Comments Add Comment

प्रहरी भन्छ- सभासदले प्रहरीलाई कुटेको फुटेज छ

१९ साउन, काठमाडौं । बबरमहलमा दलित अधिकारकर्मीको जुलुसमाथि भएको प्रहरी हस्तक्षेपबारे नेपाल प्रहरीले औपचारिकरुपमा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । तर, अनलाइनखबरलेे सोधेको एक प्रश्नमा नेपाल प्रहरीका एक उच्च अधिकारीले भने- ‘सभासदजस्तो मान्छेले प्रहरीमाथि हातपात गरेको हामीसँग फुटेज छ, आवश्यक परे पत्रकार सम्मेलन गर्न तयार छौं ।’

Nepal Policeबबरमहलस्थित पुलमा बाटो अवरुद्ध गरेर प्रदर्शनकारीहरुले प्रहरीमाथि हातपात गरेको ती अधिकारीले आरोप लगाए । ‘बानेश्वर वृत्तका डीएसपी दानबहादुर कार्कीसहित हाम्रा १० प्रहरी घाइते भएका छन्, उनीहरुले आक्रमण नगरेको भए प्रहरी घाइते हुन्थे ?’

अवरुद्ध गरिएको बाटो खुलाउन लाग्दा प्रहरीमाथि सभासदले समेत ढुंगा प्रहार गरेपछि झडप भएको प्रहरीको दाबी छ ।

सोमबार खुमबहादुर खड्का नेतृत्वको जुलुसमा घम्साघम्सी परे पनि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा नहानेका कारण झडप नभएको ती अधिकारीले बताए । ‘उनीहरुले निशेधित क्षेत्र तोडेनन्, प्रहरीमाथि हातपात गरेनन्, ती प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, मंगलबार सभासदजस्तो मान्छेले प्रहरीमाथि आक्रमण गरेको प्रमाण हामीसँग छ, हामीले त्यहाँ सुरक्षा नदिएको भए दर्जनौं सवारी साधनमाथि तोडफोड हुन सक्थ्यो । हामीमाथि आक्रमण भएपछि भीडलाई तितर वितर पार्दा हाम्रो तर्फबाट पनि केही बल प्रयोग हुनु स्वाभाविकै हो ।’

प्रहरीले आफूसँग फुटेज सुरक्षित रहेको र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए पनि दलित अधिकारकर्मीहरुले चाँहि शान्तिपूर्ण जुलुसमाथि प्रहरीले बर्बर दमन गरेको आरोप लगाएका छन् ।

बबरमहल घटनाका सम्बन्धमा सत्तापक्षकै सभासदहरुले व्यवस्थापिका संसदमा प्रहरीको चर्को विरोध गरेका छन् । गृहमन्त्रीले यसबारे माफी माग्नुपर्ने सभासदहरुले माग गरेका छन् ।

बबरमहल घटनाबारे सरकारका तर्फबाट बुधबार गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदमा स्पष्टीकरण दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment