Comments Add Comment

सभासदज्यू, ‘सिंघम र सिंघम रिटर्न्स’ पनि हेर्ने कि ?

विजय आवाज
डन भनिएका कुमार घैंटे बिहीबार मध्यान्हमा प्रहरीको इन्काउन्टरमा मारिएपछि कांग्रेसका सभासद भीसमेनदास प्रधानले प्रहरीलाई ‘दो आँखे बारह हाथ’ नामक हिन्दी चलचित्र हेर्न प्रहरीलाई सुझाव दिएका छन् ।

Bijay-Aawajतर, सायद धेरै पुरानो यो चलचित्रलाई याद गर्ने सभासदले एक बर्ष अगाडि मात्रै प्रदर्शनमा आएको चलचित्र ‘सिंघम र सिंघम रिटर्न्स’लाई चाहिँ बिर्सेछन् । अनि, उनले गाउँमा आतंक मच्चाउने र गरिब जनतालाई शोषण गर्ने ठेकदारसँग मिल्ने नेतालाई समेत ‘राउडी राथोड’ बनेका अक्षय कुमारले कुटेको बिर्सेछन् ।

प्रहरीले नेतालाई छाड्दैन सिंघममा
एकजना कालो व्यापार गर्ने मानिस बाबाको भेषमा मानिसलाई भेला पारेर प्रवचन दिन्छन् । उनको प्रवचन सुन्न आउने हजारौंलाई लाग्छ, यी जस्ता सज्जन र असल बाबा कोही पनि छैनन् । तर, भित्रीरुपमा कालो व्यापार र दलाली गर्ने बाबाको रुपलाई चिन्ने कमै मात्र छन् ।

मुम्बई शहरका कालो बजारी, दलाली, मान्छे मार्ने कामदेखि आतंक फैलाउने काम तिनै बाबाको निर्देशनमा हुन्छ । उनलाई आड दिने नेताहरुको कमी पनि छैन । नेताका साथमा उनी शहरमा यस्तै आतंक मच्चाइरहेका छन् ।

तिनै बाबाको कतुर्तलाई पर्दाफास गर्न लागिपर्छ, एक निडर प्रहरी । ‘सिंघम’ नाम गरेको प्रहरी अफिसरको विपक्षमा बाबा र केही नेता उभिनु त स्वभाविक नै थियो । करिब दुई घन्टा लामो हिन्दी चलचित्र ‘सिंघम रिटन्र्स’को अन्त्यमा प्रहरीले बाबा र नेतालाई त समात्छ । तर, सिंघलाई एउटै डर छ, फेरि पावर र पैसाको बलमा उनीहरु छुट्छन् र शहरमा पुरानै राज जमाउँछन् ।

प्रहरीको भ्यान बाटोमा रोक्ने निहुँमा एक ट्याकंरलाई ठक्कर दिन लगाएर बाबा र नेताको हत्या गरिन्छ । र भनिन्छ, प्रहरीहरु बाथरुम गएको समयमा भ्यानले ठक्कर दियो । अन्त्यमा प्रहरी अफिसर्सको सम्वाद पर्दामा घन्किन्छ- ‘सिंघम के काम करनेका स्टाइल यही तो फरक हे’ ।

रोहित सेट्टीको निर्देशनमा तयार भएको र अजय देवगणले शीर्ष भूमिकामा काम गरेको चलचित्र ‘सिंघम रिटन्र्स’ले मुम्बईको आतंक र कालोबजारी अन्त्य गर्नका लागि त्यसको पछाडि लागेका दलाल मात्र होइन, नेताको पनि सफाया गरेको देखाएको छ ।

गलत काम गर्ने जो कोहीलाई पनि कानुनले छाड्नुहुँदैन भन्ने सन्देश चलचित्रको छ । सायद, यो चलचित्र हेरेर हजारौं नेपालीले पनि थपडी बजाए होलान् । त्यसैका आधारमा बनेका कार्टूनलाई हेरेर नेपाली वालवालिकाले पनि भन्ने गरेको छन्, ‘सिंगम के चंगुल से बचना मुस्किल है !’

नेपालमा ‘सिंघम’ जन्मने संकेत
हो, कुनै पनि मानिसलाई विनाकारण हत्या गर्न कसैले पनि पाउँदैन । किनकि, कानुन सबैभन्दा माथि छ । तर, खराब काम गर्ने र समाजलाई नै आतंकित बनाउने जो कोहीलाई पनि अपराधको कणघरामा ल्याउने काम प्रहरीको मात्र होइन नेता र जनताको पनि हो ।

तर, अपराधको घेराभित्र रुमल्लिएको अपराधीलाई छुटाउन जाने नेता र कार्यकर्ता पनि सही हुन् भन्न कदापी मिल्दैन । जब समाजमा हत्या, हिंसा र बलात्कारका घटना बढ्दै जान्छन् र त्यस्ता अपराधीलाई संरक्षण गर्दै राजनीतिक दलका नेता नै अगाडि सर्छन् भने शहरमा अब ‘दो आँखे बारह हाथ’ का होइनन् सिंघमका जस्तै प्रहरीको जन्म नहोला भन्न सकिँदैन । सायद, सभासद् ज्यूले एक पटक ‘सिंघम, इन्डियन, सिंघम रिटन्र्स, गर्भ, फर्ज’ जस्ता हिन्दी चलचित्र हेर्दा राम्रो होला कि ?

अनि, प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका एक डनको इन्काउन्टरमा निधन हुँदा कुर्लन सभासदले देशका विभिन्न भागमा आन्दोलनका क्रममा निधन भएका जनताको पक्षमा मुख नखोल्नु आफैमा उदेकलाग्दो कुरा छ । सभासद ज्यू, कृपया संसद बैठक सकिएपछि माथि उल्लेखित चलचित्रका भीसीडी लगेर पक्कै पनि हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment