Comments Add Comment

६ सय ४७ नक्कली भूकम्पपीडितबाट एक करोड राहत रकम फिर्ता

१९ साउन, काठमाडौं । प्रशासनले ठगी मुद्दा लगाउने भएपछि नक्कली भूकम्पपीडित भएर राहत रकम लिनेहरूले धमाधम फिर्ता गर्न थालेका छन् । भूकम्प प्रभावित ६ जिल्लाका ६ सय ४७ नक्कली भूकम्पपीडितले राहत रकम फिर्ता गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

सरकारले भूकम्पपीडितको अस्थायी आवास निर्माण गर्न १५ हजार रुपैयाँका दरले पीडितलाई वितरण गरेको थियो । तर, नक्कली पीडित भएर रकम लिनेहरूबाट अहिलेसम्म ९७ लाख पाँच हजार रुपैयाँ फिर्ता भएको नयाँ पत्रिकामा खबर छ ।

स्थानीय प्रशासनका अनुसार सिन्धुपाल्चोकमा तीन सय र रसुवामा एक सयजना नक्कली भूकम्पपीडितले राहत रकम फिर्ता गरेका छन् । नुवाकोटका डिएसपी अरुण पौडेलका अनुसार राहत लैजाने सात हजार जनाविरुद्ध उजुरी परेका छन् । तर, कसैले पनि राहत रकम फिर्ता नगरेको उनले बताए । अनुसन्धानपछि राहत रकम फिर्ता हुने उनको भनाइ छ ।

गोरखामा १० जनाले रकम फिर्ता गरेका छन् । गोरखाका सहायक सिडिओ दीपेन्द्र पौडेलका अनुसार नक्कली भूकम्पपीडितले राहत लगेको भन्दै करिब नौ सयजनाविरुद्ध उजुरी परेको छ । उजुरीमाथि छानबिन भइरहेको उल्लेख गर्दै उनले भने, ‘राहत रकम फिर्ता नगर्नेलाई ठगी मुद्दाअन्तर्गत कारबाही हुन्छ ।’

काभ्रेमा उजुरी परेको २२ मध्ये पाँचजनाले रकम फिर्ता गरेका छन् । सिडिओ सुदर्शनप्रसाद ढकालका अनुसार काभ्रेमा रकम फिर्ता गर्न सात दिनको म्याद दिइएको छ । उनले भने, ‘नक्कली भूकम्पपीडितले रकम लिएको उजुरी आयो । अनुसन्धान भइरहेको छ । सात दिनको म्याद दिएका छौँ । समयमा फिर्ता गरेमा कारबाही हुँदैन । नत्र ठगी मुद्दा चल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment