Comments Add Comment

कहाँ कहाँ हुँदैछ कांग्रेस र एमालेवीच ‘भागशान्ति जयनेपाल’ ?

१९ साउन, काठमाडौं । संविधान निर्माणको चटारोमा रहेका सत्तारुढ कांग्रेस र एमालेका नेताहरुलाई राज्य संयन्त्रका प्रमुख अंगहरुमा आफ्ना मान्छेको नियुक्ति र भागबण्डाको चटारोले समेत छोपेको छ ।

गत विहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई गठबन्धनको संस्कार अनुरुप व्यवहार नगरे राम्रो नहुने चेतावनी दिनुका पछाडि यही भागबण्डाकै राजनीतिले काम गरेको थियो ।

vagbanda

मुख्य सचिव र प्राधिकरणको सीइओमा विवाद
मुख्य सचिव र पुननिर्माण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिमा कुरा नमिलिरहेका बेला अन्य धेरै पदहरु धमाधम रिक्त हुँदैछन् । संविधान जारी भएर नयाँ सरकार गठनअघि नै महत्वपूर्ण निकायमा भर्ती गर्ने कांग्रेसको प्रयासमा एमाले बाधक बनिरहेको छ ।

देशको निजामति प्रशासनको सर्वोच्च पद मुख्य सचिव अब तीन दिनभित्र नियुक्त गर्नुपर्ने बाध्यता सरकारलाई छ । तर, एमालेले मुख्य सचिव र पुननिर्माण प्राधिकरणको कार्यकारी प्रमुखमध्ये एउटा आफूले पाउनुपर्ने अडान राखेका कारण प्रधानमन्त्री कोइराला दबावमा छन् । (यो पनि पढ्नुहोस् )

आफ्नो शक्ति भएका बेला यी दुबै पदमा आफ्ना मान्छे नियुक्त गर्ने कोइरालाको अभिलाषामा ओली बाधक बनेका छन् । ओलीले प्रधानमन्त्री कोइरालालाई प्रष्ट शब्दमा एकलौटी गरेर जाने हो भने ‘देखाइदिने’ धम्की दिइसकेका छन् ।

प्रधानमन्त्रीले मुख्य सचिवमा विश्वप्रकाश पण्डित र प्राधिकरणमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्न चाहेका छन् । तर, मुख्य सचिवमा एमालेले पण्डितको नाम ठाडै अस्वीकार गरेको छ ।

प्रायः प्रधानमन्त्रीले इच्छाएको व्यक्तिलाई मुख्य सचिव बनाउनुपर्ने प्रचलन रहँदै आएको छ । तर, सुशीलपछि चाँडै ओली प्रधानमन्त्री बन्ने भएकाले मुख्य सचिवमा एमालेको चासो बढेको बताइन्छ ।

मुख्यसचिवमा श्रीधर गौतम, सोमलाल सुवेदी र जयमुकुन्द खनालमध्ये एकजना कांग्रेसले छानेमा एमालेले प्राधिकरणको कार्यकारी प्रमुख लिनेछ ।

कांग्रेसले कार्यकारी प्रमुख लिएमा एमालेले जयमुकुन्द खनाललाई मुख्य सचिव बनाउन खोजेको सूत्रहरु बताउँछन् ।

सात उपकुलपति खाली
मुख्य सचिव र पुननिर्माण प्राधिकरणको प्रमुख नियुक्तिमा ढिलाइ भइरहेका बेला अबको तीन दिनभित्रै देशका ७ वटा विश्वविद्यालयका उपकुलपति पनि खाली हुँदैछन्, जहाँ दुई पार्टीवीच दह्रै भागवण्डा हुने देखिन्छ ।

Tribhuwan-Universityत्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा यसअघि भागबण्डाका आधारमा कांग्रेस, एमाले, एमाओवादी र मधेसवादीले उपकुलपति, रजिष्ट्रार र रेक्टर नियुक्त गरेका थिए ।

यसपटक कांग्रेसको हातमा प्रधानमन्त्री र शिक्षामन्त्री भएका कारण त्रिभुवन विश्वविद्यालयसहित अधिकांशमा आफ्नै मान्छे भर्ती गर्ने तयारी कांग्रेसले गरिसकेको छ ।

कांग्रेसका शिक्षा विभाग प्रमुख चन्द्र भण्डारीले त्रिविसहित केही विश्वविद्यालय पदाधिकारीको नाम शिक्षामन्त्री चित्रलेखा यादव र प्रधानमन्त्री कोइरालालाई बुझाइसकेका छन् ।

सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि कांग्रेसबाट तीर्थ खनिया, गुणनीति न्यौपाने र बासुदेव घिमिरेको नाम सिफारिस भएको छ ।

कांग्रेसले लगातार तीन कार्यकाल त्रिवि उपकुलपति नपाएकाले यसपटक कुनै पनि हालतमा नछाड्ने निर्णय गरिसकेको छ । यद्यपि एमालेबाट पनि उपकुलपतिका लागि डा.उपेन्द्र कोइराला र महेश दाहालको नाम सिफारिस भएको छ ।

साउन २२ गते सबै विश्वविद्यालयका पदाधिकारी रिक्त हुँदैछन् । त्रिविका रेक्टर र रजिष्ट्रार भने दुई महिनापछि रिक्त हुँदैछन् ।

राजदूतमा पनि उस्तै
एमालेको नेतृत्वमा रहेको परराष्ट्र मन्त्रालय अन्तर्गत ८ मुलुकमा राजदूत खाली छन् । ६ कर्मचारी र भागबण्डाबाट अमेरिका तथा बेलायतमा राजदूत नियुक्त भए पनि अरु ठाउँमा भागबण्डा नमिलेकै कारण वर्षौंदेखि राजदूत खाली छन् ।
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे जहिले सोध्दा पनि अब एक साताभित्र राजदूत नियुक्ति गरिन्छ भन्छन् । तर, भागबण्डा नमिलेकै कारण राजदूत नियुक्ति रोकिएको स्रोतले जनाएको छ ।

एमाले आफ्नो मन्त्रालय भएका कारण आफूले बढी राजदूत पाउनुपर्ने पक्षमा छ भने कांग्रेस यसअघि आफ्ना राजदूत अरु देशमा नभएको र सरकारको नेतृत्व गरेका कारण आफ्ना बढी हुनुपर्ने पक्षमा छ ।

भागबण्डा नमिलेकै कारण सरकार गठन भएको डेढ वर्ष बितिसक्दा पनि जर्मनी, श्रीलंका, ओमान, बहराइन, बेलायत, इजिप्ट, कतार, ब्राजिल लगायतका देशमा राजदूत खाली छन् ।

प्रधानसेनापति राणा घर जाँदै
gaurav-samsher-ranaनेपाली सेनाका प्रधानसेनापति गौरव शमसेर जबराको पदावधि पनि आगामी भदौ तेस्रो साता सकिँदैछ । सैनिक परम्पराअनुसार राणा सम्भवतः साउन २३ देखि नै घर विदामा बस्नेछन् ।

सेनामा आफ्नै प्रणाली भएकाले त्यहाँ चलखेलको सम्भावना कम हुन्छ । राणापछि प्रधानसेनापतिको लाइनमा रथी राजेन्द्र क्षेत्री बसिसकेका छन् ।

राणा विदामा बसेलगत्तै क्षेत्रीले कामु भएर जंगी अड्डा सञ्चालन गर्नेछन् । उनको अवकाशपछि सरकारले क्षेत्रीलाई प्रधानसेनापतिमा नियुक्त गर्नेछ ।

सचिवहरु पनि खाली हुँदै
निजामति सेवाका विशिष्ठ श्रेणीका करीव आधा दर्जन सचिव पनि यही महिनाको अन्तिममा अवकाश हुँदैछन् । दलहरुवीच सचिव बढुवामा समेत भागबण्डा हुने गरेको छ ।

मुख्य सचिव लीलामणि पौडेलको अवकाशसँगै उनका ठाउँमा एकजना सचिव बढुवा हुनासाथ एक सचिव थप रिक्त हुनेछन् ।

यसअघि नै श्रम सचिव भोला सिवाकोटी र शान्ति तथा पुननिर्माण मन्त्रालयका सचिव खुमराज पुन्जालीले अवकाश पाइसकेका छन् ।

मंगलवारबाटै भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौलाले पनि अवकाश पाएका छन् ।

आफ्नै हात जगन्नाथ
पछिल्लो समय सञ्चार मन्त्रालयमा कांग्रेसले एकलौटी नियुक्तिहरु गरिरहेको छ भने खेलकुद मन्त्रालयमा एमालेले एकलौटी नियुक्ति गरिरहेको छ ।

Minendra-Purusotamसञ्चारमन्त्री मिनेन्द्र रिजालले न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा कांग्रेसी पत्रकार पोषण केसीलाई नियुक्ति गरेका छन् । यसअघि सदस्यमा कांग्रेस कार्यकर्ता रामप्रसाद दाहाललाई सञ्चारगृह मालिकको कोटामा मन्त्री रिजालले नियुक्त गरेका थिए ।

सञ्चार माध्यम सञ्चालकको कोटामा परेका दाहाल कुनै पनि सञ्चार माध्यमका सञ्चालक होइनन्, इमेज टेलिभिजनका कर्मचारी हुन् । जुन दलको सरकार आउँछ, उसले न्युनतम पारिश्रमिक निर्धारण समितिमा आफ्ना मान्छे नियुक्त गर्ने प्रचलन रहेको छ ।

त्यस्तै हालै मन्त्री रिजालले चलचित्र विकास बोर्डमा राजकुमार राईको नियुक्ति गरिसकेका छन् ।

खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषदमा एमालेका केशव विष्ट नियुक्त भइसकेका छन् भने अहिले धमाधम क्षेत्र र जिल्ला खेलकुद विकास समितिहरुमा एमालेको माधव नेपाल गुटका कार्यकर्ताहरु नियुक्त भइरहेका छन् ।

सुकुम्बासी आयोगमा एमालेले यसअघि नै देशव्यापी नियुक्ति गरिसकेको छ । सर्वोच्च अदालतको अादेशपछि अायोग निश्क्रिय छ ।

त्यस्तै स्थानीय विकास, शहरी विकास लगायतका कांग्रेस नेतृत्वका मन्त्रालयमा कांग्रेसले एकलौटी नियुक्ति गरिरहेको छ भने उद्योग, स्वास्थ्यलगायत एमाले नेतृत्वका मन्त्रालयमा एमालेले त्यस्तै गरिरहेको छ ।

भागबण्डा कसरी मिलाउने ?
सत्ता साझेदार दलसँग छलफल गरेरै पदाधिकारी नियुक्त गरिने कांग्रेस नेता आनन्द ढुंगानाले बताए । ढुंगानाले प्रधानमन्त्रीले कतिपय ठाउँमा स्वविवेक प्रयोग गर्न पाउनुपर्ने वेष्ट मिनिष्टर मोडलको सिद्धान्त सबैले बुझ्नुपर्ने तर्क गरे ।

एमाले उपमहासचिव विष्णु पौडेलले कांग्रेसले अरु सत्ता साझेदारनै छैनन् जस्तो गरेर एकलौटी चलाउन खोज्दा समस्या आएको बताए ।

पौडेलले भने-‘एमाले कांग्रेसको सहयोगी होइन, बराबरीको हिस्सेदार हो,त्यही ढंगले डिल भएन भने समस्या हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment