Comments Add Comment

खेलकुदको नियुक्तिले एमाले कार्यालयमा तालाबन्दी

१९ साउन, रामेछाप । पार्टीको सिफारिस लत्याउँदै खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गुटका कार्यकर्ता नियुक्त गरेको भन्दै एमाले कार्यकर्ताले रामेछाप जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष लगायत पदाधिकारीमा गरिएको मनोनयनप्रति अशन्तुष्टि जनाउदै असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

एमाले निकट खेलकुद महासंघका जिल्ला अध्यक्ष तथा पार्टीका खेलकुद विभाग प्रमुख भीमबहादुर तामाङको नेतृत्वमा गएका कार्यकर्ताले पार्टी कार्यालयमा सोमवार साँझ ताला लगाएका थिए ।

एमाले जिल्ला कमिटी र जिल्ला खेलकुद महासंघले जिल्ला खेलकुद विकास समितिको अध्यक्षतामा भिमवहादुर तामाङको नाम सिफारिस गरेका थिए । तर परिषदबाट पुरुषोत्तम कडेरियालाई नियुक्तिपत्र दिइएपछि विवाद भएको युवा संघका नेता सोनु रोक्काले बताए ।

जिल्ला पार्टीले सिफारिसनै नगरेका कडेरियाले केन्द्रबाट शक्ति लगाएर नियुक्ति लिएको आरोप तामाङको छ ।

खेलकुद मन्त्री र सदस्य सचिव माधव नेपाल गुटका हुन् । रामेछाप जिल्ला अध्यक्ष शान्ति पौडेल पनि नेपाल गुटकै हुन् ।

तर जिल्लाको सिफारिस विपरित कडेरियालाई नियुक्ति दिइएपछि जिल्ला अध्यक्ष पौडेल, उपाध्यक्ष प्रेम तामाङ सहितका नेताहरुले परिषदमै गएर आपत्ति जनाएका थिए ।

निर्णय नसच्चिएससम्म पार्टी कार्यालयको ताला नखोल्ने र कडेरियाले नियुक्तिपत्र लिएर जिल्ला आएमा च्यातिदिने धम्की असन्तुष्टहरुले दिएका छन् ।

एमाले जिल्ला सचिव आनन्द श्रेष्ठले असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरेको पुष्टि गर्दै जिल्ला कमिटीको सिफारिस कार्यान्वयन नहुँदा यस्तो अवस्था आएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment