौं, जुनसुकै आयोगले पनि रिपोर्ट दिनेवित्तिकै त्यो शत प्रतिशत राम्रो हुन्छ भन्न सकिन्छ र ? सकिँदैन ।

अहिले जुन आयोगको कुरा गरिएको छ, त्यसका केही अंशहरु बाहिर आए । त्यसमध्ये ४/५ वटा बुँदा हामीलाई स्वीकार्य छैन । यसले नेपालको मेडिकल कलेजलाई धरासायी बनाउँछ ।

जस्तै, माथेमा आयोगका के-के कुरा तपाईलाई चित्त नबुझेको हो ?

dr vola rijal_400जस्तो, म जुन मेडिकल कलेजमा आवद्ध छु, त्यसमा १ सय ५० सीटका लागि उसले पूर्वाधार तयार पारेको हुनसक्छ । उसले फ्याकल्टी राखेको हुन्छ । उसले कर्मचारी राखेको हुन्छ । सबै सामग्री, मेसिनदेखि लिएर सबै पूर्वाधार तयार पारेको छ, आएर सय बेडमात्रै चला भनेपछि मैले कर्मचारी हटाउने कि ? फ्याकल्टी हटाउने कि ? बिरामी निकाल्ने कि के गर्ने ? यस्ता अमिल्दा कुरालाई हामीले बसेर विकल्प खोज्नुपर्छ ।

दोस्रो, अध्ययन शुल्क जुन ३५ लाखको कुरो आएको छ, यो अमिल्दो र अव्यवहारिक छ । यसका पछाडि कुनै वैज्ञानिक आधार नै छैन क्या । आजभन्दा पाँचवर्ष अगाडि ३४ लाख सिफारिस भएको थियो । अब ६ वर्षपछि आएर यसलाई ३५ लाखमै गर्नुपर्छ भन्दाखेरि त कस्तो देखियो भने जति भनिदिए पनि भयो । ३५ को साटो २० लाखमै चलाउनुपर्छ भनेर किन भनिएन, म त यसैमा अचम्म लाग्छ ।

तेस्रो कुरा, इन्ट्रान्सको कुरा छ । यहाँ बाहिरका विद्यार्थीहरु पढ्न आउँछन् । संसारभरिकाले विज्ञापन गरी गरी नेपालमा ३ दिने, ७ दिने प्रदर्शन गरीगरी नेपालका विद्यार्थीलाई बाहिर लैजान प्रोत्साहित गर्छन् ।

हामीले बाहिरका विद्यार्थी नेपालमा पढ्न आउँछौं भन्दा निरुत्साहित गर्नु किन ? यहाँ आएपछि तिमीहरुले ठूलो जाँच दिनुपर्छ भनेपछि को नेपाल आउँछन् ? आउँदैनन् । मैले ढाकामा गएर जाँच दिइँन नि ।

मेडिकल साइन्स यही एउटा सेक्टर हो, जहाँ बाहिरका मान्छे पनि आएर यहाँ पढ्छन् । यहाँ मालदिभ्सका आउँछन्, ब्रुनाईका आउँछन् । श्रीलंका, मोरिसस, भारत, बंगलादेशका विद्यार्थी नेपालमा पढ्न आउँछन् । यस्तो फिल्ड भइरहेको ठाउँमा यसलाई किन निरुत्साहित गर्ने ?

अर्को मेरो अनुरोध के हो भने यसबारे कुनै नियम कानून बनेको छैन । यो त अहिले छलफलमा आउनुपर्छ, छलफलमा आएपछि न्यया मन्त्रालयमा जाला, त्यसले कानून बनाउला । अनि त्यसपछि लागू होला । यहाँ चाहिँ के देखियो भने बनिसकेका जति पनि कानूनहरु छन्, त्यसलाई चाहिँ पालना नगर्ने, जसले जे गरे पनि हुने । बन्दै नबनेको कानूनका लागि लडाइँ गर्ने । मलाई सबैभन्दा दुख लागेको चाँहि के हो भने यो लडाइँ कसका लागि ? केका लागि ?

म चाहान्न, यदुबंश मासिएजसरी कुशले हानाहान गरेर हामी स्वाथ्यकर्मीहरु मासिऔं । स्वास्थ्यकर्मीहरु आज त्यसै पनि निरीह प्राणीजस्ता छन् । जसको हारगुहार गर्ने ठाउँ छ्रैन । जसको सेवालाई कुनै पनि प्राथमिकता दिइएको छैन । यति सेवा गरेर पनि न उनीहरुले उद्योगको सरह सुविधा पाएका छन् न सेवाको सरह सुविधा पाएका छन् । न इज्जत पाएका छन् । न कोही मर्दाखेरि लासलाई राजकीय सम्मान पाएका छन् । के आजसम्म राजकीय सम्मान पाउने डाक्टर कोही पनि मरेनन् त ? कसले पायो राजकीय सम्मान ? त्यसकारण म सबैलाई भन्न चाहन्छु, यो अरुले ल्याएको समस्या होइन, हामी निरीह स्वाथ्यकर्मीहरुलाई लडाउनका लागि बाहिरी शक्तिले खेलेको एउटा चाल हो । त्यसकारण यो चालमा हामी नफसौं । सबैले बुझौं । र नेपालको स्वाथ्य शिक्षालाई धरासयी हुन नदिऔं । कसैको प्रलोभनमा परेर यसलाई बिगार्ने काम नगरौं । हामीले आफ्नो इज्जत राखौं ।

हामीले आफ्नो राष्ट्रको इज्जत राख्नुपर्छ । म पनि अरु साथीहरुजस्तै बाहिर जान सक्थें, तर म आफ्नो देश छाडेर गइँन । नेपालीहरुले एक एक पैसा जोगाड गरेर मेडिकल कलेज सञ्चालन गरेका छन् । यसलाई अझ राम्रो कसरी बनाउने, त्यो लक्षमा हामी सबैजना जुटौं । संसारकै सबैभन्दा राम्रो बनाऔं ।

(नाेट- साउन १८ मा प्रकाशित अन्तरवार्ताकाे शीर्षक परिवर्तन गरिएकाे हाे )

प्रस्तुती- अरुण बराल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment