Comments Add Comment

कर्मचारीको मिलेमतोमा कृषि विकास बैंकको झण्डै ३४ करोड हिनामिना

१० भदौ, काठमाडौं । बैंक कर्मचारीको मिलेमतोमा कृषि विकास बैंक स्वयम्भू शाखाबाट झण्डै ३४ करोड रुपैयाँ निकालेको खुलेको छ ।

Agriculture-Bankरकम हिनामिनामा संलग्न भएको आरोपमा बैंकको स्वयम्भू शाखाका प्रमुख सुमन भुजेल, लेखापाल गीता पन्त र शाखा अधिकृत केदारप्रसाद गौतम सहित ९ जना पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

पन्त र गौतमले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरुमा रेमिट्यान्सबाट रकम आएको देखाए आफ्नो समूहले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए । उनीहरुले २०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोढ ८२ लाख ५ सय ७८ रुपैयाँ निकालेका थिए ।

यसरी भयो हिनामिना

कृषि विकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा कार्यरत शाखा अधिकृत केदार प्रसाद गौतमले रामेछाप डडुवा १ घर भई भारत बस्ने राजिब थापा भन्ने कृष्णहरि थापासँग मिलेर यस्तो योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

योजना अनुसार गौतम कार्यरत स्वयम्भू शाखामा २०७१ असोज महिनामा केही दिनको अन्तरालमा ४ वटा नक्कली खाता खोलिएको थियो । उक्त खातामा अनियमित तवरले रकम जम्मा गर्ने, ट्रान्सफर गर्ने जिम्मेवारी गौतमले तथा खातावालहरुको बन्दोबस्त गर्ने जिम्मेवारी कृष्णहरि थापाले लिए ।

Bank hacker

थापा १४ बर्षदेखि भारतमा बसोबास गरी रासनकार्ड समेत लिएसकेकाले नेपाली मूलका व्यक्तिहरुलार्इ प्रयोग गरे । तर, उनीहरूको फोटो मात्र प्रयोग गरी नक्कली नागरिकता र विवरण भेरेर खाता खोले । बैंकका कर्मचारी केदारप्रसाद गौतम र गीता पन्तको पासवर्ड प्रयोग गरी तीनै खातामा सीबीएस लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रकम आएको देखाई बदनियत तवरले रकम जम्मा गरे ।

यसरी जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मंगलबजार, न्यूरोड, रत्नपार्क लगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रे लगायतका अन्य ७ वटा बैंकहरुमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरी चेक मार्फत रकम भुक्तानी लिई ३३ करोढ ८२ लाख ५७८ रूपैयाँ निकिलएको छ । खातावालले रकम भुक्तानी लिइसकेपछि समझदारी अनुरुपको केही रकम खातावाललाई दिई केदार प्रसाद गौतम र कृष्णहरि थापाले बाँकी रकम आफुहरुले बाँडफाड गर्ने गरेको प्रहरी अनुसन्त्रानबाट खुलेको छ ।

रकम हिनामिनापछि भाग्न केदारले श्रीमती सम्झना पोखरेललाई अमेरिकी डीभी परेको कार्यालयमा जानकारी गराएका थिए । उनले गत चैतमा सम्झना पोखरेल र छोराछोरीलार्इ सिलिगुढीमा लगेर राखेका थिए । उनीहरूले कृष्णहरि थापाको सहयोगमा आफुले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको  र त्यसैको आधारमा बैंक खाता समेत खोलेको तथा जग्गा जमिन समेत खरीद गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

श्रमतीलाई भारतमा पठाएपछि केदार लाजिम्पाटमा अपार्टमेन्ट भाडामा लिई कान्छी श्रीमती जेनी श्रेष्ठसँग बसोबास गस्ने गरेका थिए । पोर्चुगलको रेसिडेन्ट कार्ड धारी झापाकी जेनी श्रेष्ठसँग विवाह गरी तेजबहादुर थापा कै नामको राहदानीमार्फत युरोप जाने तयारीमा रहेका उनले आफ्नो तथा श्रीमतीको नाममा रहेको चल, अचल सम्पत्ति बिक्री गरेका थिए ।

त्यसका लागि उनले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु तथा लेखनदास समेतको कीर्ते कागजात खडा गरी तेजबहादुर थापाको नाममा नागरिकता प्रमाण-पत्र र राहदानी लिइसकेका थिए । उनले तेजबहादुर थापाकै नाममा सेन्चुरी बैंक, भक्तपुर शाखामा खाता खोली ३५ लाख भन्दा बढी रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।

केदारप्रसाद गौतमले विशालबजारस्थित ओम गोल्ड हाउसका प्रोप्राइटर सन्दिप गुप्ता तथा भारत राजस्थान निवासी राम कुमार कुम्हारमार्फत पटक-पटक गरी. ३ करोड हुण्डी गरी भारत सिलिगुढी पठाएको पाइएको छ । सन्दिप गुप्ताले ३५ लाख भन्दा बढी रकम तेज बहादुर थापाको नामको सेन्चुरी बैंकमा जम्मा गरी लुकाउन पनि सहयोग गरेका छन् ।

को-को परे पक्राउ ?

प्रहरीले केदार प्रसाद गौतमसँगै उनकी दुर्इ श्रीमती जेनी श्रेष्ठ र सम्झना पोखरेल, स्वयम्भू शाखाकी लेखापाल गीता पन्त, शाखा प्रबन्धक भरतबहादुर बानियाँ र सुमन भुजेललार्इ पक्राउ गरेको छ । उनीहरूले केदार प्रसाद गौतमले कसूर गरी प्राप्त गरेको मध्येको रकम लुकाउन-छिपाउन सहयोग गरेका थिए ।

नक्कली खातावाल बनी रु. ६ करोड भन्दा बढी भुक्तानी लिने सुर्य बहादुर लिम्बु, हुण्डी मार्फत भारत पठाउन सहयोग गर्ने सन्दिप गुप्ता र राम कुमार कुम्हार पनि पक्राउ परेका छन् ।

यसैगरी जिल्ला प्रशासन कार्यालय, भक्तपुरका नायव सुब्बा द्वय लक्ष्मी प्रसाद तिमिल्सिना र मोहन देउबञ्जार, कार्यालय सहायक साजन कुमार नयाँजु र लेखनदास कृष्ण बहादुर कटुवाल पनि पक्राउ परेका छन् ।

उनीहरूले केदार प्रसाद गौतमलाई तेज बहादुर थापाको नामको नाममा भक्तपुरको झूठो लालपुर्जा र नागरिकताको प्रतिलिपी बनाउन सहयोग गरेका थिए । भक्तपुर जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि उनीहरूलार्इ भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत समेत पर्ने भएकाले थप कारवाहीका लागि अख्तियार पठाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment