Comments Add Comment

वैदेशिक रोजगारीमा जाने महिला घटे

८ साउन, काठमाडौं । वैधानिक रुपमा कामका लागि विदेशिने महिलाको संख्या अघिल्लो आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७०/७१ को तुलनामा गत आवमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा २४ प्रतिशतले कमी आएको हो ।

baideshk rojgarआर्थिक वर्ष २०७०/७१ मा २८ हजार ९ सय ६६ जना महिलाले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्विकृति लिएका थिए ।

गत आर्थिक वर्षमा यो संख्या झण्डै सात हजारले घटेर २२ हजार २८ मा ओर्लिएको बैदेशिक रोजगार विभागले जनाएको छ । आर्थिक वर्ष २०६८/६९ पछिकै यो सबैभन्दा न्यून संख्या हो ।

युएई जाने महिला धेरै

गत आर्थिक वर्षमा सबैभन्दा धेरै महिला खाडी मुलुक युएइ गएका छन् । एक वर्षको अवधिमा युएई जाने महिला कामदारको संख्या ७ हजार ५ सय ९४ रहेको छ । महिला कामदारको लागि दोस्रो आकर्षक गन्तब्य मलेसिया देखिएको छ ।

एक वर्षमा त्यहाँ जान पाँच हजार ८ सय ९९ जना महिलाले श्रम स्विकृति लिएका छन् । यस्तै कतार, कुवेत, ओमान, साउदीअरव, लेबनान, इजरायल, दक्षिण कोरिया, जापान लगायतका मुलकमा जान चाहने महिला पनि उल्लेख्य छन् ।

अधिकांश घरेलु कामदार

अधिकांश महिलाहरु घरेलु कामदारका रुपमा विदेशीने गरेको वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुख मधुबिलास पण्डित बताउछन् । विशेषगरी ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरु खाडी मुलुक जान इच्छुक देखिएको पण्डितको अनुभव छ ।

घरेलु कामदारका रुपमा खाडी मुलुक जाने महिलाले सामान्यतया महिनाको २५/३० हजार रुपैयाँ आम्दानी गर्छन् । औद्योगिक कामदारका रुपमा जाने महिलाको संख्या न्युन छ । घरेलु कामदारका रुपमा जानेहरुलाई घरमालिकले विदेशमा रहेका दुतावास मार्फत विभागमा सेवा, सुविधा लगायतका विषयमा स्पष्ट गनुपर्ने प्रावधान रहेको कार्यालय प्रमुख पण्डितले बताए ।

अवैधानिक रुपमा बाहिरने धेरै

वैधानिक रुपमा बाहिरिने महिलाको संख्या कम देखिएपनि अवैधानिक रुपमा बाहिरिनेको संख्या ठूलो हुन सक्ने विभागकै अनुमान छ । दलालमार्फत महिलाहरु भारत हुँदै अवैधानिक मार्ग प्रयोग गरेर विदेश गइरहेका छन् । जसले गर्दा महिलाहरु विदेशमा ठगिने, लुटिने र विभिन्न किसिमका हिंसामा पर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment