Comments Add Comment

राजावादीले दुःखमनाउ गर्नु आवश्यक छैनः बाबुराम

baburam_onlinekhabar

१० भदौ, काठमाडौं । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ संविधान निर्माणमा राजतन्त्रवादी शक्तिले दुःखमनाउ गर्न आवश्यक नभएको बताएका छन् ।

सविधानको विधेयकमाथिको छलफलमा भाग लिँदै भट्टराईले उदार लोकतन्त्रवादी पूँजीवादी शक्ति र अग्रगामी समाजवादी क्रान्तिकारी कम्युनिष्ट शक्तिबीच खिचातानी हुनु स्वभाविक भएको बताए ।

तर, राजतन्त्रवादी शक्तिले मेरा भनाइ रहे कि रहेनन् भनेर चित्त दुखाउनु आवश्यक नभएको बताए । उनले भने-‘सामन्तवादी शक्ति, राजतन्त्रवादी शक्ति, पुरानो शक्तिले मेरा अधिकार, मेरा भनाइ यहाँ रहे कि रहेनन् भनेर धेरै चित्त दुखाउनु, दुःखमनाउ गर्नु आवश्यक छैन ।’

राजतन्त्रवादी शक्तिले टेक्ने ठाउँ दिइएको भन्दै उनले भने-‘३०-वर्षे निरंकुश पञ्चायतको कालरात्री थियो, त्यसलाई उहाँहरुले पटक-पटक त्यो कालरात्रीतिर र्फकनु हुँदैन भनेर हामीलाई सम्झाइराख्नुभएको छ त्यसको निम्ति हामीले उहाँहरुलाई धन्यवाद दिनुपर्छ । त्यो नै उहाँहरुको भूमिका हो, त्यो नै उहाँहरुको टेक्ने खुट्टा हो ।’

त्यसभन्दा अगाडि बढेर फेरि पछाडि फर्काउने अधिकार प्राप्त गर्नुपर्छ भन्नु उपयुक्त नभएको एमाओवादी नेता भट्टराईले बताए ।

यसअघि बुधबार भएको छलफलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई टेक्ने ठाउँसम्म दिन आग्रह गरेका थिए ।

सामर्थ्य र पहिचानका आधारमा प्रदेशहरुको सीमांकन गरिएको भन्दै उनले केही नमिलेका ठाउँमा मिलाउन सकिने बताए ।

‘नयाँ ढंगले पुनःसंरचना गर्दैछौं भने मेरो क्षेत्र, मेरो जिल्ला के भयो, यो टुक्रियो यो टुक्रिएन भन्ने ढंगको बहस अहिले नगरौं’ भट्टराईले भने-‘मिल्यो कि मिलेन भन्ने मिलाउन भोलि संघीय आयोग बन्दैछ, संघीय आयोगले सीमाना मिलाउँदैछ ।’ तर, संघीयताको विषयमा विषयान्तर हुने ढंगले बढी बहस/छलफल नगर्न भट्टराईले आग्रह समेत गरेका छन् ।

सम्वाद समितिका सभापति समेत रहेका भट्टराईले धर्म निरपेक्षता हटाउन नहुने बताए ।

जनता सजग हुनुलाई अन्यथा मान्न हुन्न

संविधान बनाउने अन्तिम चरणमा आइपुग्दा विभिन्न ठाउँमा आन्दोलन भइरहेको भन्दै उनले आफ्ना अधिकार सुनिश्चितताका लागि जनता सजग हुनुलाई अन्यथा मान्न नहुने बताए ।

उनले भने-‘हामीले पनि आन्दोलनमा ठूल्ठूला काम गरेका छौं, ‘प्लेन’ हाइज्याक गर्नेसम्मका काम हिजो गरेकै हो । त्यसैले हामीले अहिले आन्दोलन गर्ने शक्तिहरुलाई दुत्कार्नु भन्दा पनि उनीहरुलाई वार्तामा ल्याएर समाधान खोज्नेतिर जानुपर्छ ।’

टीकापुर लगायतका ठाउँमा दुःखद् घटना भएको भन्दै भट्टराईले सम्वाद र सहमतिबाटै निकास खोज्नु पर्नेमा जोड दिएका छन् ।

तर, छिटो संविधान बनाउन चुक्न नहुने भन्दै उनले भने-‘सगरमाथाको चुचुरो नजिकै ‘साउथ कोल’मा हामी आइपुगेका छौं । यसपटक हामीले सगरमाथाको चढाइ गर्नैपर्छ । तपाईं-हामीलाई असफल हुने छुट छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment