Comments Add Comment

‘घैंटे’काण्डको पहेली : ठीक भो वा गलत भो !

अरुण बराल/टिप्पणी
Kumar Ghainte Encounter

‘डन’को पहिचान बनाएका कुमार श्रेष्ठ घैंटेलाई विहीबार प्रहरीले गोली हानेर मार्‍यो । ०७१ साल साउनमा धादिङका दिनेश अधिकारी चरीलाई पनि प्रहरीले विहीबारकै दिन पारेर भीमढुंगामा गोली हानेर मारेको थियो ।

प्रहरीसँग इन्काउन्टरमा मारिएका भनिएका दिनेश अधिकारी चरीको मृत्युपछि चर्को राजनीतिकरण भयो । संसदमा एमालेका सभासदहरुले चरीको पक्षमा ढ्याप ढ्याप गरे । सडकमा जुलुस र नाराबाजी भयो, चरीको पक्षमा धर्नामा बस्ने व्यक्ति अहिले मन्त्री बनेका छन् । चरीको विषयमा गृहमन्त्री वामदेव गौतमले संसदमा जवाफ दिनुपर्‍यो । आर्यघाटमा चरीको शवमा एमालेको झण्डा ओढाइयो । केही एमाले सभासदले उनीमाथि सम्मान प्रकट गरे ।

अहिले कुमार श्रेष्ठ घैंटे मारिँदा पनि चरीकै जस्तो परिघटना दोहोरिने स्पष्ट संकेत आइसकेको छ । कांग्रेस सभासद जगदीशनरसिंह केसीलगायतले घैंटेमाथि गृहमन्त्री वामदेव गौतम र प्रहरीबाट ‘अपराधै’ भएको बताइसकेका छन् । गोली लागेकै दिन मृतकका आफन्त र कांग्रेस कार्यकर्ताहरुले नाराबाजी सुरु गरिसकेका छन् ।

यो कुरा निश्चित छ कि अब व्यवस्थापिका संसदमा चरीको जस्तै घैंटेको पक्षमा पनि सभासदहरुबाट आवाज उठ्नेछ र गृहमन्त्रीले  संसदमा उभिएर जवाफ दिनुपर्नेछ । कांग्रेस सभासदहरुले घैंटेको हत्याका सम्बन्धमा छानविन गर्न उच्चस्तरीय (संसदीय ?) छानविन समिति गठनको माग गर्नेछन् ।

चरी मर्दा के भयो ?
‘डन’ दिनेश अधिकारी चरी प्रहरीको ‘इन्काउन्टर’मा मारिँदा एमालेका केही सभासदले प्रहरीबाट नक्कली इन्काउन्टर खडा गरिएको र दोहोरो भीडन्त नभएर गिरफ्तारपछि हत्या गरिएको तर्क गरेका थिए । प्रहरीको भनाइचाँहि दोहोरो मुठभेडमा प्रतिरक्षाका लागि गोली चलाउँदा चरी मारिएको भन्ने थियो ।

चरीकी केटीसाथी खुश्बू ओलीले चरी ‘नर्मल लाइफ’मा फर्कन चाहेको र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने तयारीमा रहेका बेला मारिएको बताएकी थिइन् ।
mahesh-Basnet
चरी मारिएपछि युवा संघका तत्कालीन नेता महेश बस्नेतको अगुवाइमा शिक्षण अस्पतालमा एमाले कार्यकर्ताले धर्ना  दिएका थिए । (हेर्नुहाेस् माथिकाे तस्वीर) चरीको समर्थनमा एमाले कार्यकर्ताले धादिङ बन्दको आयोजनासमेत गरेका थिए ।

एमाले सभासद राजेन्द्रप्रसाद पाण्डेले संसद थर्काएका थिए । चरीको हत्याको विरोध गर्दै संसदीय छानविन समितिको माग गरिएको थियो ।

चरी प्रकरणले एमाले पदाधिकारी बैठकसमेत प्रभावित भएको थियो । चरी घाइते हुँदा अस्पतालमा भेट्न गएका केपी ओलीलाई समेत चरीका संरक्षकका रुपमा प्रचार गरिँदै आएको थियो । तर, जिल्लाबासी भएकाले माधव नेपाल पक्षधर सभासद राजेन्द्र पाण्डेले चरीको पक्षमा कडा लबिङ गरेका थिए । खुश्बु ओलीले प्रहरी अधिकारीहरुमाथि औंला उठाएकी थिइन् ।

एमाले पदाधिकारी बैठकमा चरीको विषयमा छलफल हुँदा विशेष गरी घनश्याम ढकाल लगायतका नेताले चरीलाई गैंडाको खाग तस्करीमा प्रहरीले समातेका बेला किन एमाले नेताले छुटाए भन्ने प्रश्न उठाएका थिए । पार्टीले डनको संरक्षण गर्न नहुने आवाज एमालेभित्रबाट उठेको थियो ।

तर, विस्तारै चरी प्रकरण सेलायो । केपी ओली पनि यस विषयमा मौन बसे । महेश बस्नेत पनि विस्तारै पछि हटे । राजेन्द्र पाण्डेले माग गरेजस्तो संसदीय छानविन समिति बनेन । डनमाथि प्रहरीले कारवाही गर्दा संसदीय वा उच्चस्तरीय छानविन समिति बनाउने हो भने प्रहरीको ‘मोराल’ कमजोर हुन्छ र अपराधीको मनोबल बढ्छ भन्ने मान्यता स्थापित भयो ।

र, अन्ततः चरीको मराइ ‘बिचरोे मराइ’ बन्न पुग्यो । ‘डन’सँग जोडिएको खुश्बु अाेलीकाे प्रेमको गसीप पनि एक वर्ष नपुग्दै विस्मृतिको गर्तमा हरायो । छानविन-सानविन केही भएन ।

अब पालो घैंटेको
चरी मारिएको एक वर्षपछि प्रहरीले लगभग त्यसैगरी घैंटेलाई मारेको छ । फरक केमात्रै छ भने एकान्तमा घटना भएकाले चरीको ‘इन्काउन्टर’का प्रत्यक्षदर्शी कम थिए, घैंटेकाण्डका प्रत्यक्षदर्शी प्रशस्तै छन् । यद्यपि उनीहरु आफ्नो नामसहित घटनाको वयानमा सहभागी हुन डराउँछन् ।

गृहमन्त्री गौतमले संसदमा चरीको पालामा जस्तै प्रहरी हेडक्वार्टरले तयार पारेको रिपोर्ट वाचन गर्नेछन् र भन्नेछन् कि प्रहरीमाथि नै घैंटेले गोली प्रहार गरेपछि प्रतिकारमा गोली चलाउँदा उनी इन्काउन्टरमा मारिएका हुन्

चरीकै जस्तो प्रकरण र बहस अब नेपालको राजनीतिमा केही दिन चल्ने निश्चित छ । चरीकै जस्तो शिक्षण अस्पतालबाटै घैंटेको समर्थनमा नारा जुलुस विहीबारबाटै सुरु भइसकेको छ ।

चरीको समर्थनमा एमालेका सभासद राजेन्द्रप्रसाद पाण्डेसहित धादिङका सभासदहरु लागेका थिए । घैंटेको समर्थनमा पनि कांग्रेस सभासद जगदीश नरसिंह केसी, भीमसेनदास प्रधान र धनराज गुरूङको टोली मैदानमा उभिइसकेको छ ।

सभासद पाण्डेलेजस्तै सभासद केसीले पनि अब यो ‘हत्या’को विषयमा व्यवस्थापिका संसदमा आवाज उठाउने छन् र गृहमन्त्रीलाई जवाफ दिन बाध्य बनाइनेछ ।

गृहमन्त्री गौतमले संसदमा चरीको पालामा जस्तै प्रहरी हेडक्वार्टरले तयार पारेको रिपोर्ट वाचन गर्नेछन् र भन्नेछन् कि प्रहरीमाथि नै घैंटेले गोली प्रहार गरेपछि प्रतिकारमा गोली चलाउँदा उनी इन्काउन्टरमा मारिएका हुन् ।

Kc

गृहमन्त्रीकाे जवाफमा सभासद केसीले चित्त बुझाउने छैनन् र ढ्याप ढ्याप गर्दै उच्चस्तरीय छानविन समिति गठनको माग गर्नेछन् । वाैद्धिक सभासद धनराज गुरूङले संसद तताउने बताइसकेका छन् ।

तर, प्रहरी प्रशासनले फेरि पनि उही भन्ने छ कि डनमाथि इन्काउन्टर गर्दा संसदीय छानविन समिति गठन हुँदैन । र, सम्भवतः घैंटे प्रकरण पनि चरी प्रकरणको दोस्रो संस्करणका रुपमा इतिहासको गर्तमा थन्किने छ ।

चरी र घैंटे मारिँदा किन तात्छ संसद ?
चरी मारिँदा संसद तात्यो । अब घैंटे मारिएपछि पनि तात्नेवाला छ । यस्तो किन हुन्छ ? परिघटना हेर्दा के देखिन्छ भने सभासद राजेन्द्रप्रसाद पाण्डे  मानवअधिकार र फौजदारी न्यायप्रति गम्भीर भएकाले उनले चरीको हत्याका विषयमा बोलेका थिएनन् । चरी धादिङका एमाले नेता भएको र चुनावमा आर्थिक, भौतिक सहयोग गरेकाले पाण्डेले उनको पक्षमा बोलेका थिए । राजनीतिज्ञ र डनवीचको सम्बन्धको द्योतक थियो सभासद पाण्डेको प्रस्तुती ।

अहिले पनि त्यही हो । नुवाकोटका सभासद केसीले नुवाकोटकै बासिन्दा कुमार श्रेष्ठको पक्षमा आवाज उठाउनुको कारण केसी मानवअधिकारवादी फौजदारी न्यायका ज्ञाता भएर होइन कि जिल्लाबासी र सहयोगी भएको कारणले नै हो ।
‘डन’को छवि बनाएका व्यक्तिहरु प्रहरीको कारवाहीमा मारिँदा सदन तान्ने कारण डन र नेताको सम्बन्धमा मात्रै निहीत हुने गरेको देखिन्छ ।

न्यायको प्रश्न
चरी र घैंटे दुबैको मृत्युपछि सभासद लगायत केही व्यक्तिहरुले एउटै प्रश्न उठाउने गरेको छन् कि प्रहरीले गिरफ्तार गरेर कारवाही चलाउन सक्ने अवस्था हुँदाहुँदै किन उनीहरुको हत्या गर्‍यो ? मृत्युदण्डलाई संविधानले नै बर्जित गरेका बेला के यसरी व्यक्तिलाई नक्कली मुठभेड सिर्जना गरेर दिन दहाडै मार्न पाइन्छ ? यस्तो गर्ने हो भने नागरिकको जीउधनको सुरक्षा कसरी हुन्छ ? प्रहरीले गरेको यस्तो कार्यलाई राज्यअपराध किन नभन्ने ? यस्ता प्रश्नहरु चरीको हत्यापछि राजेन्द्र पाण्डेहरुले उठाएका थिए, अब जगदीश नरसिंहहरुले उठाउँदैछन् ।

तर, विचरा चरी र घैंटे अनि उनका परिवारका सदस्यहरु त्यस्ता अपवादका पात्र हुन्, यसले आफ्नो परिवारको सदस्य गुमाउँदा सिंगै समाजले राम्रो भयो भनेर प्रहरीलाई बधाइ दिन्छ । यस्तो घटनापछि प्रहरी बधाइको पात्र बन्न पुग्छ ।
बूढापाकाहरु भन्ने गर्छन्, जस्तो लेखेको छ, त्यस्तै हुन्छ । विज्ञानमा विश्वास राख्नेहरुले पनि भन्न सकिन्छ कि व्यक्तिले आफ्नो छवि जस्तो बनाएको छ, त्यस्तै नियति भोग्नुपर्ने हुन्छ । चरी र घैंटेले आफ्नो छोटो जीवनमा जेजस्तो कार्य गरे, त्यसले उनीहरुलाई यो स्थितिमा पुर्‍यायो । अपराध कर्मले केही धन बटुल्न सकिन्छ, तर त्यसले उसको जीवनमा सुख दिँदैन । उनीहरुलाई प्रहरीले समाउन सक्ने अवस्थामै मारेको रहेछ भने पनि ‘कठै’ भनिदिने कोही हुँदैनन् ।

सभासद जगदीशले विहीबार मिडियालाई बाइट दिने क्रममा भनेका छन्, ४ वर्षदेखि घैंटे ‘क्रिमिनल कार्य’ छाडेर निर्माण व्यवसायमा लागेको थियो । तर, कानून बनाउने ठाउँमा रहेका सभासद केसीको अभिव्यक्तिले अर्को प्रश्न उठाउँछ, एकपटक फौजदारी काम गरेर आर्जन गरेको सम्पत्ती मुद्रा निर्मलीकरण गरेर व्यवसायमा लगानी गरेपछि छुट पाइन्छ र माननीयज्यू ? यो प्रश्न चरीको बचाउ गर्न खोज्ने सभासद राजेन्द्र पाण्डेको हकमा पनि लागू हुन्छ ।

अब गर्नुपर्ने के हो ?
‘डन’ बनेर अबैध कमाइमार्फत नेतालाई आर्थिक-भौतिक सहयोग गर्दैमा त्यस्ता व्यक्तिहरुसँग एउटै मञ्चमा कुम जोडेर बस्ने र उनीहरुका हर गलत कार्यमा जीवनभर समर्थन जनाउने कामबाट नेताहरु मुक्त हुनैपर्छ, चाहे ती पाण्डे हुन् या केसी ।

‘डन’का नातेदार र समाजका अन्य सदस्यहरुले पनि अब यो सोच्नुपर्छ कि आफ्नो नजिकका जोकोहीलाई पनि अपराध गर्न नउक्साउँ

सभासद जगदीशनरसिंह अहिलेसम्म राम्रै छवि भएका नेताका रुपमा चिनिँदैछन् । उनले डनको पक्षमा बोल्दै हिँड्दा समाजमा सकारात्मक सन्देश गएको छैन भन्ने कुरा सामाजिक सञ्जालमा आएका अभिव्यक्तिलहरुले देखाइरहेका छन् । सभासद केसीले पनि फेसबुक र ट्वीटर हेरेकै होलान् ।

गुण्डागर्दी गर्नेहरुका आफन्त र परिवारजनका बारेमा पनि अब बहस जरुरी छ । फौजदारी कानूनअनुसार एक व्यक्तिले अपराध गर्दैमा परिवारका अन्य सदस्यहरु दोषी हुँदैनन् । घैंटेको मृत्युमा उनका परिवारजनले सूर्ता गर्नु मानवीयताको हिसाबले स्वाभाविकै हुन्छ ।

तर, ‘डन’का नातेदार र समाजका अन्य सदस्यहरुले पनि अब यो सोच्नुपर्छ कि आफ्नो नजिकका जोकोहीलाई पनि अपराध गर्न नउक्साउँ । कोही पनि धनी बन्ने नाममा गुण्डागर्दी, भ्रष्टाचार र अपराधकर्ममा नलागौं । उत्तेजना र हिंसामा नलागौं । चरी र घैंटे मर्दा जसरी समाजले ‘कठै’ भनेन, यसबाट अरु घैंटे र चरीहरुले पनि पाठ सिकून् । ‘घैंटे’ जिन्दावाद’ भनेर समाजलाई सकारात्मक शिक्षा  दिन सकिँदैन । भ्रष्टाचारीको छोरो, छोरी वा पत्नी भएर बाँच्न कसैलाई पनि निको लाग्दैन ।

कति मारिए नक्कली इन्काउन्टरमा ?
जहाँसम्म चरी र घैंटेलाई प्रहरीले नक्कली इन्काउन्टरमा मार्‍यो भन्ने सभासदहरुज्यूको चिन्ता छ, प्रहरीलाई यस्तो बनाउने तपाईहरु नै हो । एकपटक विगतलाई फर्केर हेरौं त, सशस्त्र द्वन्द्वका बेला कति जना निर्दोष र निहत्था नागरिकहरुलाई सुरक्षाकर्मीले नक्कली मुठभेड खडा गरेर मारेका थिए ? यसबारे सभासदज्यूहरुलाई ज्ञात छ ? कसले, कुन पार्टीले सिकाएको थियो, प्रहरीलाई यस्तो ‘नक्कली’ काम गर्न ? कांग्रेस र एमालेले होइन ?

भागवतमा पढ्न पाइन्छ, बेन राजा मारिँदा देशमा कसैले शोक मनाएनन् । कसैले बेनलाई गिरफ्तारमात्रै गरेको भए हुन्थ्यो भनेर सहानुभूति जनाएनन्

मुठभेडका नाममा निर्दोष नागरिकहरु भटाभट मारिँदा तपाईहरु मौन बस्नुभयो, किनभने ती जनता एमाले-कांग्रेस थिएनन् । अहिले आपराधिक पृष्ठभूमिका एक-दुईजना मारिँदा किन संसदमा ढ्याप ढ्याप गर्नुहुन्छ ? किनभने ती तपाईका कार्यकर्ता र बिजनेस पार्टनर थिए ।

त्यसैले, सभासदहरुमा देखिएको चिन्ता साँच्चै नै मानवअधिकार र फौजदारी न्यायकै लागि हो भने अहिलेसम्म मुठभेडमा मारिएका निर्दोष र निरीह जनतामाथि लादिएको हत्याको विरुद्धमा अभियान चलाउनोस्, तपाईहरु साँच्चैको नेता ठहरिनुहुनेछ ।

राज्य आतंकको शिकार भएका ती निरीह जनताका छोराछोरी र एकल महिलाहरु अहिले पनि आँशुमा डुबेर बाँचिरहेका छन् । तिनीहरुको आँशु चाँहि पातलो चौलानी र खुश्बुको आँशुचाँहि दुखको सागर कसरी हुन सक्छ सभासदज्यू ?
अन्यथा, ‘डन’को पक्षमा उठेको तपाईहरुको आवाज हावामा बिलाउने छ, जसरी चरीका समर्थकहरु बिलाए । आखिर यस्तै हुँदोरहेछ ‘डन’को मृत्युको पहेली ।

भागवतमा पढ्न पाइन्छ, बेन राजा मारिँदा देशमा कसैले शोक मनाएनन् । कसैले बेनलाई गिरफ्तारमात्रै गरेको भए हुन्थ्यो भनेर सहानुभूति जनाएनन् । कुनै वकीलले बेनको हत्या गैर न्यायिक भयो भनेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment