Comments Add Comment

प्यूठान मध्यपहाडी लोकमार्गसँग जोडियो

२० साउन, प्यूठान । सरकारको सडक योजनाअन्तर्गत पहिलो प्राथमिकतामा राखेको प्यूठान–बागलुङ सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ ।

सडक ट्र्याक खोल्ने कार्य सम्पन्न भएपछि यस आर्थिक वर्षमा सडकको चौडा पार्ने र पर्खाल तथा जाली लगाउने काम हुने सडक डिभिजन कार्यालय जस्पुरले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा तीन करोडसम्म काम गर्न सक्ने गरी बहुवर्षीय योजनामा समावेश भएको सडकको झन्डै रु ७० लाख लागतमा ट्र्याक खोल्ने कार्य सकिएको डिभिजन प्रमुख घनश्याम गौतमले बताए ।

‘सडक विभागले कामको आधारमा बजेट थप गर्ने गरी बजेटको व्यवस्था गरेको थियो’, डिभिजन प्रमुख गौतमले भने, ‘ढिलो कामको सुरु हुँदा सडकको ट्र्याक खोल्नेबाहेक अन्य कार्य भएको छैन । असार मसान्तसम्ममा सडक जोड्ने लक्ष्य राखेकामा ढिलो गरी भए पनि सडकको निर्माण कार्य पूरा भएको छ ।’

सडक डिभिजन कार्यालय प्यूठानमा प्यूठान–बागदुला–ठूलाबेसी–भीमगिठे–बागलुङ–मुक्तिनाथ सडकका लागि भन्दै पछिल्लो एक वर्षमा १४ लाख रूपैयाँ बजेटको अख्तियारी आएको थियो । तर सरकारले सडकको कार्यप्रगतिका आधारमा खर्च गर्नसक्ने गरी तीन करोडसम्मको काम गर्न अनुमति दिँदै बहुवर्षीय योजनामा समावेश गरेपछि सडक निर्माणमा सहज भएको डिभिजन कार्यालयले जनाएको छ ।

दाङको कोइलाबासबाट भारत तथा दाङबाट प्यूठान हुँदै बागलुङ–भीमगिठे–म्याग्दी, मुस्ताङ हुँदै चीन जोड्ने त्रिदेशीय सडकका रुपमा प्यूठान–बागलुङ सडकलाई विस्तार गर्न सकिने स्थानीय विकास अधिकारी शिवप्रसाद रेग्मीले बताए । ‘यो सडक त्रिदेशीय सडकका रुपमा प्रयोग गर्न सकिने छोटो र सहज सडक पनि हो,’ उनले भने, ‘प्यूठान–बागलुङ सडकले लुम्बिनी–स्वर्गद्वारी–गौमुखी–ढोरपाटन र मुक्तिनाथलाई एक अर्कामा जोड्ने छ ।’

अहिले प्यूठान र बागलुङको सिमाना आरुबारेसम्म विस्तार हुने गरी सालझन्डी–ढोरपाटन ६ लेनको मध्यपहाडी लोकमार्ग सडक निर्माण भइसकेको छ । सालझन्डी–ढोरपाटन मुख्य सडकमा प्यूठानको बागदुलाबाट गएको सडक जोडिएको सडक डिभिजन प्रमुख गौतमले जानकारी दिए ।

यो सँगै प्यूठान मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ । सडक निर्माणबाट राम्रो र जिल्लास्तरीय सडक सञ्जालमा नजोडिएको उत्तरी प्यूठानसँगै बागलुङको पछाडि परेको क्षेत्र दर्लिङ, बोहरागाउँ, राजकोट, देविस्थान लगायतका गाविस प्यूठान–बागलुङ मुख्य सडकमा जोडिने अर्खाका बासिन्दा रतिमान पुनले बताए ।

बहुवर्षीय आयोजनाका रुपमा रहेको सडकको तीन करोडको टेन्डर खोलेकामा ठेकेदारले भ्याटसहित एक करोड ३० लाखमा काम गर्ने गरी ठेक्का लिएका थिए । ठेकेदारले ट्र्याक खोल्ने कार्य सम्पन्न गरे पनि यस आर्थिक वर्षमा सडक फराकिलो बनाउने, पर्खाल उठाउने, घुम्ती मिलाउने र केही मर्मत गर्ने काम बाँकी रहेको डिभिजन प्रमुख घनश्याम गौतमले बताए ।

प्रत्यक्ष राष्ट्रिय बजेटबाहेक सडक डिभिजन कार्यालयमा यस वर्ष यस सडकलाई थप १० लाख रूपैयाँ आएको छ । त्यस्तै सरकारले बहुवर्षीय योजनाका रुपमा आवश्यकताअनुसारको बजेटको व्यवस्था गरी पाँच वर्ष भित्रमा चार ल्यान्डको सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले बताए ।

‘सरकारको सडक योजनाअन्तर्गत यो सडक पहिलो प्राथमिकतामा छ,’ उपाध्यक्ष पोख्रेलले भने, ‘सडकका लागि आवश्यक बजेट व्यवस्था गरी पाँच वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने बजेटको विनियोजन भएको छ ।’

यो सडक अहिले सुधार आयोजनामा समेत समावेश गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment