Comments Add Comment

प्रहरी घेरामा हिन्दू प्रतिनिधिले डोमका हातको पानी पिए

Nainpur-kanda

२० साउन, सिरहा । विश्व हिन्दू महासंघका प्रतिनिधिहरुले सिरहा जिल्लाको नैनपुर गाविसमा बस्ने डोम परिवारका हातबाट पानी पिएका छन् ।

हिन्दु संस्कृतिमा ‘दलित’का हातको पानी चलाउनु पापकर्म होइन भन्ने सन्देश दिँदै हिन्दु महासंघका प्रतिनिधिले बुधबार सार्वजनिक इनारबाट पानी उघाउन लगाएर पिएका हुन् ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी उमाप्रसाद चतुर्वेदीसहितको टोली बुधबार दिउँसो १ बजे नैनपुर पुगेको थियो । नैनपुर गाउँका पीडित डोम परिवारले प्रहरीको रोहबरमा बुधबार सार्वजनिक इनारबाट पानी झिकेका थिए ।

मानवअधिकार आयोगसमेतको उपस्थितिमा गाउँलेहरुसित भएको छलफलमा पानी झिक्न दिने मौखिक सहमति भएको स्थानीय दलित अगुवा रामचन्द्र मलिकले बताए ।

सहमतिपछि पुलकितकी श्रीमतीले इनारबाट पानी झिकेकी थिइन् । विश्वहिन्दू महासंघका प्रतिनिधिहरु गएर रामचन्द्रले झिकेको पानी सबैका सामु पिएका थिए ।

इनारको पानी प्रयोग गर्न दिने सहमति भए पनि सम्भावित तनावलाई मध्यनजर गर्दै अहिले ५ जना प्रहरीले इनारमा पहरा दिइरहेका छन् ।
यद्यपि प्रहरी फर्केपछि फेरि पुरानै स्थिति दोहोरिने र डोम परिवार झन् असुरक्षित हुने चिन्ता मलिकले व्यक्त गरे । ‘उनीहरुले प्रहरी गएपछि हेरौं भनेर हामीलाई धम्क्याइरहेका छन्,’ उनले भने ।

आफूले हाट बजारको दिन बजार सरसफाइ गरेर गुजारा गर्दै आएकोमा गाउँलेहरुले अब आइन्दा काम गर्न नदिने चेतावनीसमेत दिएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment