Comments Add Comment

ट्याक्सी चालकको भाषण : प्रधानमन्त्रीमा निवेदन खोल, हामी चलाउँछौं

Taxi-Aandolan

२० साउन, काठमाडौं । मीनभवन चोकमा तेस्र्याइएको मिनी ट्रकमाथि उभिएर मंगलबार दिउँसो २ बजे एक युवक उफ्री उफ्री भाषण गर्दै थिए । दर्शकदीर्घामा रहेका करिब एक सय व्यक्तिहरु ताली र सिटी फुक्दै उनलाई जोस्याइरहेका थिए ।
भाषण गर्ने व्यक्ति रहेछन् ट्याक्सी व्यवसायीहरुको एउटा संगठन ‘स्वस्तिक स्वरोजगार ट्याक्सी व्यवसायी संघ’का अध्यक्ष प्रकाश बस्नेत ।

सरकारले २० वर्ष पुराना ट्याक्सी विस्थापित गर्ने निर्णय गरेको विरोधमा जारी आन्दोलनको नेतृत्व गर्ने क्रममा संघले त्यस क्षेत्रमा सयौं ट्याक्सीहरु एकैठाउँ भेला पारेर प्रदर्शन गरेको थियो । अध्यक्ष बस्नेतले प्रदर्शनकारीको नेतृत्व गर्दै थिए ।

माओवादीका कार्यकर्तासमेत रहेका बस्नेतको भाषण कुनै नेता वा मन्त्रीको भन्दा कम थिएन । देश विदेशका उदाहरणसमेत दिँदै उनले सरकारलाई पटक-पटक धारे हात लगाए ।

taxi andolan (6)

ट्याक्सी व्यवसायीको ‘रमाइलो’ भाषणको केही अंशः
इतिहासका काला दिनहरुमा नेपाली जनताले धेरै ठूल्ठूला आन्दोलनको नेतृत्व गरे । राणा शासनदेखि ०१७ साल हुँदै ०६३ सालसम्म महान जनयुद्ध सुरु भयो । सबै आन्दोलनमा ट्याक्सी चालकको ऐतिहासिक र महत्वपूर्ण भूमिका थियो । जसले जनयुद्धमा बन्दूक उठाए, बन्दूक बोकेका सेनालाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याए, नेताहरुलाई भोट दिए ।

तर, आज सत्ताको नेतृत्वमा बस्ने केही साथीहरुले यस पेशालाई खरानी बनाउने प्रयास गरे । यही खरानीको अस्तुबाट निस्केर हामीले प्रतिरोध आन्दोलनको नेतृत्व गरेका छौं । र तपाईंहरु आज यो आमसभामा उपस्थित हुनुभएको छ ।

सरकारले ३ महिना ३ गते गलत निर्णय गर्‍यो । हामीले ४ गते थाहा पायौं । त्यसपछि विभिन्न छलफल, भेला र संघर्षका कार्यक्रम बनाएर यहाँसम्म आयाैं । वार्ता टोलीका नाममा केही साथीहरु सरकारसित मिलेको भ्रामक सूचना आइरहेको छ । त्यसको घोर भण्डाफोर गर्न चाहन्छु । अब हामी ती दलालहरुले गरेको सम्झौतालाई डढाउन गइरहेका छौं । आन्दोलन परिचालन कमिटीका संयोजक राम थापाले यसलाई डढाउनु हुनेछ र तपाईंहरुले ताली बजाउनुहुने छ ।

taxi andolan (5)

(थापाले एउटा कागजको चिर्कटोमा लाइटर बाले अनि विजय भावमा हात हल्लाए । दर्शकदीर्घामा बसेका ट्याक्सी चालकहरुले ताली बजाउँदै सिठी फुके । बस्नेतले फेरि भाषणलाई निरन्तरता दिए ।)

यो संघलाई सरकारले वार्तामा बोलाएको थियो । वार्तामा जाँदा नजाँदै केही सहयोगी संगठनहरु खरिद भइसकेको हामीले पायौं । आफूलाई आन्दोलन समितिको संयोजक भन्ने राजेन्द्र शर्मा खरिद भइसकेका रहेछन् ।

नेपालका ट्याक्सीचालक हिजोका जस्ता मूर्ख छैनन् । ट्याक्सी चालकहरु पनि डिग्री होल्डर हुनुहुन्छ । विभिन्न संघर्षको नेतृत्व गरेर आउनुभएको छ । म सरकारलाई भन्छु, तिमी सत्ता चलाउन सक्दैनौ भने राजा ज्ञानेन्द्रले गरेजस्तै प्रधानमन्त्रीको कोटामा निवेदन खोल । हाम्रा चालक साथीहरुले निवेदन भरेर सरकार चलाएर देखाइदिन्छन् ।

कमरेड प्रचण्ड किन बोल्दैनन् ? तिमीले यिनै मजदुरको सहारामा १० वर्ष लड्यौ । हामीले भौतिक शरीरमा पसीना आउञ्जेल बैंक लुटेका पैसाहरु ब्रिफकेसमा राखेर तिमीलाई बुझायौं । आज मजदूर बिरोधी निर्णय हुँदा तिमी मौन भएर बसेका छौ ।

बेलायतमा ट्याक्सी चालकलाई यसैगरी अन्याय हुँदा एकपटक एयरपोर्टमा प्रदर्शन गरेका थिए । ट्याक्सी चालकको यस्तो प्रदर्शनले गर्दा विदेशबाट आएका प्रधानमन्त्री अर्कै एयरपोर्टमा अवतरण हुनुपरेको थियो । प्रधानमन्त्रीज्यू तपाईं पनि सचेत हुनुस् । निर्णय फिर्ता लिनुहुन्न भने बेलायतका ट्याक्सी चालकबाट नेपालका ट्याक्सी चालकले धेरै कुरा सिकिसकेका छन् । नत्र तपाईंले ठूलो मूल्य चुकाउनुपर्छ ।

सरकारका तर्फबाट नविन पोखरेल नाम गरेका एकजना कर्मचारीले वार्तामा बोलाउनुभयो । हामी वार्तामा गयौं । हाम्रा दुईटा माग थिए । एउटा कानूनसम्मत बा १ ज हुनुपर्छ, १० हजार ट्याक्सी नपुगिकन बा २ ज लेख्न पाइँदैन । माइक्रो बस, जीप, कार ‘बा १ ज’ मा छन् । ‘बा २ ज’ माइक्रोबसलाई बनाउ, ‘बा १ ज’ मा ट्याक्सी लेऊ ।

taxi andolan (3)

दोस्रो, ट्याक्सीको तथ्यांक सार्वजनिक हुनुपर्छ र सट्टपट्टाभन्दा अरु ट्याक्सी ल्याउनुहुन्न ।

तर, हाम्रा साथीहरु त्यहाँ (वार्तामा) पुगिसकेपछि राजेन्द्र शर्माले उल्टै हामीलाई कन्भिन्स गर्ने काम भो । गद्दारीपूर्ण तरिकाले हामीलाई कन्भिन्स गरे । हामीले राजेन्द्रलाई भन्यौं, ‘तिमी बढी नहोऊ, तिमीलाई यो गेटबाट बाहिर निस्किन मन छ कि छैन ? उनी भन्छन्, होइन, मिल्नुपर्छ, मिल्नुपर्छ । यता, नविन पोखरेल भन्नुहुन्छ तपाईंका स्वरोजगार कति छन् ? बरु मिलेर गरौं न । के हो मिल्ने भनेको ?

(भिडबाट कमिसन, कमिसन भन्ने आवाज आउँछ) ।
हामीले १० वर्ष जनयुद्ध लड्दा, पैसाका ब्रिफकेस बोक्दा मिल्नुपरेन । प्रचण्डलाई यहाँसम्म ल्याउँदा मिल्नुपरेन । आज किन मिल्नुपर्छ ? ट्याक्सी चलाएर परिवार पाल्न सक्छौं हामी । त्यसैले मिल्नु छैन । हामीले उहाँको प्रतिकार गर्‍यौं ।

वार्ताको क्रममा नविनसित ठेलामठेल भयो । राजेन्द्र शर्मालाई हाम्रो आन्दोलन परिचालन कमिटीका संयोजकले यसो (हात लम्काउँदै) गर्नुभाथ्यो आँखामा चोट लागेर भित्तामा लडे । सिंहदरबारभित्रै रक्तपात हुने सम्भावना बढ्यो ।

हामीले सोच्यौं, हामीजस्ता सिपाही मर्‍यौं भने, कस्टडीमा पर्‍यौं भने आन्दोलन फेरि बिष्फोट हुन्छ । त्यसैले हामी संयम भएर बाहिर आयौं । साथीहरुलाई सुनायौं । साथीहरु अचम्ममा पर्नुभो ।
taxi andolan (7)
हामीले सुनेका थियौं, लक्ष्मी बोलेपछि सरस्वती अल्मलिन्छन् । केही मिडियामा लक्ष्मी बोलेको देख्यौं । नेपाली जनताका मिडिया हुन् भने नेपाली श्रमिकको पक्षमा पो लेख्नुपर्छ । त्यसैले साथीहरु, तपाईंहरु मिडियाको भरमा नलाग्नुस् । तपाईंहरु हाम्रा पदाधिकारीहरुलाई विश्वास गर्ने कि मिडियालाई विश्वास गर्ने ?

यो ठाउँ संवेदनशील भएकाले हामीले इकाइ कमिटीका साथीहरुलाई मात्र बोलाएका थियौं । मैले अघि गन्न लगाउँदा ४ सय ५१ वटा गाडीहरु जम्मा भएका रहेछन् । हामीले भिड नै जम्मा गर्न खोजेको भए कति हुन्थे होलान् ?

तपाईंहरुले के बुझ्दिनुस् भने यदि यो पेशामा आगो लाग्छ भने मर्न तयार हुनुस् । हाम्रो आन्दोलन असफल बनाउन करोडौं पैसा फालिएको छ रोडमा ।

प्यासेन्जर आफैंले २ सयमा जाउलाखेल पुर्‍याइदे भन्यो भने हामी कारवाहीमा पर्छौं । कि प्यासेन्जर चढ्न पाउँदैन, कि कारवाहीमा पर्छौं । ट्राफिक प्रहरीले भन्छ, हामीलाई अख्तियारको प्रेसर छ । त्यो अख्तियार कुन दुलोमा लुकेको छ ? हिजो रातिसम्म त्यही गाडीको १३ लाख ८९ हजार थियो । आज ट्याक्सी ल्याउने निर्णय भएपछि एक रातमा एक लाख बढ्यो ।
taxi andolan (9)
यातायात सचिव सिटौला हिजो आफ्नो जागिर सकिएर रिटायर्ड हुनुभएको छ । म भन्छु, अब तुलसी सिटौलाले शान्तिसँग बाँच्न सक्ने हो वा होइन ? हामी आज कार्यक्रम घोषणा गर्दैनौं । आन्दोलन भनेको अराजकहरुको भीडबाट राज गर्ने एउटा शक्ति हो । त्यसैले भोलिको कार्यक्रम केही घोषणा गर्दैनौं । हाम्रा पदाधिकारीहरु माझ मोबाइलको माध्यमबाट घोषणा गर्छौं । तपाईंको ट्याक्सी १० दिन होल्ड गर्ने आन्दोलन गरौं भने तयार हुनुहुन्छ ? हामी कसैको पुत्ला दहन गरेर छोड्दैनौं, परिआयो भने ढाड र गर्धन भाँच्न तयार हुनुपर्छ ।

हामी यस्तो आन्दोलन घोषणा गर्दैछौं सरकारले ठूलो मूल्य चुकाउनुपर्छ वा बमवारी गर्नुपर्छ । ५ सय जना जनमुक्ति सेना ट्याक्सी चालक भएका छन् । बाध्य भएर हाम्रो ट्याक्सीको स्टेयरिङलाई बन्दुक, र टायरलाई बम बनाउन नपरोस् ।

हामीलाई वार्तामा बोलाउनु जरुरी छैन । परामर्शदाताहरुसित छलफल गरेर सट्टापटा बाहेक ट्याक्सी आउँदैन र ‘बा १ ज’ नै नम्बर हुन्छ भनेर गोरखापत्रमा सार्वजनिक गरोस् हाम्रो आन्दोलन भोलिबाट सकिन्छ ।

यातायातमा डीजी भएर आउनुभएका काशीराजले पार्किङको व्यवस्थापनका लागि धेरै काम अघि बढाउनभएको थियो । उहाँले प्राइभेट सवारीले टिप गरिरहेको अवस्थामा ८२ वटा प्राइभेट गाडीलाई कारवाही गर्नुभएको थियो । राति पेट्रोलपम्प खोल्न सरकारका पेट्रोलपम्पमा पहल गर्नुभएको थियो । सामान्य मजदुर पुग्दा पनि भेट दिनुहुन्थ्यो । उहाँलाई षडयन्त्रपूर्वक तरिकाले यही ट्याक्सीको इस्यू बनाएर सरुवा गरियो ।

उहाँको ठाउँमा कर्मचारीमध्येकै सबैभन्दा तानाशाह कर्मचारी छानेर बुर्लाकोटीलाई ल्याइयो । तानाशाह हिटलरको मृत्यु कसरी भएको थियो ? बुर्लाकोटीले सम्झिनुपर्छ ।

सुत्केरी महिलादेखि जड्याहासम्मलाई गन्तव्यमा पुर्‍याउने दायित्व हाम्रो छ । हामी आफ्नो पेशालाई बदनाम हुन दिँदैनौं । बरु ज्यान दिन्छौं, हाम्रो पेशालाई बदनाम हुन दिँदैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment