Comments Add Comment

गणतन्त्रका दलित : राजधानीमा कुटिए, सिरहामा इज्जत लुटिए !

१९ साउन, काठमाडौं । काठमाडौंमा दलित अधिकारकर्मीहरुलाई कांग्रेस/एमालेको सरकारले निर्मम पिटेको छ भने सिरहामा चाँहि हिन्दु धर्म र संस्कारका नाममा एउटा डोम परिवारमाथि १८ औं शताब्दीको मध्ययुगीन व्यवहार गरिएको छ । विद्यालयका प्रधानाध्यापकसमेत दलितले छोएको पानी खानुहुँदैन भन्ने पक्षमा उभिएका छन् ।

Daljit Shripaili

सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारबाट करिब ४७ उत्तरपूर्वमा पर्छ धनगढी गाविस । यसै गाविसको वडा नं. ३ मा पर्ने नैनपुर गाउँले अहिले देशका कैयन गाउँहरुको प्रतिनिधित्व गरिरहेको छ, जहाँ दलितहरुलाई इनार छुन दिँइदैन ।

नयनपुर गाउँमा करिब दुई सयवटा घर छन्, जसमा पहाडी र मधेसी मूलका नागरिकको छ्यासमिस बसोबास छ । पहाडीमा बाहुन, क्षेत्री र मगर तथा मधेसीमा तेली साह, महतो कोइरी, गुहार यादव तथा मुसहरहरु बस्छन् ।

सिंगो गाउँमा एउटा डोम परिवार छ, पुलकित मलिकको । परिवारमा पुलकितकी श्रीमती, छोराबुहारी र केटाकेटी बस्छन् ।  गाउँमा ४ वटा इनार छन्, जसमा एउटा सार्वजनिक हो भने अन्य व्यक्तिगतरुपमा खनिएका हुन् । ती इनारमा पानी भर्न डोम परिवारलाई बन्देज छ । इनारबाट अरुले झिकेर दिए मात्रै पानी खान पाउँछन् उनीहरु ।

नियमित पानी झिकिदिए वापत आफूहरुले बुनेका नाङ्लो, पंखा, ढाकीलगायतका सामग्री उनीहरुलाई दिनुपर्ने डोम परिवार बताउँछन् ।
मुसहर परिवारलाई भने अलि खुकुलो छ । उनीहरु इनारमा अरु नभएका बेला पानी झिक्न पाउँछन् । रोचक के छ, भने मुसहरहरु पनि डोम परिवारलाई इनार छुन दिनुहुँदैन भन्ने पक्षमा छन् ।

सरकारी टोलीलाई पनि खेदियो

डोम परिवारले पानीका लागि भोग्नुपरेको समस्यालाई लिएर छिमेकी गाउँका दलित अगुवाहरुले राष्ट्रिय दलित आयोगमा उजुरी गरेका थिए । त्यसपछि बैशाख ४ गते आयोगका अध्यक्ष मानबहादुर नेपालीको नेतृत्वमा प्रधानमन्त्रीको सचिवालयसहितको एक टोली गाउँमा आएको थियो ।

डोम परिवारलाई इनारमा पानी झिक्ने वातावरण बनाउन काठमाडौंबाट दलबलसहित गएको टोली भागाभाग गर्दै र्फकन बाध्य भएको थियो ।
वडा नम्बर ५ मा बस्ने दलित अगुवा प्रेम राम (चमार) सो घटनाका प्रत्यक्षदर्शी थिए । उनी भन्छन्, ‘सरकारी टोलीले डोम परिवारलाई लिएर इनार छुवाउन जाँदा गाउँभरिका महिलाहरुले बाटो छेके ।

उनीहरुले आयोग अध्यक्षकै सामुन्नेमा डोम महिलालाई कुटपिटसमेत गरे । प्रहरीले बल प्रयोग गर्न खोज्दा सारा महिलाहरु उल्टेर प्रहरीको भ्यान अगाडि उभिएर बिरोध गरे । ठूलै लफडा हुने देखेपछि आयोगको प्रतिनिधिमण्डल र प्रहरी टोली भाग्यो ।’

आयोगका अध्यक्षले आफूहरुसित यो प्रकरण जिल्लाका सीडीओलाई सुनाइदिने वचन दिएको प्रेमले बताए । ‘तर त्योभन्दा पछि एकपल्ट पनि कसैले सम्पर्क गरेन,’ उनी भन्छन् । सो घटनापछि स्थानीय व्यक्तिहरुले आफूलाई तारो बनाइरहेको उनको भनाइ छ ।

बीबीसी र राजेश हमालको प्रयास

गत शनिबार बीबीसी मिडिया एक्सनको साप्ताहिक कार्यक्रम साझा सवालको टोलीले नायक हमाललाई सो गाउँमा पुर्‍यायो । स्थानीय स्तरमा कार्यक्रमको समन्वय गरेका युवा प्रेम भन्छन्, ‘मैले बीबीसीका सरहरुलाई सुरक्षा निकायलाई जानकारी गराउनुपर्छ कि भनेर सोध्दा उहाँहरुले पर्दैन भन्नुभो ।’

हमालका साथमा दीपकलाई इनारमा लैजान खोजियो । बीबीसीले दलितलाई इनार छुन नदिइएको र अरुले पानी हालिदिएको दृश्य खिच्न चाहेको थियो । तर, सारा गाउँले उल्टेर अवरोध गरे । अवरोध गर्ने अग्रमोर्चामा महिला नै थिए ।

बीबीसीको निम्तोमा नैनपुर पुगेका राजेश हमालले काठमाडौं फर्केर एक लाइनको स्टाटस लेखे, ‘पहिलोपटक नेपाली भएकोमा लज्जावोध भयो ।’

गैरदलित गाउँवासी के भन्छन् ?

नैनपुर सामाजिक-आर्थिकरुपमा धेरै पिछडिएको गाउँ होइन । गाउँमा एउटा प्राथमिक विद्यालय छ । बिद्यालयमा प्रधानाध्यापक, तीन शिक्षक र एक शिक्षिका छन् । पढेलेखेका भनिएका विद्यालयका शिक्षक-शिक्षिकाहरु पनि गाउँवासीकै समर्थनमा छन् ।

प्रधानाध्यापक कृष्ण कार्कीले इनार छुन नदिनेहरुको बचाऊ गर्दै टेलिफोनमा भने- ‘गाउँमा हिन्दूधर्मप्रति आस्थावान बुढापाकाहरु हुनुहुन्छ, आफ्नै छोराछोरीले पकाएको नखाने पनि हुनुहुन्छ । उहाँहरुलाई सम्झाउन गाह्रो छ ।’ एक दिन कुनै हिरोलाई ल्याएर इनार छुवाउँदैमा समस्या समाधान नहुने उनको तर्क छ ।

धेरै युवाहरु काठमाडौं र विदेशमा पनि छन् । पढेका युवाहरु प्रशस्त छन् गाउँमा । उनीहरु छुवाछुतमा खासै विश्वास राख्दैनन् । यद्यपि बुढापाका र गृहिणीहरु भने छुवाछुतमा कट्टर छन् । स्थानीय टेकराज कार्की भन्छन्, ‘हामीलाई त्यति मतलब लाग्दैन, बाहिरफेर हिँड्दा अछुत जातिसित बसेर पनि खाइएको छ । तर, बुबाआमालाई मनाउन सक्ने अवस्था छैन ।’

दलितलाई छुट्टै इनारको तर्क

समस्या समाधानका लागि भन्दै डोम परिवारका लागि छुट्टै इनारको व्यवस्था गरिदिनुपर्ने केही गैर दलितले बताएका छन् । ‘यत्रो तामझाम गरेर राजेश हमाललाई यहाँसम्म ल्याउने खर्चले बरु एउटा इनार खनिदिएको भए हुन्थ्यो नि,’ दलितले साझा इनार प्रयोग गर्न नमिल्ने कुतर्क गर्दै कार्कीले भने ।

डोम परिवारको झनै बिचल्ली

शनिबारको घटनापछि डोम परिवारलाई राहत मिल्नुको साटो उनीहरु झन् विचल्लीमा परेका छन् । पहिले पानी भरिदिँदै आएकाहरुले अहिले उल्टै लखेट्न थालेको उनीहरुको गुनासो छ ।

इनारमा पानी भर्न नपाएपछि उनीहरु डेढ घन्टाको दुरीमा रहेको एउटा ईट्टाभट्टाबाट पानी ओसार्न बाध्य भएको प्रेमले बताए । उनीहरुमाथि सुरक्षा खतरा पनि बढेको छ । आइतबार राति मुसहर समुदायका केही महिलाहरु आएर दलित सासू-बुहारीमाथि हातपात र दुब्र्यवहार गरेका थिए ।

माथिल्लो जातका भनिने महिलाहरुले ‘हामीले छोयो भने कुल देवता रिसाउँछन्’ भन्दै मुसहर महिलाहरुलाई उक्साएका थिए ।
सो घटनाबारे उजुरी परेपछि सोमबार घटनास्थलमा पुगेका प्रहरी अधिकारीले ‘समाज बसेर समस्या समाधान गर्न’ सुझाव दिएको एक स्थानीयवासीले बताए ।

हेडसर भन्छन्- हामी डुमले छोएको पानी खादैनौं

जातीय विभेद र छुवाछुत गैरकानूनी हो भनेर पढाउनुपर्ने स्थानीय प्राविका प्रधानाध्यापक कृष्ण कार्की आफैं सगर्व भन्छन्- ‘हामी डुमले छोएको पानी खाँदैनौं ।’

प्रधानाध्यापक कार्कीले इनारमा पानी दिएवापत डोमहरुले डालो नाङ्लो आदि ठूला जातकालाई प्रदान गर्नु जायज भएको तर्क गरे । अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा प्रधानाध्यापक कार्कीले यसो भने-

हामी डुमले छोएको पानी खादैनौं । परम्परादेखि नै यस्तै चलीआएको छ । मैले व्यक्तिगत रुपमा छुवाछुत माने पनि, नमाने पनि गाउँको परिवेशमा डुमले छोएको पानी चल्दैन । मुसहर, चमार लगायत अन्य दलितहरु पनि उनीहरुलाई इनार छुन दिनुहुँदैन भन्ने पक्षमा छन् । राजेश हमालले पनि डोमको घरमा चिया बिस्कुट दिँदा चिया खानुभएन भन्ने सुनेका छौं ।

डुमको परिवारले पानी खानै नपाएको भन्ने होइन । इनारमा उनीहरुलाई दैनिक अरुले पानी भरिदिन्छन् । नियमित पानी भरिदिए वापत कहिलेकाँही उनीहरुले बुनेका ढाकी नाङ्लोहरु दिन्छन् । तर, दिनैपर्छ भन्ने नियम होइन ।

उनीहरुले निशुल्क पानी खान पाउनुपर्छ । सरकारले कुनै फन्डबाट उनीहरुका लागि अलग्गै पानीको व्यवस्था गरे राम्रो हुन्थ्यो भन्ने गाउँवासीको विचार छ । एकदिन एउटा नेतालाई ल्याएर छुवाउनुहुन्छ, अर्को दिन एउटा हिरोलाई ल्याएर छुवाउनुहुन्छ । अनि बाँकी दिन के गर्ने त ? त्यसैले यसरी समस्याको समाधान हुँदैन ।

स्थानीय प्रशासन र गाउँलेहरु बसेर सामुहिक छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ । मैले गाउँवासीलाई के भन्ने गरेको छु भने, ठीक छ, डुमले भरेका बेला हामी नभरौं । तर, बुढापाकाहरुले यो कुरा पनि मान्नुहुन्न ।

‘हिन्दूहरु डोमले छोएको खाँदैनन्’

त्यसैगरी अर्का स्थानीयवासी टेकराज कार्कीले डोममाथि विभेद गरिनुलाई हिन्दुधर्मको संज्ञा दिने प्रयास गरे । उनले अनलाइनखबरसँग यसो भने-

यस गाउँमा धार्मिक प्रवृत्तिका मानिसहरु धेरै हुनुहुन्छ । हिन्दूधर्मप्रति आस्थावान मानिसहरु पहिलेदेखि नै डोमले छोएको खानुहुन्न । उहाँहरु पुरानो चेतनामा हुर्किनुभएकाले रातारात परिवर्तन आउने अवस्था छैन । सम्झाउन खोज्दा ‘हामी बाँचुञ्जेल डुमले छोएको खादैनौं, हामी मरेपछि छोराछोरीले जे गर्छन् गर्छन्, भन्ने जवाफ दिनुहुन्छ ।’ 

हामी युवाहरुचाहिँ त्यस्तो कट्टर छैनौं । बाहिरफेर जाँदा दलितहरुसँगै बसेर पनि खाइन्छ । तर, घरमा त्यस्तो चल्दैन । यहाँ अहिले सुख्खा लागेकाले मोटर लगाएर पानी चलाउनुपर्छ । मोटर चलाउँदा उठ्ने बिजुलीको बिल तिर्न सबैसित पैसा उठाउने गरिएको छ । डोमहरुले पैसाको सट्टामा आफूले बुनेका सामग्रीहरु दिन्छन् । उनीहरुले पानी खानै नपाएको भन्ने होइन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment