Comments Add Comment

नेपाली हाजीले साउन मसान्तभित्र ८५ हजार जम्मा गर्नुपर्ने

आरपी सुवेदी
१८ साउन, बाँके । साउदी अरेवियाको मक्का मदीनामा हज गर्न आवेदन दिएका नेपाली मुस्लीम समुदायले साउन मसान्त भित्र संबन्धित जिल्ला प्रशाशन कार्यालयमा पैसा जम्मा गर्नुपर्ने भएको छ ।

muslim-in-kathmandu-3

केन्द्रीय हज कमिटीले जनही १ लाख ८५ हजार अनुमानित खर्च लाग्ने भन्दै मक्का मदिना जान आवेदन दिएका सबैलाई साउन मसान्त भित्र बाँकी पैसा जम्मा गर्न आग्रह गरेको हो ।

हजको आवेदन दिँदा १ लाख नगद जम्मा गरेकाले बाँकी ८५ हजार रुपैयाँ केन्द्रीय हज कमिटीको खातामा जम्मा गर्न आह्वान गरिएको परिपत्र जिल्ला प्रशाशन कार्यालय बाँकेमा आएको प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले जानकारी दिए ।

केन्द्रीय हज कमिटीका सदस्य हाजी हलिम अन्सारीका अनुसार यस वर्षको लागि बाँकेबाट ६९ महिलासहित १ सय ५६ जनाले हज जानको लागि आवेदन दिएका छन् । यसमा अर्घाखाँचीका २ र बर्दियाका ५ जना समावेश छन् । सुर्खेत र दाङबाट यो वर्ष हजका लागि आवेदन नपरेको बुझिएको छ ।

अन्सारीले भने, ‘अब समय पनि थोरै छ । पहिलोपटक बाँकेबाट उत्साहजनक रुपमा हजका लागि आवेदन आएको छ । सबै जनालाई बाँकी ८५ हजार रुपैयाँ साउन मसान्त भित्र जम्मा गर्न आग्रह छ ।’

गत वर्ष बाँकेबाट २४ महिलासहित ५६ जना हज गएका थिए । उनीहरुबाट जनही २ लाख केन्द्रीय हज कमिटीले लिए पनि फर्केपछि जनही ३६ हजार रुपैयाँ फिर्ता गरिएको थियो । यो वर्ष भने सुरुमै १५ हजार घटाएर पैसा जम्मा गराइएको छ ।

केन्द्रीय हज कमिटीले हज व्यवस्थापन गर्नका लागि भनेर उपसमिति निर्माण गरेपनि कामै नगर्नेहरुको ‘झुण्ड’लाई उपसमितिमा राखेर काम गर्नेलाई निरुत्साहीत बनाएको आफूले पाएको पूर्व केन्द्र्र्रीय हज कमिटीका अध्यक्ष मौलाना जब्बार मञ्जरीले बताए ।

हज गर्न जाने हाजीको फारम संकलनदेखि उनीहरुका लागि सहजीकरण गर्दै आएका हालका सदस्य हाजि हलिमलाई किनारा लगाउनुले नै स्पष्ट पारेको दावी गर्दै उनले भने, ‘यहाँ त केही गरेनन् काठमाडौं र साउदीमा तिनीहरुबाट के आशा गर्ने ?’

हज कमिटीका सदस्य हाजि हलिमले आफ्नै खर्चमा नेपालगन्जमा सम्पर्क कार्यालय खोलेर कार्यालय सहयोगी राखेर हरेक हाजिको छुट्टै विवरणसहितको फाईल, भौचर, फोटोकपी, प्रचारप्रसार गरी सहजिकरण गरेको कारण बाँकेबाट यो वर्ष सबैभन्दा धेरै हज जानको लागि आवेदन परेको पूर्व अध्यक्ष मञ्जरीको भनाइ छ ।

यो वर्ष हज गर्न जाने हाजिले आवेदनका साथमा १ लाख बुझाएको र थप ८५ हजार बुझाउनु पर्ने केन्द्रीय हज कमिटीका सदस्य मो. कदिर जोलाहले जानकारी दिए । केन्द्रीय अध्यक्ष साउन १७ गते सबै व्यवस्था मिलाउनका लागि साउदी तर्फ लागेको बताउँदै उनले भने-‘अध्यक्ष जी १७ गते साउदी जानु भएको छ सबै मिलाएर आउनु हुन्छ । कोटा नबढेपछि छनौट गरी जति कोटा आउँछ त्यतिलाई पठाउने छौं ।’

उनले आवेदन दिने सबैसँग थप ८५ हजार रुपैयाँ जम्मा गर्न लगाउने योजना हज कमिटीको रहेको बताए । उनले अध्यक्षको अनुपस्थितिमा तनहुँका कलिला खातुनले कार्यवाहक अध्यक्षको रुपमा सबै काम कारवाही गर्ने जानकारी दिए ।

यस वर्षको हजका लागि सेप्टम्बर ७ देखि १३ तारिकसम्म अर्थात भदौ २१ देखि २७ सम्म साउदी अरेविया पुग्नु पर्ने भए पनि हज कमिटीका अध्यक्ष साउदी पुगेर भदौ ३ गते मात्र फर्कंदा भिसा, टिकट तथा अन्य तयारीका लागि समय नै अपुग हुने भएकाले आफूहरु अन्यौलमा रहेको हज जाने तयारीमा रहेका बाँके कम्दीका करामत अलिले बताए । उनीसँगै उनकी पत्नी हसरतुल बेगम पनि यो वर्ष हज गर्न जाँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment