Comments Add Comment

माछापालनबाट यथेष्ट आम्दानी

fish

२० साउन, बागलुङ । एक करोड रुपैयाँको लगानीमा दुई वर्षअघि माछापालन सुरु गरेका यहाँका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको हरिचौर गाविस–९ का तिलक उप्रेतीले रिघा गाविसमा सुरु गरेको माछापालनबाट वर्षमा चार लाख कमाइ गरे हुन् । उप्रेतीले पाँच वटा पोखरीमा व्यवसायिकरुपमा माछापालन गर्दै आएका छन् । पहिलो वर्ष एक हजार किलो माछा बेचेको उप्रेतीले बताए ।  बजारमा प्रतिकिलो ४०० मा माछा बिक्री हुने गरेको छ ।

जग्गा खरिद पोखरी र अन्य संरचना निर्माणमा करिब एक करोड खर्चेर उनले माछापालन सुरु गरेका हुन् ।

एकीकृत नेकपा माओवादीका जिल्ला तहको नेतासमेत रहेका उप्रेती उत्पादनसँग जोडिन माछापालनतिर लागेका हुन् । ‘वर्षदेखि माछाको उत्पादन थप बढ्छ, नयाँ पोखरी पनि निर्माण गर्ने योजनामा छु,’ उनले भने । गत असारमा १० हजार नयाँ भुरा पोखरीमा छोडेको उनको भनाइ छ ।

माछापालन र अन्य कृषि उद्यमको लागि भनेर उप्रेतीले रिघामा १८ रोपनी जग्गा खरिद गरेका छन् । रिघा–२ माझबगरमा रहेको पाछापालन त्यसक्षेत्रकै ठूलो लगानीको हो । साउनेखोलाको पानीलाई पोखरीमा ल्याएर माछापालन गरिएको छ । भाषण गरेर र सिद्धान्तको मात्रै रटान कसेर परिवर्तन सम्भव नहुने ठानेर उत्पादनतिर लागेको उप्रेतीको भनाइ छ ।

पोखरीमा कमनग्रास, ग्रासकार्फ र रहु जातका माछा छन् । यो वर्ष १० हजार नयाँ भुरा रहु जातका छन्, भारतको कलकत्ताबाट माछाका भुरा ल्याएर राखिएको उनले जानकारी दिए । प्रतिभुरा रु आठका दरले खरिद गरेको उहाँले जानकारी दिनुभयो । गत असारमा छोडेका भुरा आउँदो दसैँमा बिक्रीका लागि तयार हुने उप्रेतीले बताए ।

गत वर्ष एक किलोसम्मको माछा तयार भएको थियो । त्यहाँ रहेका माछा औसतमा २५० ग्रामदेखि ४०० ग्रामसम्मको हुने बताइएको छ । उत्पादित माछा स्थानीय बजार गलकोटको हटिया, हरिचौर, काँडेवास, मल्म, खरवाङ, गुल्मीका विभिन्न ठाउँमै खपत हुने गरेको छ ।

माछापालनसँगै अन्य कृषि उत्पादनतिर लाग्ने योजना रहेको उप्रेतीले बताए । उप्रेतीले सञ्चालन गरेको माछापालन व्यवसायमा अहिले सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment