Comments Add Comment

भूकम्पले थलिएको पर्यटन बन्दको थप मारमा

sagarmatha-5

नविन अर्याल
११ भदौ, काठमाडौं । विगतमा असोजदेखि सुरु हुने पर्यटकीय सिजनका लागि होटल व्यवसायीलाई बुकिङ लिन भ्याई नभ्याई हुने गर्थ्यो । तर, यस वर्ष अलिअलि भएको बुकिङ पनि रद्द गर्ने क्रम सुरु भएको छ ।

विनाशकारी भूकम्पले शुन्यमा झरेको पर्यटन क्षेत्रमा अटम सिजनदेखि पुनः चहल पहल सुरु हुने अपेक्षा गरिएको थियो । प्राकृतिक भूकम्प सेलाउन नपाउँदै राजनीतिक भूकम्प आएपछि तंग्रिन थालेको पर्यटन क्षेत्र थप मारमा परेको छ । मुलुक पुनः अनिश्चितकालिन बन्द हड्तालको चपेटामा परेपछि भएको बुकिङ पनि रद्द हुन थालेको हो ।

आगामी सिजनको मुखैमा प्रदेशको विषयलाई लिएर राजधानीसहित देशभर आन्दोलन चर्किएपछि पर्यटक नेपालमा आउन डराएको व्यवसायीहरुको भनाई छ । भूकम्पले थलिएको पर्यटन क्षेत्र बन्द हड्तालका कारण झनै मारमा परेको छ ।

‘यसै त भूकम्पपछि होटल बुकिङ आधाभन्दा बढीले घटेको छ’ सांगि्रला होटलका कार्यकारी निर्देशक प्रविण वहादुर पाण्डेले भने- ‘सरकार तथा व्यवसायीको पहलमा बुकिङ इम्प्रुभ हुँदै गइरहेको थियो, यही बेलामा चर्किएको आन्दोलनले थप मारमा परियो ।’

सिजनको मुखमा लगतार बन्द हड्ताल हुँदा अलिअलि भएको बुकिङ पनि रद्द हुन थालेको होटल पण्डेको भनाई छ । भूकम्पले गर्दा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरका लागि यस वर्ष होटल बुकिङ न्यून देखिएको छ ।

Five Star Hotel (1)

अघिल्ला वर्षमा यति बेला होटल बुकिङ ६०/७० प्रतिशत पुगिसक्थ्यो । तर, यस वर्ष ३० प्रतिशतको हाराहारीमा बुकिङ भएको व्यवसायीको भनाई छ । यही बुकिङ पनि बन्द हड्तालको कारण रद्द हुन सुरु भएको छ ।

होटल एशोसियन नेपाल (हान)का कार्यकारी सदस्यसमेत रहेका पाण्डेका अनुसार अहिलेसम्म पाँचतारे होटल सेप्टेम्बरका लागि १८ देखि २४ प्रतिशत, अक्टोबर-नोभेम्बरका लागि ४० देखि ५० प्रतिशत र डिसेम्बरका लागि ३० देखि ४० प्रतिशतसम्म बुकिङ भइसकेका थिए । बन्द हड्ताल नभएको भए यो सिजनमा औषत बुकिङ ५० प्रतिशतसम्म पुग्ने उनको अनुमान थियो ।

यो बुकिङ दर राजधानीका ४/५ वटा पाँचतारे होटललाई आधार बनाएर निकालिएको हो । अघिल्लो वर्ष पाँचतारे होटलको बुकिङ सेप्टेम्बरमा ५३.४६, अक्टोबरमा ७३.०२, नोभेम्बरमा ८६.३३, डिसेम्बर ५८.८३ प्रतिशत रहेको थियो ।

‘आन्दोलनले आगामी सिजन सकिएजस्तै छ, तर पनि सास रहँदासम्म आशा त मार्नु भएन, आशावादी हुनुपर्छ’ प्यासिफिक एशिया ट्राभल एजेन्टस् (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले भने- ‘भूकम्पपछि आर्जन गरेको शक्ति खेरा जाने भयो ।’

Five Star Hotel (1)

आन्दोलन तत्कालै समाप्त भएमा आगामी सिजनको बुकिङ यथावत रहने बताउँदै पाण्डेले आन्दोलन जारी रहेमा उक्त सिजन समाप्त हुने ठोकुवा गरे । ‘आन्दोलन यथावत रहिरहेमा अलिअलि भएको बुकिङ पनि रद्द हुन सुरु भइहाल्छ’ उनको भनाई थियो ।

आन्दोलन बन्द हड्तालले यो वर्षमात्र नभई आउने वर्ष पनि प्रभावित हुने ठोकुवा गर्छन सांगि्रलाका कार्यकारी निर्देशक पाण्डे । ‘अन्तर्राष्ट्रिय टुर अपरेटरहरुले आउने वर्षका लागि यही वर्ष आफ्नो योजना बनाउने गर्छन्’ उनले भने- ‘यही अवस्था रहिरहेमा उनीहरु अन्य मुलुक प्रमोटिङमा लाग्छन ।’

यो नियम तेस्रो मुलुकका पर्यटक तथा टुर अपरेटमा लागू हुने गर्छ । भारत र चीनका पर्यटकमा भने यो लागू नहुने पाण्डेको भनाई छ ।

भूकम्प र आन्दोलनले गर्दा यस वर्ष ३ लाख पर्यटक पुग्न पनि कठिनाई हुने पाण्डेले बताए । भूकम्पपछि सरकारले नेपालको प्रवर्द्धनमा खासै लगानी नगरेको उनले गुनासो गरे ।

‘थाइल्यान्डजस्तो मुलुकमा सुनामी आउँदा सरकारले अर्बौं अरब रुपैयाँ खर्च गर्दा पनि पर्यटन पुनरुत्थान हुन दुई/तीन वर्ष लाग्यो’ उनले प्रश्न गरे- ‘हाम्रोमा एक रुपैयाँ लगानी नगरी कसरी पर्यटक भित्राउन सकिन्छ ?’

उपत्यकाबाहिर पनि बुकिङ न्यून

काठमाडौं उपत्यकामात्र होइन भूकम्प र आन्दोलनले उपत्यका बाहिर पनि होटल बुकिङ न्यून देखिएको छ । मुलुकको दोस्रो गन्तव्यका रुपमा रहेको पोखरामा आगामी सिजनका लागि ३०/४० प्रतिशतमात्र होटल बुकिङ भएको हान पोखराका अध्यक्ष भरत पराजुलीले बताए ।

Pokhara Views (21)

‘यही बुकिङ पनि बन्द हड्तालले रद्द हुन थालेको छ’ उनले भने- ‘यो सिजनमा ५० प्रतिशत बुकिङ पुग्छ की भन्ने आशा थियो, त्यो पनि बन्द हड्तालले अनिश्चित गराइदियो ।’

आगामी सिजनका लागि यो बेलासम्म पोखराका ठूला होटलहरु ८० देखि ९० प्रतिशतसम्म बुकिङ भइसक्थे । साना पर्यटकस्तरीय होटलमा पनि ४० प्रतिशतको हाराहारीमा बुकिङ भइसक्थ्यो ।

पोखरामा फुलवारी रिसोर्ट र पोखरा ग्रान्ड गरी दुईवटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् । करिव १२ वटाजति तीनतारे होटल छन भने १५ वटा जति दुई तारे र २०/३० वटाजति एकतारे स्तरका होटलहरु रहेका छन् ।

पर्यटकस्तरीय होटल ४ सयवटाको हाराहारीमा रहेको अध्यक्ष पराजुलीले बताए । उनका अनुसार पोखरामा बेड संख्या १८ हजार पुगिसकेका छन् ।

सौरहा पनि उस्तै

Souraha-Chitawan
मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको सौरहामा पनि बुकिङ नगन्य नै रहेको छ । आगामी सिजनलाई १० देखि १५ प्रतिशतमात्र बुकिङ आएको जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले बताए ।
उनका अनुसार आगामी सिजनका लागि सौरहाका होटल ३० देखि ४० प्रतिशतसम्म बुकिङ हुने अपेक्षा गरिएको थियो । तर, लगतारको बन्द हड्तालका कारण भएको बुकिङ पनि रद्द हुने डरमा व्यवसायीहरु रहेका छन् ।

यस्तो थियो अघिल्लो वर्षको अकुपेन्सी

सन् २०१४ मा पाँचतारे होटलमा ५ लाख २३ हजार ४५३ रुमहरु उपलब्ध भएकोमा ६१ प्रतिशत अर्थात ३ लाख १९ हजार २८४ रुमहरु भरिएका थिए । तर, यस वर्ष ३० प्रतिशत पनि नपुग्ने अनुमान व्यवसायीको छ ।

गत वर्ष पाँचतारे होटलहरु सेप्टेम्बर महिनामा ५३.४६, अक्टोबरमा ७३.०२, नोभेम्बरमा ८६.३३, डिसेम्बरमा ५८.८३ प्रतिशत अकुपेन्सी रहेको पर्यटन मन्त्रालयको भनाई छ ।

Lumbini-FInal

चारतारे होटलमा ८० हजार ८ सय ४ रुमहरु उपलब्ध भएकोमा अकुपेन्सी ७१.५४ प्रतिशत रहेको थियो । चारतारे होटलहरु सेप्टेम्बरमा ७३.८१, अक्टोबरमा ८५.५६, नोभेम्बरमा ८६.८४, डिसेम्बरमा ६३.३९ प्रतिशत अकुपेन्सीमा थिए ।

तीनतारे होटलमा तीन लाख ७२ हजार १७७ रुमहरु उपलब्ध भएकोमा २ लाख ७ हजार २९६ रुमहरु अर्थात ५५.७० प्रतिशत अकुपेन्सी रहेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

दुईतारेमा २ लाख १२ हजार ९२८ रुमहरु उपलब्ध भएमध्ये ७८.२२ प्रतिशत अर्थात १ लाख ६६ हजार ५५२ रुमहरु भरिए । एकतारेमा ३ लाख ६० हजार ९३ रुमहरु उपलब्ध भएकोमा ४२.०२ प्रतिशत अर्थात १ लाख ५१ हजार ३ सय ३ रुमहरु भरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment