Comments Add Comment

बजारका लागि लेख्दिनँ, लेखन मेरो लडाईं हो

समकालीन नेपाली साहित्यका बलिया स्तम्भ हुन् नयनराज पाण्डे । लु र उलार जस्ता जोडदार पुस्तकहरुबाट नेपाली पाठकमाझ आफूलाई स्थापित गराएका पाण्डे हाल आफ्नो नयाँ पुस्तक सल्लिपिरको लेखनमा व्यस्त छन् । सामाजिक तथा राष्ट्रियतासित सम्वन्धित विषयहरुलाई ज्वलन्त रुपमा उठाउनु उनको लेखनको प्रमुख विशेषता हो । पाण्डेसित उनको नयाँ पुस्तक तथा साहित्यिक अभिरुचीहरुबारे गरिएको कुराकानीः
nayanraj-pandy
अहिले (साहित्यमा) के गर्दै हुनुहुन्छ ?
-सल्लिपिर  पुनर्लेखन गर्दैछु । अन्तिम पुनर्लेखन ।

सल्लिपिर ?
-यो मेरो आगामी उपन्यास हो  । यसको अर्थ सालको पात हो ।

सबैले बुझ्ने नाम राखेको भए हुँदैनथ्यो ? के पाठकले शब्दकोष नै पल्टाउन् भन्ने चाहनुहुन्छ ?
-यो बुझिने नाम नै हो । सबैले नबुझे पनि धेरैले बुझ्छन् । म प्रायः प्रतिकात्मक नाम राख्न रुचाउँछु ।

किताबको विषयवस्तु के हो ?
-मैले यसपटक नेपालको हिमाली क्षेत्रको विषयवस्तु उठान गरेको छु । आमाले छोराको निम्ति गरेको संघर्षको कथा हो । यसका पात्रहरु शेर्पा समुदायका छन् ।

तपाईं त तराईमा जन्मेर हुर्केको मान्छे, किन हिमालको कथा रोज्नुभो ?
-मैले अहिलेसम्म प्रायः मधेसकै जनजीवनमा आधारित भएर लेख्दै आएँ । केहि फरक गरौं न भनेर पनि हो ।

शेर्पा समुदायको कथा बुन्न कति अध्ययन गर्नु भो ? कि यसै कल्पनाको चंगा उडाइदिनु भएको छ ?
-विल्कुल अध्ययन, अनुसन्धान गरेर लेखेको हुँ । म यथार्थको धरातलमा टेकेरै लेख्न रुचाउँछु । केवल मनोरञ्जनका लागि लेख्दिन ।

सल्लिपिरको सोच दिमागमा कसरी फुर्‍यो ?
-म केहि वर्ष सुलुखुम्बु क्षेत्रको भ्रमणमा गएको थिएँ । मैले त्यहाँका गाउँहरु घुम्दा र जनजीवन बुझ्दा नै यहाँको विषयवस्तुमा केहि लेख्छु भन्ने सोचेको थिएँ । त्यतिबेला नै केहि टिपोटहरु गरेर सुरक्षित राखेको थिएँ । लेख्ने मौका अहिले जुर्‍यो ।

एउटा सानो समुदायको कथा लेख्दा किताबका पाठकहरुको दायरा साँघुरो हुने त होइन ? व्यवसायिक हिसाबले सोच्नुभएन ?
-पहिलो कुरा, म व्यवसायिक सोचका साथ किताब लेख्दिन । जे कुराले मलाई छुन्छ त्यसैमा लेख्छु । किताब चल्छ वा चल्दैन भन्ने दोस्रो पाटो हो । अर्को कुरा, परिवेश र संघर्षका रुपहरु फरक हुनसक्छन् । तर पिडा समान हुन्छ, कथा साश्वत हुन्छ । यो किताब त्यस्ता पाठकलाई विशेष आकषिर्त गर्छ जो समाज विज्ञानमा रुची राख्छन् । यद्यपि आम पाठकका लागि पनि कम अरुचिकर हुन्छ भन्ने लाग्दैन मलाई ।

अब कहिलेसम्म पाठकको हातमा आइपुग्छ ?
-अलिकति समय लाग्ला । दशैंपछि आउँछ ।

तपाईं साहित्य किन लेख्नुहुन्छ ?
-म आफ्नो शान्त सुखायका लागि लेख्दिन । लेखन मेरो निम्ति मिसन हो, लडाई हो  ।

लडाई लड्नेहरु त देशमा धेरै छन् । तपाईंको लडाई चाहिँ कस्तो हो ?
-म सामाजिक मुद्दाहरु उठान गर्छु । शासकहरुलाई प्रश्न सोध्छु, यत्ति हो ।

तपाईंले लेख्दा र नलेख्दा यो देशमा के फरक पर्छ ?
-मैले लेख्दा देशमा क्रान्ति हुने, नलेख्दा प्रतिगमन हुने होइन । मैले भने नि, म सामाजिक मुद्दाहरुमा बहस सिर्जना गर्न खोज्छु । मेरो लेखाईलाई पढेर/बुझेर पाठकले धारणा बनायो भने मलाई पुग्यो । देशलाई के-कति प्रभाव पार्छ भनेर नाप्ने यन्त्र मसित छैन ।

तपाईं एउटा पाठक भएर मूल्यांकन गर्नुभयो भने लेखक नयनराज पाण्डेको लेखनमा के-के कमजोरी देख्नुहुन्थ्यो ?
-थुप्रो कमजोरी देख्छु । मेरो लेखनमा अलिकति नाटकीयता हुन्छ । यद्यपि त्यसमा मेरा आफ्ना तर्क होलान् । दोस्रो, परिवेशको चित्रणमा अलिकति कमजोर छु जस्तो लाग्छ । लु लेख्ने क्रममा मलाई यो कमजोरी ममसुस भएको थियो । म बाहिरफेर हिँड्दा वरिपरीको वातावरणमा त्यति ध्यान दिन्न । अर्को, भाषिक ज्ञान सिमित भइदियो । नेपालकै स्थानीय भाषाहरुको धेरथोर ज्ञान भएको भए राम्रो हून्थ्यो भन्ने सल्लिपिर लेख्दा अनुभव गरेँ । कहिलेकाहीँृ अलि बहकिने कमजोरी पनि छ ।

बलियो पक्ष चाहिँ के मान्नु हुन्छ ?
-म चुनौतिपूर्ण विषयमा लेख्न रुचाउँछु । बजारमा बिक्ला कि नबिक्ला भन्ने धेरै चिन्ता गर्दिन । प्रत्येक किताबमा केहि नयाँपन दिने प्रयत्न गर्छु ।

आफ्नो लेखनमा सेन्स अफ ह्यूमरलाई बढि प्राथमिकता दिनुहुन्छ, होइन ?
-सहि हो । मलाई सेन्सअफ ह्यूमर मन पर्छ । दुख र पिडाका विषयहरुलाई ह्यूमरमा व्यक्ति गर्नु एउटा लेखकका लागि चुनौति हो जस्तो लाग्छ ।

तपाईंको लेखन शैली अरु कुनै लेखकसित मिल्दोजुल्दो पाउनुहुन्छ ?
-जानेर त्यस्तो गरेको छैन । मेरो इच्छा भनेको आफ्नै मौलिकता कायम होस भन्ने छ । नजानेर मिलेको छ भने त्यो पाठक वा समिक्षकले भन्न सक्छन् ।

तपार्इं कुनै कथा दिमागमा पहिल्यै सेट गरेर लेख्न बस्नु हुन्छ कि लेख्न बसेर सोच्न थाल्नुहुन्छ ?
-म दिमागमा कथा सेट नभइकन लेख्नै बस्दिन । लेख्ने क्रममा केहि तलमाथी हुनु सामान्य हो । तर कथाको सुरु र अन्त्य पहिले नै निर्धारण गरेको हुन्छु ।

लेखेको कुरा कतिचोटीसम्म पुनर्लेखन गर्नुहुन्छ ?
-पचासौं पटक गर्छु । मलाई  आख्यात जति धेरै पुनर्लेखन गर्‍यो, त्यति सुन्दर हुन्छ जस्तो लाग्छ । यो जुत्तामा पोलिस गरे जस्तै हो ।

कागजमा लेख्नुहुन्छ कि कम्प्युटरमा मात्रै ?
-मैले कागजमा नलेखेको धेरै भयो । बाहिरफेर केहि टिपोट गर्नुपर्दा पनि प्राय मोबाइलमा गर्छु । घरमा बस्दा ल्यापटपमा लेख्छु ।

तपाईं कुन समय र स्थानमा लेख्न रुचाउनुहुन्छ ?
-समयको कुरा गर्दा म राति लेख्न सक्दिन । दिउसो नै लेख्छु । दिनभरी अरु काम पनि त छैन । लेख्नका लागि मलाई आफ्नो घर भन्दा उययुक्त ठाउँ अन्यत्र लाग्दैन । दिनभरी घरमा मेरै एक साम्राज्य हुन्छ । लेखनमा कसैले डिस्टर्व गर्दैन ।

आफूले लेखेकामध्ये आफैंलाई चित्त नबुझेको किताब कुन हो ?
-यो भन्न गाह्रो छ । यद्यपि घामकिरीमा अलिकति सेटब्याक भयो जस्तो लाग्छ । मैले जून ढंगले यसमा कल्पनाको उडान भरेको छु, त्यसमा पाठकहरु खासै कन्भिन्स भएनन् । संभवतः पाठकहरुले मबाट सामाजिक र यथार्थपरक कथाकै अपेक्षा गर्छन् ।

सबैभन्दा चित्त बुझेको किताब चाहिँ ?
-यो त भन्नै सक्दिनँ । आफूलाई त आफ्नौ सिर्जना राम्रै लाग्छ । पाठकको रेस्पोन्सको हिसाबले चाहिँ लु बाट बढि सन्तुष्ट छु ।

लेख्दालेख्दै झ्याउ लागेर छोड्नुभएको घटना कति छ ?
-उपन्यास त छैन कुनै । केहि फुटकर कथाहरु बीचैमा छोडेको छु । लेखिसकेर छाप्न मन नलागेर थन्क्याएका पनि छन् । २०-२५ वर्ष अगाडि नाटक लेख्ने प्रयास गरेको थिएँ । तर आफैंलाई चित्त नबुझेर बीचमै छोडिदिएँ ।

तपाईंको व्यक्तिगत जीवनसित सबैभन्दा बढि मेल खाने किताब कुन हो ? वा कुनै पनि छैन ?
-छ्यासमिस छन् । मैले लेखेका किताबहरुमा आफ्नो व्यक्तीगत भोगाई र अनुभूतिहरु मिसिएका हुन्छन् । जस्तो लु को इलैया चरित्र मेरो बाल्यकालसित केहि मिल्दोजुल्दो थियो । यसैगरी घामकिरीको मुख्य पात्र राजुको कथा पनि मेरो जीवनसित थोरबहुत मेल खान्छ । मेरो पनि बोलाउने नाम राजू हो । बाल्यकालमा त्यसैगरी भागेर बम्बई पुगेको थिएँ । अन्य किताबहरुमा पनि कहिँ न कहिँ मेरो वास्तविक जीवनका छापहरु छन् ।

कस्तो प्रतिक्रियाले तपाईंलाई सबैभन्दा बढि उत्साहित बनाउँछ ?
-साहित्य क्षेत्रका व्यक्तित्वहरुबाट त बारम्बार सल्लाह सुझाव पाइरहन्छु । तर मलाई प्लस टु पढेका युवाहरुले पनि कहिलेकाहीँ एकदमै गहकिला प्रतिक्रियाहरु दिनुहुन्छ । समिक्षकहरुले औंल्याउन नसकेको कुरा पनि उहाँहरुले आैंल्याउनुहुन्छ । त्यसबाट आनन्द लाग्छ ।

लेखेर कति पैसा कमाउनुभएको छ ?
-म पूर्णकालिन लेखक हुँ । अरु कुनै पेशा नगरेको हुनाले जे जति कमाएको छु, लेखनबाटै कमाएको हुँ । पहिले फिल्म र सिरियलका कथाहरु थुपै्र लेखेँ । त्यसैबाट गुजारा चल्थ्यो । अहिले किताबमा मात्रै केन्द्रित छु ।

भनेपछि लेखेरै मात्र पनि बाँच्न गाह्रो छैन अब नेपालमा ?
-साहित्यको बजार बिकास भइरहेको छ । व्यवसायीकता पनि बढिरहेको छ । तर, यो सबैको हकमा लागू नहुन पनि सक्छ । किनकी अहिले सामाजिक आवश्यकताहरु बढिरहेका छन् । जीवनशैली महंगो बनिरहेको छ । आफू मात्रै बाँचेर भएन परिवार पनि पाल्नुपर्‍यो । सजिलो छैन ।

तपाईंलाई नेपालमा कसको लेखनशैली देख्दा इर्श्या लाग्छ ?
-युवापुस्ताको कुरा गर्दा म बुद्धिसागरको लेखाईबाट प्रभावित छु । उनको लेखनमा छुट्टै मिठास हुन्छ । अर्का लेखक हुन् कुमार नगरकोटी । उहाँको लेखन शैली पनि अद्भूत छ । यस्तै अमर न्यौपानेले भाषालाई राम्रोसित खेलाउछन् । अग्रजहरुमा म नारायण ढकालबाट प्रभावित छु ।

समकालिन नेपाली साहित्यमा तपाईंको स्थान कहाँ छ त ?
-म हिँडिरहेको छु । न चुचुरोमा छु, न पातालमा । बस्, यात्रारत छु ।

जीवनमा लेख्ने बाहेक अरु केहि योजना छन् अब तपाईंका ?
-छैनन् भन्दा पनि हुन्छ । जीवनको यात्रो कालखण्ड लेखनमा बिताएँ भने अब यहाँबाट बाहिर निस्केर कहाँ जाउँ ?
प्रस्तुतिः चिरञ्जीवी पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment