Comments Add Comment

बाइक छोडेर स्कुटी रोज्दै तन्नेरीहरू, कुनको मूल्य कति ?

Honda-DIO-New-2

नविन अर्याल

१ भदौ, काठमाडौं । रातोपुलमा बस्दै आएका चितवन निवासी प्रकाश श्रेष्ठले केही दिन अगाडि बाइक बेचेर स्कुटर खरिद गरे । भर्खरैमात्र विवाह बन्धनमा बाँधिएका उनले ‘मल्टीयुज’का लागि पल्सर बाइक बेचेर डिओ स्कुटर खरिद गरेका हुन् ।

भैंसेपाटीकी सरला रेग्मीले छोरा छोरी दुबैका लागि उपयुक्त हुने भन्दै स्कुटर किनिन् । घरमा स्कुटर भएपछि आवश्यक परेको बेलामा आफुले पनि चलाउन पाइने र छोराछोरी दुवैलाई हुने भएकाले स्कुटर रोजाइमा परेको उनी बताउँछिन् ।

यसरी बाइक छोडेर स्कुटरमा हुँइकिने युवाहरुको संख्या नेपालमा बाक्लिन थालेको छ । व्यवसायीका अनुसार पछिल्लो समय बाइकको भन्दा स्कुटरको माग उच्च रहेको छ । नेपाली सडकमा स्कुटरको उपस्थिती बाक्लिदो छ ।

महिला तथा पुरुष दुबैका लागि उपयुक्त, चलाउन सजिलो, समान राख्न मिल्ने हुँदा स्कुटरका ग्राहक बढेका छन् । स्कुटर मल्टीयुज गर्न पाइने हुँदा ग्राहकको आकर्षण बाइकमा भन्दा स्कुटरमा बढी देखिएको हिरो स्कूटरको बिक्रेता एनजीएम हिरोका मार्केटिङ प्रमुख दिनेशरत्न बज्राचार्यको अनुभव छ ।

पछिल्लो समय बिवाहित जोडीको एउटै रोजाई स्कुटर हुन थालेको छ । बाइक र स्कुटर दुईवटै खरिद गर्न नसक्नेहरुले साझा प्रयोगका लागि स्कुटर किन्ने गरेको व्यवसायी बताउँछन् ।

Hero-Pleasure

महिला वा पुरुष दुवैले चलाउन मिल्ने र सामान बोक्न पनि सजिलो हुने भएकाले नै आर्कषण बढेको बताउँछन् होण्डा बिक्रेता स्याकर कम्पनीका सुरज श्रेष्ठ ।

‘स्कुटर फेमिली ट्रान्सपोर्टेसन बनेको छ, यतिमात्र होइन सबै उमेर समुह र महिला पुरुषले सजिलै चलाउन सक्छन्’ श्रेष्ठले अनलाइनखबरसँग भने- ‘यही कारण स्कुटर खोज्दै आउने ग्राहक धेरै छन् ।’

नेपालको दुई पांग्रे बजारमा स्कुटरको हिस्सा २२ प्रतिशत भन्दा बढी रहेको व्यवसायी बताउँछन् । ग्राहकको आकर्षण स्कुटरतर्फ मोडिन थालेपछि अधिकांश कम्पनीले स्कुटर भित्राउन जोड दिइरहेका छन् ।

अहिले बजारमा आकर्षक डिजाइनमा उच्च प्रविधियुक्त स्कुटरहरु रोजी रोजी किन्न पाइन्छ । दुई पांग्रे सवारी उत्पादक कम्पनीहरु राम्रा-राम्रा स्कुटर बजारमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । डिजाइनमा बाइकलाई चुनौती दिने स्कुटरहरु बजारमा उपलब्ध हुन थालेका छन् ।

नेपालमा होण्डा, टीभीएस, हिरो, सुजुकी, यामाहा, महिन्द्रा, भेस्पा, डालिम, युएम लगायत कम्पनीका स्कुटरहरु बिक्री हुँदै आएका छन् । सवा लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मका स्कुटर नेपाली बजारमा उपलब्ध रहेका छन् ।

होन्डा

Honda

नेपालको स्कटर बजारमा होन्डाको उपस्थिती पहिलो नम्बरमा रहेको छ । होन्डाको डिओ स्कुटर अहिले बजारमा सर्वाधिक चर्चामा रहेको छ । आकर्षक डिजाइन, उच्च माइलेज, अत्याधुनिक डिजाइनका कारण डिओ सबैको रोजाइमा पर्न सफल भएको स्याकर कम्पनीका सुरज श्रेष्ठ बताउँछन् ।

‘स्कुटर बजारमा होण्डाको कसैसँग प्रतिस्पर्धा छैन्, स्कुटर किन्नेको पहिलो रोजाइ डिओ नै रहेको छ’ उनले भने- ‘डिओ नै रोज्नुको मूख्य कारण ब्रान्ड भ्यालु, बिश्वसनीय, टिकाउ, बिक्रिपछिको सेवा, रिसेल मूल्य र डिजाइन नै हो ।’

होण्डा डिओ हालैमात्र नयाँ मोडलमा आएको छ । नेपालमा आएको तीन महिनाको अवधिमा नयाँ डिओ करिव ५ थान बिक्री भइसकेको छ । डिओ चार कलरमा उपलब्ध छ ।

होण्डाको नेपाली बिक्रेता स्याकार ट्रेडिङका अनुसार स्कुटर बजारमा होण्डाको उपस्थिती ३२ प्रतिशत बढी छ । अहिले होण्डाका डिओ, एभियटर र एक्टिभा गरी तीनवटा स्कुटर उपलब्ध छन् ।

अहिले नेपाली सडकमा १ लाख बढी होण्डा स्कुटर दौडिने गरेको कम्पनीले जनाएको छ । गत वर्ष होण्डा स्कुटरको बिक्री बृद्धिदर १० प्रतिशत रहेको छ ।

डिओ ११० सीसीको स्कुटर हो । यसले नेपाली सडकमा ६० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको मूल्य नेपालमा १ लाख ७२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी एभियटर पनि ११० सीसीको स्कुटर हो । यसले ४० किलोमिटर माइलेज दिने बताइएको छ । मेटल बडी भएको यसको मूल्य १ लाख ८० हजार ९ सय रुपैयाँ रहेको छ ।

एक्टिभा पनि ११० सीसीकै स्कुटर हो । यसले ४५ देखि ५० किलोमिटर माइललेज दिने छ । यसको मूल्य १ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

महिन्द्रा

Mahindra

महिन्द्राको स्कुटरले पनि नेपालमा राम्रो रेस्पोन्स पाउन सफल भएको छ । अहिले महिन्द्राका चारवटा स्कुटर बजारमा उपलब्ध छन् ।

महिन्द्रा रोडियो र फ्लाइट सबैभन्दा चलेका स्कुटर हुन् । तीनवटै मोडल १२५ सीसीमा उपलब्ध छन् । महिन्द्रा डिउरो पनि चलेको मोडल हो । रोडियो र डिउरो खासगरी पुरुषलाई लक्षित गर्दै बजारमा ल्याएको कम्पनीको दाबी छ ।

महिन्द्रा रोडियोको मूल्य १ लाख ७२ हजार ९ सय रुपैयाँ रहेको छ । आकर्षक डिजाइन, पावरफुल रोडियोको मूख्य विशेषता हो ।

यसैगरी महिन्द्राको अर्को मोडल गष्टो हो । ११० सीसी इञ्जिन क्षमताको यो स्कुटरको मूल्य १ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । महिन्द्राले छिट्टै गष्टो १२५ सीसी इञ्जिन क्षमतामा भित्राउँदै छ ।

शंकर ग्रुपले बिक्री गर्दै आएको महिन्द्रा स्कुटर तथा बाइक अब अग्नी ग्रुपले बिक्री वितरण गर्ने भएको छ । अग्नीले महिन्द्रा चार पांग्रे सवारी साधन बिक्री गर्दै आएको छ ।

यामाहा

Yamaha (1)

नेपाली स्कुटर बजारमा यामाहाले दोस्रो स्थान कायम गरेको छ । यामाहाको रे जेड नेपालमा सर्वाधिक चलेको स्कुटर हो । यामाहाका दुईवटा मोडल बजारमा उपलब्ध छन् । दुबै मोडल ग्राहकमाझ लोकप्रिय रहेका छन् ।

११३ सीसीको यामाहा रे जेडले पुरुषहरुको समेत मन जित्न सफल भएको छ । आकर्षक डिजाइन र कलरमा उपलब्ध भएको हुँदा युवाहरुमाझ यो स्कुटर लोकप्रिय भएको छ ।

यामाहा रे जेडको मूल्य १ लाख ७० हजार ९ सय रुपैयाँ रहेको छ भने यामाहा अल्फाको मूल्य १ लाख ७१ हजार ९ सय रुपैयाँ रहेको छ ।

यामाहाले छिट्टै फसिनो स्कुटर नेपाली बजारमा ल्याउने जनाएको छ ।

सुजुकी

Suzuki

पछिल्लो समय सुजुकी स्कुटरले पनि बजारमा पिकअप लिन थालेको छ । अहिले सुजुकीका दुईवटा मोडल नेपाली बजारमा उपलब्ध छन् ।

उच्च पावर, आकर्षक डिजाइन भएको कारण सुजुकी स्कुटरमा नेपालीको आकर्षण देखिन थालेको हो । सुजुकी दुबै मोडल १२५ सीसी इञ्जिन क्षमतामा उपलब्ध छन् ।
सुजुकी एक्सेसको मूल्य १ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको छ भने सुजुकी स्वीसको मूल्य १ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ ।

हिरो

Hero

हिरोको प्लेजर होण्डाको डिओपछि सर्वाधिक चलेको स्कुटर हो । भर्खरैमात्र यो अपग्रेडेड पिचर्ससहित नयाँ डिजाइनमा नेपाली बजारमा भित्रिएको छ । १०२ सीसीको प्लेजरको मूल्य १ लाख ५७ हजार ९ सय रुपैयाँ रहेको छ ।

हिरोका मार्केटिङ प्रमुख दिनेशरत्न बज्राचार्यका अनुसार नेपाली स्कुटर बजारमा हिरोको उपस्थिती तेस्रो स्थानमा रहेको छ । हिरोको एउटामात्र मोडल उपलब्ध रहेको छ । अन्य ब्रान्डका धेरै मोडल उपलब्ध हुँदा हिरोको बजार सोचेँजति विस्तार हुन नसकेको उनी बताउँछन् ।

यही यथार्थलाई मध्यनजर गरी हिरोले छिट्टै दुईवटा नयाँ मोडलका स्कुटर बजारमा ल्याउँदैछ । हिरोको डुएट केही हप्ताभित्रै बजारमा आउन लागेको बताइएको छ ।

नयाँ प्लेजरमा लुक्स परिवर्तन गरिएको छ । कलर ग्राफिक्स आकर्षक रहेको छ । यसको सबैभन्दा आकर्षक विशेषता हो- स्ट्यान्ड हटाए/नहटाएको सूचना दिनु । हतारमा स्टान्ड नहटाई स्कुटर बाइक चलाउँदा ठूलो एक्सीडेन्ड हुने गरेको छ, जुन खतरा यो स्कूटरले टार्छ ।

यसमा मोबाइल चार्जिङ प्वाइन्ट राखिएको छ भने सिटमुनीको स्पेस पनि ठूलो बनाइएको छ । सिट खोल्ने वित्तिकै डिक्कीमा बत्ती बल्छ । यसमा एकिकृत ब्रेक सिष्टम छ रहेको छ ।

भेस्पा

vespa

इटालियन ब्रान्डको भेस्पा स्कुटर हालैमात्र नेपाली बजारमा प्रवेश गरेको हो । डि लाइफ स्टाइल्सले भेस्पाका दुईवटा मोडल नेपालमा भित्राएर बिक्री सुरु गरेको हो ।

नेपाली बजारमा भेस्पा भिएक्स र भेस्पा एस गरी दुईवटा मोडल उपलब्ध छन् । जसको मूल्य क्रमशः २ लाख ४९ हजार ९ सय र २ लाख ६३ हजार ९ सय तोकिएको छ ।

भेस्पा स्कुटर विभिन्न चार आकर्षक कलरमा नेपालमा उपलब्ध छन् । १२५ सीसीका यी स्कुटर वातावरणमैत्री रहेको दाबी गरिएको छ । स्कुटरमा तीनवटा भल्भ इञ्जिनसहित डिस्क ब्रेक, स्टिल बडी र ट्युबलेस टायर लगायत रहेका छन् । नेपाली युवावर्गलाई लक्षित गर्दै भेस्पा स्कुटर बजारमा भित्राएको कम्पनीको दाबी छ ।

टिभिएस

TVS

टिभीएस स्कुटरले पनि नेपालीको मन जित्न सफल ब्रान्ड हो । तर, पछिल्लो समय स्कुटर बजारमा प्रतिस्पर्धा बढ्न थालेपछि यसको बजार खुम्चिएको छ । नयाँ र आकर्षक डिजाइनका स्कुटर समयमै बजारमा ल्याउन नसक्दा टिभीएस स्कुटरको बजार अरु ब्रान्डले खोसिदिएका हुन् ।

अहिले टिभीएसका चारवटा मोडलका स्कुटर बजारमा उपलब्ध छन् । टिभीएस जुपिटर ११० सीसीको स्कुटर हो । यसको मूल्य १ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ ।

यसैगरी टिभीएस पेप प्लस ७७.८ सीसीमा उपलब्ध छ । यसको मूल्य १ लाख ३२ हजार ९ सय रुपैयाँ पर्छ । टिभीएस स्टि्रक ८७.८ सीसीको स्कुटर हो । यसको मूल्य १ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ । टिभीएस विगो १०९ सीसीको १ लाख ६३ हजार ९ सय रुपैयाँ पर्ने स्कुटर हो ।

टिभीएसले नयाा जेष्ट स्कुटर ल्याउन लागेको छ ।

युएम बाइक

UM-Scooter

अमेरिकन ब्रान्ड युएमले पनि नेपाली बजारमा स्कुटर भित्राउँदै छ । भदौ अन्तिममा हुन लागेको नाडा अटो शोसम्म स्कुटर भित्रिने नेपाली बिक्रेता आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले बताए ।

युएमले १२५ सीसीको स्कुटर ल्याउन लागेको हो । नेपालमा स्कुटरको माग बढेपछि स्कुटर भित्राउन लागेको शिवाकोटीले बताए । युएमले भित्राउन लागेको स्कुटरको मूल्य १ लाख ७२ हजार रुपैयाँ पर्नेछ ।

युएम स्कुटरमा आकर्षक फिचर्स रहेका छन् । डिक्कीमा ब्यागभित्र रहेको मोबाइल आएमा ड्यास बोर्डमा नम्बर देखिन्छ । स्कुटरसँगै प्राप्त हुने स्पेशल हेल्मेटबाट मोबाइल ननिकाली रिसिभ तथा काट्न सकिन्छ ।

प्रतिलिटर ५० किलोमिटर माइलेज दिने दाबी गरिएको युएम स्कुटरमा ८/९ लिटर पेट्रोल अटाउँछ । सामान्यतया नेपालमा उपलब्ध स्कुटरमा ४/५ लिटरमात्र तेल अटाउँछ ।

अहिले बजारमा प्रतिस्पर्धामा रहेका स्कुटरसँग युएम स्कुरटको मूल्य मिल्दो जुल्दो हुनेछ । तर, सुविधा भने धेरै फरक हुनेछन् । ‘स्कुटर हामीले नाडा अटो-शोबाट बिक्री सुरु गर्छौं’ शिवाकोटीले भने- ‘जनवरीसम्म डेढदेखि दुईसय थान बिक्री गर्ने लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment