Comments Add Comment

मुख्यसचिव सोमलाल यसरी बने कांग्रेस एमालेको साझा

somlal subedi

२० साउन, काठमाडौं । निजामति प्रशासनको सबैभन्दा तल्लो तह खरिदारबाट जागिर शुरु गरेका डा.सोमलाल सुवेदी निजामति प्रशासनकै सबैभन्दा माथिल्लो तह मुख्य सचिव बन्न सफल भएका छन् ।

आजभन्दा ३२ वर्षअघि खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका सुवेदीले शाखा अधिकृत, उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाटै नाम निकालेर ०६७ चैतमा उनी सचिवमा बढुवा भएका हुन् ।

उनीसँगै एकै दिन बढुवा भएका श्रीधर गौतम र जयमुकुन्द खनालमात्र होइन, दोस्रो ब्याचका सचिव विश्वप्रकाश पण्डितलाई समेत पछि पार्दै सोमलाल बुधबारदेखि तीन वर्षका लागि मुख्य सचिव बनेका छन् ।

सुवेदीले अधिकांश समय अर्थ र स्थानीय विकास मन्त्रालयमा बिताए । उनले स्थानीय विकास र विकेन्द्रीकरण सन्दर्भमा विद्याबारिधिसमेत गरेका छन् । अनलाइनखबरसँगको कुराकानीमा सुवेदीले मुलुक संघीय प्रणालीमा गइरहेका बेला आफ्नो विज्ञता प्रयोग गर्ने बताएका छन् ।

कांग्रेस र एमालेका साझा
कांग्रेस र एमाले दुबैतिर राम्रो सम्बन्ध बनाउन सकेकै कारण सुवेदी मुख्य सचिव बनेका हुन् । सुवेदी माओवादीसँग पनि राम्रो सम्बन्ध भएका व्यक्ति हुन् ।

कांग्रेसले विश्वप्रकाश पण्डितलाई मुख्य सचिव बनाउन खोजे पनि एमालेले ठाडै अस्वीकार गरेको थियो । प्रधानमन्त्रीका प्रशासनिक मामिला सल्लाहकार बाबुराम आचार्य र मुख्य सचिव लीलामणि पौडेलले समेत एक ब्याच मुनिका सचिवलाई मुख्य सचिव बनाउँदा प्रशासनतन्त्र धराशायी हुने चेतावनी दिएपछि प्रधानमन्त्री पछि हटे, जसले गर्दा सोमलालको भाग खोसिएन ।

पण्डितको नामबाट प्रधानमन्त्री पछि हटेपछि एमालेको चित्त बुझ्ने हिसाबले सुवेदीको नाम अघि सारियो । एमालेका लागि सुवेदी र जयमुकुन्द खनाल जो भए पनि आपत्ति थिएन ।

खनाल कांग्रेस पृष्ठभूमिका भए पनि पछिल्लो समय एमालेसँग नजिक छन् । सुवेदी लामो समयसम्म एमाले निकट प्रशासककै रुपमा चिनिएका व्यक्ति हुन् । उनलाई सचिव बनाउने बेला पनि एमालेका राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र स्वर्गीय रामनाथ ढकाल लगायतले लबिङ गरेका थिए ।

फाइल तस्वीर
फाइल तस्वीर

सचिव भएपछि पछिल्लो समय उनको हिमचिम कांग्रेससँग बढेको थियो । त्यही भएरै उनी कांग्रेसको सरकार आउनासाथ विज्ञान प्रबिधि मन्त्रालयबाट एकैचोटि स्थानीय विकासमा सरुवा भएका थिए ।

प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यको नातेदार हुनु पनि उनका लागि फाइदाजनक भयो । त्यो ‘कनेक्सन’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलसम्म पनि पुग्यो ।

आचार्य रामचन्द्र पौडेलका नातेदार भएकाले रामचन्द्रको जोड पनि सोमलाललाई नै मुख्य सचिव बनाउनुपर्छ भन्नेमै रहेको स्रोत बताउँछ ।

चुनौतीपूर्ण जिम्मेवारी
मुख्य सचिवका रुपमा तीन वर्ष सुवेदीका लागि चुनौतिपूर्ण छन् । मुलुक यहीबेला संघीय प्रदेशहरुको बिभाजनमा जाँदैछ । स्थानीय तह, प्रदेश तह र केन्द्रको प्रशासनिक संरचना कस्तो बनाउने भन्नेमा उनको भूमिकामा आवश्यक छ ।

हक्की स्वभावका सुवेदी प्रशासन संयन्त्रमा आफ्नो कतिपय बानीका कारण घमण्डी सचिवका रुपमा पनि चिनिन्छन् । जसका कारण उनी बिगतमा कतिपय मन्त्रीसँग मिल्न नसकेर सरुवामा पर्थे ।

कतिपय उनका बानी लीलामणि पौडेलसँग पनि मिल्छन् । तर, पौडेलसँग जस्तो समन्वयकारी भूमिका उनमा छ कि छैन भन्नेचाहिँ उनका आगामी कामहरुले देखाउनेछन् ।

सुवेदीसँग स्थानीय शासन र विकेन्द्रीकरणको अनुभव भए पनि स्थानीय प्रशासन सञ्चालनको अनुभव छैनन् । उनी कुनै पनि जिल्लाको प्रमुख जिल्ला अधिकारी नबनेका कारण पनि जनसम्पर्कमा कमजोर छन् ।

निजामति प्रशासनको करीव ३२ वर्षको अवधिमा उनी आर्थिक विवादमा भने परेनन् । स्वभावजन्य विशेषताका कारण कतिपय अवस्थामा विवादमा परे पनि भ्रष्टाचारको आरोप उनीमाथि छैन ।

नेपालको निजामति क्षेत्रमा ‘ग्याप्स’ शब्द निकै चर्चित छ । निजामति प्रशासनमा गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाको बर्चश्व छ । यसलाई छोटकरीमा कर्मचारीहरु ‘ग्याप्स’ भन्ने छन् ।

सुवेदी ‘ग्याप्स’का सख्त बिरोधी सचिवका रुपमा चिनिन्छन् । उनी पछिल्लो समय मुख्य सचिवको दौडमा रहेका बेला आफूविरुद्ध लीलामणि पौडेलसहित ग्याप्स लागेको खुलेआम बताउथे ।

अब उनको काँधमा ग्याप्सको बर्चश्व रहेको निजामति प्रशासन हाँक्ने जिम्मेवारी आएको छ । ग्याप्सप्रतिको पूर्वाग्रह अब सकियो कि बाँकी छ ? यो पनि अर्को रोचक प्रतिक्षाको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment