Comments Add Comment

गुण्डा इन्काउन्टरको सन्देश : अपराधको घैंटो फुटेकै हो त ?

दीपेश केसी
‘डरधम्की र त्रास सिर्जना गरी चन्दा र अन्य सामाग्री संकलन गरेर भूकम्प पीडितका नाममा राहत बाँडेजस्तो गरी समाजसेवीको मुखुण्डो ओढ्न खोज्ने कुमार घैंटेलाई नियन्त्रणमा लिन खोज्दा उल्टो प्रहरीमाथि फायर गरेपछि मुठभेडमा मारियो ।’

dipesh kcअपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले पंक्तिकारको घैंटे किन मारिए प्रश्नको उत्तर यसरी दिए । अपराध अनुसन्धान महाशाखा काठमाडौंमा पाइला राख्नेवित्तिकै जमिम शाहको हत्याका फरार अभियुक्त पक्राऊ गर्नेदेखि आपराधिक गतिविधि नियन्त्रणमा एकपछि अर्को सफलता हासिल गरेर वाहीवाही पाएका खनाललाई घैंटे ‘इन्काउन्टर’ले फेरि चर्चामा ल्याएको छ ।

प्रहरी अधिकृतको ख्याती बढ्ने र मारिएका गुण्डा नाइकेको कुख्याति सतहमा आएको घटनाले गुण्डागर्दीको भित्री पाटो, गुण्डागर्दी नियन्त्रणमा प्रहरीले अपनाउने कठोर रणनीति र गुण्डा संरक्षण गर्ने राजनीतिक दलका केही नेताहरूको चरित्र एकसाथ उजागर भएको छ ।

गुण्डागर्दीबाट समाजमा त्रास फैलाएको बलमा पैसा कमाउन र पहुँच बढाउन सक्ने मध्येका थिए कुमार श्रेष्ठ उर्फ घैंटे । शहरीकरणसँगै बढ्दो गुण्डागर्दी र राजनीतिक अस्थिरताका बीच मौलाएका गुण्डा नाइकेमध्येका घैंटेको ‘इन्काउन्टर’ सँगै वर्तमान नेपाली समाजमा व्याप्त अपराध र त्यसको नियन्त्रणको हिंसात्मक शैली उजागर भएको छ ।

हिंसामाथि हिंसा र बलमाथि बल प्रयोगको रणनीति बमोजिम अपराध नियन्त्रण गर्नेतर्फ प्रहरी अगाडि बढिरहेछ । यो कति सफल वा असफल होला ? घैंटेको अन्त्यले गुण्डागर्दीको घैंटो सधैंका लागि फुट्ला ? यी प्रश्नहरूको उत्तर खोज्न समय पर्खनुपर्दैन । बल प्रयोगले गुण्डाहरूलाई निरुत्साहित त पार्ला, तर गुण्डागर्दी समस्याको दिगो समाधान हुन सक्दैन ।

मनोवैज्ञानिक त्रास
गुण्डागर्दीमा संलग्न भएर चर्चामा पुगेका कुमार घैंटेको ‘मुठभेड’ मा मृत्यु भएसँगै गुण्डा नाइके बनेर त्रास फैलाउनेहरूको मुटुमा ढ्याङ्ग्रो बजेको छ । राजनीतिक र प्रशासनिक आड भरोसामा रातारात गुण्डा नाइके बनेर उदाएकाहरू मध्ये राजधानी र मुख्य शहरमा प्रभावशाली बनाएका गुण्डाहरूको मथिंगल हल्लिएको छ । यो गुण्डाहरूमाथि मनोवैज्ञानिक त्रास उत्पन्न गर्ने वा निरुत्साहित पार्ने कारण बन्यो । तर, कति दिगो हो प्रश्न गर्ने ठाउँछ । मारिनुपर्ने अवस्था आउनुमा केही उद्देश्य र कारणहरू छन् ।

गुण्डाहरूलाई पटक-पटक कानुनबमोजिम पक्राऊ गरी जेल हाल्दा जेलभित्रै अपराध साम्राज्य फैलाउने, जेलबाटै आपराधिक क्रियाकलाप गर्ने र पैसाको बलमा जेलमुक्त भई झन् आपराधिक क्रियाकलाप बढाउने गर्दा प्रहरीले कडा नीति अख्तियार गरेको हुन सक्छ । ‘समाजमा धेरै जनालाई अत्यधीक दुःख दिनेलाई बाँच्ने अधिकार छैन,’ पंक्तिकारले एक पूर्ववरिष्ठ प्रहरी अधिकारीको मुखबाट यो भनाइ बारम्बार सुन्ने गरेको थियो । चरी हुँदै घैंटे इन्काउन्टरमा यही नीति लागू भएको हुनसक्छ ।

चरी हुन् या घैंटे यही सामाजिक परिवेशबीच हुर्के बढे । समाजको अवस्थाले आपराधिक क्रियाकलापमा प्रभाव पर्छ । जुन समाज अपराधिक क्रियाकलापलाई निरुत्साहित गर्न बलशाली वा साहसी छ त्यो समाजमा अपराध अति कम हुन्छ । शहरी क्षेत्रमा गुण्डाहरूले प्रभाव बनाउनु र जरो गाड्नुले अपराधविरुद्ध समाज काँतर र कमजोर भएको प्रतीत हुन्छ ।
Kumar-Ghaite
समाजको तल्लो एकाइमा गुण्डाहरूलाई निरुत्साहित पार्ने परिवेश विकास हुनसकेको छैन । तसर्थ गुण्डाहरू समाजको तल्लो एकाइबाट मौलाउँदै प्रभावशाली बन्न पुग्छन् । उनीहरूका लागि प्रहरी प्रशासन समेत निरीह बनेको अवस्था समेत आए । आफ्नो निरीहताले उत्पन्न परिस्थितिको आलोचनाबाट मुक्त हुनका लागि पनि प्रहरीले बल प्रयोगको रणनीति चालेको हुनुपर्छ । गुण्डाहरू माझ मनोवैज्ञानिक त्रास उत्पन्न गर्न चरी र घैंटेको ‘इन्काउन्टर’ ले धेरथोर भूमिका खेलेको छ । तर, गुण्डागर्दी केही क्षण मथ्थर भए पनि तीनको गतिविधिले पुनः निरन्तरता पाउने निश्चित छ । किनभने समस्याको दीगो समाधानको दिशामा प्रहरी प्रशासन अगाडि बढ्न चाहेको छैन । त्रासकै बलमा मात्र शान्तिसुरक्षा स्थापना गर्ने मूर्दा शान्तिको शैली विश्वमा कहीं सफल भएको छैन ।

कसरी फस्टायो गुण्डागर्दी ?
राजतन्त्रको समयमा दरबारिया गुट उपगुटले गुण्डाहरूलाई संरक्षण गर्थे । एउटा गुटले अर्को गुटलाई ठेगान लगाउन गुण्डाको प्रयोग गर्थे । प्रजातन्त्रपछि कांग्रेस र कम्युनिष्ट दुबैले गुण्डाहरूलाई संरक्षण दिएर नियोजित राजनीतिक उद्देश्य हासिल गर्न खोजे ।

बाहुबलले महत्व पाएपछि विचारको राजनीतिक कमजोर हुँदै गयो । गुण्डाहरू राजनीतिमा स्थापित भए । यतिसम्मकी प्रहरी प्रशासनको सरूवा र बढुवामा समेत चलखेल गर्थे । गुण्डालाई सलाम गर्नुपर्ने अवस्थामा पुगे प्रहरी । लोकतन्त्र स्थापनापछि माओवादी शहरमा पनि हावी हुनखोज्यो ।

शहरका चर्चित गुण्डाहरूलाई हातमा लिएर प्रयोग गर्न खोज्यो । वाइसिएलको छत्रछायाँमा पुगे धेरै गुण्डानाइके । वाइसिएलले एकछत्र जस्तै प्रभाव जमाएपछि अन्य दलहरू त्रस्त भए । नेकपा एमालेले योजनावद्ध तरिकाले वाइसीएललाई चुनौती दिन युथ फोर्स गठन गर्‍यो ।

बहालवाला उद्योगमन्त्री महेश बस्नेतले वाइसीएललाई ठेगान लगाउन गुण्डानाइकेहरूको प्रयोग गरिएको खुलासा आफ्नो पछिल्लो आत्मकथा ‘म महेश’ मा उल्लेख गरेका छन् । काँग्रेसको केही नेताहरूले पनि गुण्डाहरूको साथ लिएर प्रभाव बढाउन खोजे । नेतालाई गुण्डा नभई नहुने भयो । गुण्डालाई नेताको संरक्षण चाहियो । नेता र गुण्डाबीचको अन्र्तसम्बन्धले प्रमुख शहरहरूमा गुण्डाराज जस्तै भयो ।

काठमाडौंको प्रमुख व्यापारिक क्षेत्रमा गुण्डाराज भयो । कुन स्थानमा कुन प्रहरी प्रमुख छ भन्ने भन्दा पनि कुन गुण्डाको राज छ भन्ने चर्चा परिचर्चा हुनथाल्यो ।

संक्रमणकाल गुण्डाको स्वर्ग
संक्रमणकालको अन्यौलका बीच गुण्डाहरूले उत्तम अवसरहरू पाए । यसबीच गैरकानुनी धन्दा मौलायो । लागूऔषध तस्करी, मानव तस्करी, रक्तचन्दन तस्करीदेखि सुन तस्करी मौलायो । गुण्डाहरू आपराधिक क्रियाकलापमा सक्रिय भए । उनीहरूको आर्थिक हैसियत हृवात्तै बढ्यो ।

रक्तचन्दनबाट अरबौं कमाउने सम्मका गुण्डा निस्किए । यार्सागुम्बाको अवैध धन्दा होस् या लेनदेनको विवाद नै किन नहोस् गुण्डाको सहारा खोजियो । गुण्डाका लागि राजनीतिक अस्थिरता स्वर्ग बन्यो । किशोरावस्था पार गरेलगत्तै गुण्डा नाइके बन्नेहरू समेत रहे । गुण्डा समूहमा प्रवेश गरेकाहरू जुका टुक्रिए जसरी टुक्रिएर नयाँ समूह खडा गर्न थाले । उनीहरूलाई राजनीतिक शक्तिकेन्द्र देखि नेता विशेषको आशिर्वाद भयो । पक्रन नदिनदेखि पक्राऊ परे छुटाउन सम्म नेताहरू दबाब दिनथाले । प्रहरी प्रशासन गुण्डानाइकेलाई छुन समेत नसक्ने अवस्थामा पुगे ।

सतहमा गुण्डाहरूको भूमिका देखिए पनि उनीहरूलाई भ्रष्ट नेता, प्रहरी र प्रशासनसम्मको आशिर्वाद थियो । पर्दाभित्रका पात्रहरूले गुण्डालाई खटाएर भरपूर लाभ लिए । दरिलो ब्याकिङ्गले गुण्डाहरू हावी भए । समाजमा प्रभाव बढाउँदै राजनीतिक मुकुण्डो ओढ्न थाले । चुनावमा टिकट पाउनेदेखि जित्ने पनि रहे । गुण्डाको स्तरबाट उठेर राजनीतिक दलका नेताको हैसियत बनाउनसके ।

बाल्मिकी पनि रत्नाकर डाँकु थिए । सपि्रएर ऋषि बने । तर, नेपालका गुण्डा नाइकेहरू मध्ये धेरैजसो राजनीतिक मुकुण्डो ओढेर गुण्डाराज स्थापित गर्न सक्रिय भए । यसले अराजक अवस्था ल्यायो । जसले संरक्षण दिए उनीहरूलाई समेत समस्यामा पार्‍यो । प्रहरीको शान्तिसुरक्षा स्थापित गर्ने अभियानमा ठूलो चुनौती पैदा भयो । राजनीतिक संरक्षणले दण्डहीनता मौलायो । विकास निर्माणका काममा अवरोध उत्पन्न गराउनुका अलावा सामान्य काम गरिखानेहरूलाई समेत चुनौती थप्यो ।

गम्भीर अवस्थामा पुगेको चुनौतीलाई मध्यनजर राखेर होला प्रहरीले कठोर कदम चाल्न थाल्यो । चरी र घैंटे यही कदमको तारोमा परे । अरूहरू पनि तारोमा पर्ने सम्भावना रहनसक्छ ।

शक्तिको मापदण्ड गुण्डा
गुण्डाहरू कतिजना पछि लाग्छन् र कुन स्तरका गुण्डा पिछेलग्गु छन् त्यही नेताको शक्तिको मापदण्ड बन्ने अवस्था रहेसम्म गुण्डागर्दी कम हुँदैन । नेतालाई गुण्डा र गुण्डालाई नेताको आशिर्वाद चाहिने पद्धति विकास भएसम्म कुनैपनि समाज गुण्डागर्दी विहिन हुनसक्दैन ।

यतिसम्म कि गुण्डागर्दीको पृष्ठभूमिबाट आएकाहरू नै नेता बन्नु नेपाली समाजको दुर्भाग्य हो । मन जितेर मात्र मत जित्ने परिवेश नबनिसकेको समाजमा मत जित्न गुण्डाको आँड चाहिने यथार्थ हो । तसर्थ गुण्डालाई किन तथाकथित इन्काउन्टरमा मार्‍यौ भन्ने प्रश्नभन्दा ‘मेरो मान्छे मार्न पाइन्छ ?’ भन्ने शैलीमा नेताहरू कुर्लन्छन् । बाँच्न पाउनु जो कसैको अधिकार हो । शान्तिपूर्वक बाँच्न नदिनेलाई बाँच्न नदिने रणनीति अझै हावी छ । तर, हरेक खराब वा असल नागरिकले बाँच्न पाउनुपर्छ । खराबलाई असल बनाउने दायित्व राज्यको हो । बाँच र बचाऔंको नीति बमोजिम शान्तिसुरक्षा कायम गर्ने रणनीति सबैभन्दा प्रभावशाली हो । यसलाई स्थापित गर्न सहज चाहिं छैन ।

चेतनशील र अपराधविरुद्ध साहस प्रदर्शन नागरिकको संख्या अधिक रहनुपर्छ ।

अन्तमाः चरी वा घैंटेको समाप्ति गुण्डागर्दीमाथि नियन्त्रणमा एउटा प्रयोग सिवाय केही हुन सक्दैन । यसबाट समस्याको दिगो समाधान चाहिँ असम्भव छ । समाधानका लागि गुण्डा बन्न नदिने उपाय अनिवार्य छ । गुण्डालाई निरुत्साहित गर्ने सामाजिक वातावरण, दण्डहीनता र गुण्डाहरूको राजनीतिक संरक्षण अन्त हुनैपर्छ ।

(केसी जवाहरलाल नेहरू विश्वविद्यालयमा अपराधबारे विद्यावारिधि गर्दैछन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment