Comments Add Comment

सडकदेखि सहरसम्म : नेपाली युवाको संघर्ष

विनोद घिमिरे

काभ्रे विर्ता देउराली गाविस ९ का किरण अधिकारी ब्रहृमाण्ड सम्वन्धी अध्ययन अनुसन्धानका लागि अहिले अमेरिकामा छन् । कुनै फिल्मको कथा जस्तै छ किरण अधिकारीको जीवन । काठमाडौंका सडक, पाटी र मन्दिरका सिँढीहरुमा रात काटेका छन् । आफूलाई जन्म दिने आमा-बुवा त्यागेका छन् । पेट भर्न माग्दै हिँडेका छन् ।

Kiran Adhikari२६ बर्षको कलिलो उमेरमै यो सफलता हासिल गर्नका लागि उनले निकै संघर्ष गरेका छन् । विज्ञान विषय अध्ययनका लागि परिवारका सदस्यबाट सहयोग नपाएपछि कैयौं दिन पानी मात्रै पिएर भोकै बसेका छन् । काठमाडौंका सडक, पाटी र मन्दिरका सिँढीहरुमा रात काटेका छन् । आफूलाई जन्म दिने आमा-बुवा त्यागेका छन् । पेट भर्न माग्दै हिँडेका छन् । पत्रिका बेचेर, पार्टी प्यालेसहरुमा वेटरको काम गरेर, जुठा भाँडा माझेर अध्ययनका लागि रकम जुटाएका छन् ।

कुनै फिल्मको कथा जस्तै लाग्ने संघर्षबाटै उनी अहिले ब्रहृमाण्ड सम्वन्धी अध्ययन अनुसन्धानका लागि बिभिन्न देशहरुबाट निम्ताइन्छन् । उनी अहिले स्ट्यानफोर्ड यूनिभर्सिटी मातहतको अमेरिकी सरकारको नेश्नल एक्सलेरेटर ल्याब्रोटरी (एसएलएसी) ले आयोजना गरेको ब्रहृमाण्डसम्वन्धी अनुसन्धानमा ‘गेष्ट रिसर्चर’कोरुपमा सहभागी छन् ।

सानो उमेरमै यति ठूलो सफलता कसरी ? किरण अधिकारी भन्छन्, ‘मैले जुन संघर्ष गरें अहिले त्यसैको फल मिलेको छ । संघर्षले मानिसलाई जीउन सिकाउँदो रहेछ । आँट गरे सफल भइन्छ भन्थे हो रैछ ।’

Kiran Adhikari 2

अमेरिका प्रस्थान गर्नुअघि अनलाइनखबरसँग जीवनमा भोगेका अभाव र संघर्षका कथा सुनाउँदै थिए उनी । करिब २ घण्टाको बसाईमा कहिले हसाउँथे त कहिले भावुक बनाउँथे । उनी भन्थे, ‘मैले जीवनमा भोगेका दुःख १० प्रतिशत मात्रै सेयर गरेको छु । विगतलाई सम्झेर वर्तमानलाई दुःखी बनाउन चाहान्नँ ।’

स्वीटजरल्याण्डस्थित सेन्टर फर यूरोपियन न्यूक्लियर रिसर्च (सीईआरएन) को लोगो अंकित कालो टिसर्ट, कालो जिन्स पाइन्ट, कालो छालाको जुत्ता लगाएका र कालो ल्यापटप ब्याग भिरेका किरण कुराकानीको क्रममा खुल्दै गए ।

‘तीन दिन भोकै बस्दा एकजना मानिसले मम खाएको हेरिँरहे, मैले हेरिरहेको देखेर उसले मलाई भाइ तिमीलाई भोक लागेको छ हो ? भनेर सोध्यो । मैले हो भनें । उसले मलाई दश रुपैयाँ दियो । मेरा लागि भगवान जस्तै बनेर आयो ऊ । मलाई दश रुपैयाँ दिएर भोक मेटाइदिने त्यो मानिसको अनुहार अझै पनि याद आइरहन्छ । यताउता हिँड्दा भेटिहाल्छु की जस्तो लाग्छ । तर आजसम्म भेटेको छैन ।’

सानैदेखि जिज्ञासु स्वभाव र पाठ्यक्रम भन्दा बाहिरका कुरा अध्ययनमा रुची राख्ने किरण विद्यालयदेखि कलेज पढ्दासम्म पटक पटक फेल भएका छन् । तर हिम्मत हारेनन् उनले ।

‘क्वेशनको आन्सर मैले आफ्नै तरिकारले दिन्थें । इक्जाम्पल दिँदा पनि साइन्सको कुरा जोड्थें । तर क्लास एटमा फेल भएँ । हरेक शब्दमा अंग्रेजी शब्द जोड्ने किरणले भने, ‘एसएलसी सेकेन्ड डिभिजनमा पास भएपछि कलेजमा साइन्स लिएर पढ्छु भनें तर बुवा मम्मलीले साइन्स पढाउने खर्च पुर्‍याउन सक्दैनौं बरु कमर्स पढ् भन्नुभयो । तर मलाई साइन्सको प्यासन थियो । मैले आफै खर्च जुटाएर पढ्छु भनेर घर छाडें ।’

Kiran

अभिभावकको साथ छोडेपछि कठिन दिन सुरु भए किरणका । क्याम्पस भर्ना हुने, किताब किन्ने, चिया खाजा जुटाउने लगायतका तमाम समस्या टार्नुथियो । ‘मैले नगरेको भन्ने केही काम छैन । पत्रिका पनि बेचियो, होटलमा भाँडा पनि माझियो । काम गर्ने सिलसिलामा बुटवलसम्म पुगें । त्यहाँ एउटा पार्टी प्यालेसमा वेटरको काम गर्न थालें । केहि पैसा बचत गरेर काठमाडौं फर्कें र पाटन क्याम्पसमा भर्ना भएर साइन्स पढ्न थालें ।’

पत्रिका बेचेर नाफा गरेको प्रसंग पनि सुनाए किरणले । ‘साना साना कुराहरुमा निकै चासो लाग्थ्यो । अरुले गरेको हेरेर काम सिक्थें । कोटेश्वरमा सन्ध्याकालीन, मध्यान्ह लगायतका पत्रिका कराउँदै बेच्दै हिँडेको देखेको थिएँ । यसो बुझेको त एक रुपैयाँमा किनेर ३ रुपैयाँमा बेच्दारहेछन् । मैले पनि त्यसैगरी एकैदिनमा १०० रुपैयाँ बनाएर खर्च टारेको छु । घर घरमा पत्रिका पुर्‍याउँदै पनि हिँडेको छु । क्याम्पस बाहेकको समय पत्रिका बेच्थें ।’

बीबीसीबाट पुरस्कृत

फुर्सदको समय साइबर गएर बताउने गरेको उनले बताए । साइबरमा बसेर विज्ञानसँग सम्वन्धीत लेख रचना, समाचार पढ्ने गरेको उनको भनाइ छ । ‘साइबर जाने र इन्टरनेटमा विज्ञानका कुरा खाजेर पढ्थें । त्यसमा पनि ब्ल्याकहोल, इनर्जीलगायतका विषयमा चासो लाग्थ्यो । एकदिन बीबीसीले विश्वभरका युवाहरुबाट ब्रहृमाण्ड सम्वन्धी लेख रचना आह्वान गरेको फेला पारें र अप्लाई गरें । मेरो लेख उत्कृष्ट भयो । बीबीसीले मलाई टेलिस्कोप गिफ्ट दियो । त्यसपछि झन् उत्साह थपियो ।’

विश्वभरका युवाहरुलाई पछि पार्दै बीबीसी जस्तो मिडियाबाट पुरस्कृत हुनु चानचुने कुरा थिएन । विश्वभरका युवाहरुलाई पछि पार्न सफल हुने गरी के लेखेका थिए त किरणले ? त्यतिबेलाको प्रसंग सुनाउँदै किरण भन्छन्, ‘मैले अहिलेको ब्रहृमाण्ड एकदिन समाप्त हुन्छ र ब्ल्याकहोलबाटै फेरि नयाँ ब्रहृमाण्डको सिर्जना हुन्छ भनेर लेखेको थिएँ । त्यो मेरो बिचार टप भएछ । म यति खुसी भएँ कि भनेरै साध्य छैन । त्यसपछि टेलिस्कोप बोकेर काठमाडौं र काठमाडौं भ्याली बाहिरका बिभिन्न स्कूल, कलेजहरुमा गएर विद्यार्थीहरुलाई देखाउन थालें । किताबमा चन्द्रमा, ग्रहहरुबारे पढिन्थ्यो । ति पढेका कुराहरुलाई टेलिस्कोपबाट हेरेर झन् धेरै कुराहरु सिक्न सकुन् भनेर विद्यार्थीहरुलाई देखाउँदै हिँडे ।’

Kiran Adhikari (2)

आफ्नो ज्ञान अरुलाई पनि बाँड्ने स्वभावका किरण टेलिस्कोप बोकेर हिँड्दै गर्दा धेरै जनासँग सम्पर्क भयो । धेरै ठाउँबाट सम्मान पाए । नेपाल फिजिक्स स्टुडेन्ट एसोसिएसन गठन गरेर त्यसको नेतृत्व पनि गरे किरणले ।

एकातिर चर्चा बटुल्दै गए पनि आईएस्सीको पढाइ भने उनको राम्रो भएन । पाटन क्याम्पसबाट आईएस्सी उत्तीर्ण हुन सकेनन् । साथीहरु र अग्रजहरुको सम्पर्कबाट आइन्सटाइन कलेजमा छात्रवृत्तीमा पढाइदिनु पर्‍यो भन्दै पुगे किरण । कलेजले प्रवेश परीक्षा लियो तर, उनी पास हुन सकेनन् । उनले शिक्षकहरुलाई अनुनय विनय गरे । छात्रवृत्तिमा पढाइदिन अनुरोध गरे ।

किरण भन्छन्, ‘एसएलसीमा राम्रो पर्सेन्ट पनि थिएन, इन्ट्रान्समा पनि फेल भएपछि भर्ना नलिने भन्न थाले । त्यसपछि मैले सरहरुलाई भेटेर मेरा सबै कुराहरु भनें, बीबीसीबाट पुुरस्कृत भएको कुरा सुनाएँ । पैसा नभएको र राम्रो नम्बर ल्याउन नसकेकै कारण पढाइबाट बन्चित नगर्नुस् भनेपछि उहाँहरु भर्ना लिन तयार हुनुभयो तर, सर्तसहित । सर्त के थियो भने ११ मा स्कलरसीपमा पढाउने तर ११ मा फेल भयो भने १२ मा स्कलरसीप नदिने । मैले हुन्छ भनेर पढ्न थालें । तर पास हुन नसकेपछि त्यो स्कलरसीप पनि खोसियो । म कलेज छाड्न बाध्य भएँ ।

केही अग्रजहरुको सल्लाह अनुसार फुल ब्राइट एकेडेमीको सम्पर्कमा पुगें र त्यहिँबाट प्लस टु पास गरें । अहिले गोल्डेनगेट कलेजमा फुल स्कलरसीपमा ब्याचलर पढिरहेको छु । आजभोली त फेल हुनु परेको छैन ।’ उनले आफ्ना सर्टिफिकेट पनि देखाए ।

कसरी शुरु भयो बिदेश यात्रा

इन्टरनेटमा ब्रहृमाण्डबारे विश्वले गरिरहेका गतिबिधि हेर्ने र त्यस सम्बन्धि लेख रचना पढ्नमा नै उनी अधिकांस समय बिताउँछन् । ब्रहृमाण्ड संबन्धि अनुसन्धान गर्दै आएको जर्मन सरकारको एक संस्थाले ब्रहृमाण्डबारे विश्वभरका व्यक्तिहरुबाट धारणा मागेको किरणले इन्टरनेटमार्फत् थाहा पाए र आफ्नो धारणा पठाए । त्यहि इन्टरनेटबाट प्राप्त धारणा अनुसार जर्मन सरकारले विश्वभरबाट छनोट गर्ने ६१ युवा वैज्ञानिकहरुको सूचीमा परे किरण । यो नै किरणको त्यतिबेलाकै सबैभन्दा ठूलो सफलता र संघर्षको प्रतिफल थियो ।

Kiran-Adhikari

‘सन् २०१२ को कुरा हो म काठमाडौंमा बसको यात्रा गरिरहेको थिएँ । मेरो मोबाइल बज्यो । त्यो फोन जर्मनीबाट रहेछ । म सेलेक्ट भएको कुरा जानकारी पाएँ र जर्मनी भ्रमणको निम्तो पनि पाएँ । मलाई सपना जस्तो लाग्यो । सुरुमा पत्याउनै सकिन । उताबाट बोल्ने मान्छेले इमेल चेक गर्न भनेर फोन राख्यो । मैले मोबाइलमै इन्टरनेट खोलेर इमेल चेक गरेको हो रहेछ,’ किरणले अनलाइनखबरसँग भने, ‘त्यतिबेला म खुसीले यति धेरै रोएँ कि कुरै नगर्नुस् । भोक भोकै हिँड्नुपरेको, सडकमै सुत्नु परेको सबै कुराहरु रिल जस्तै घुम्न थाले ।’

प्रधानमन्त्री कार्यालयबाट पाएको पीडा

जर्मनीमा विश्वभरका अनुसन्धानकर्ताहरुसँग बस्न र छलफल गर्न पाउने अवसरले खुसी भए पनि त्यहाँ पुग्ने खर्चको जोहो कसरी गर्ने भन्ने चिन्ता थपियो किरणलाई । जर्मनी गैसकेपछि बस्न, खान निःशुल्क भए पनि जाने टिकट खर्च आफै व्यहोर्नु पर्थ्यो । त्यसको लागि ९३ हजार रुपैयाँ जुटाउनु पर्ने भयो ।

मागेरै पढेका किरणलाई फेरि पनि माग्नैपर्ने स्थिति आयो । त्यसका लागि बिभिन्न निजी संघ संस्थादेखि सरकारी कार्यालय धाए पनि कसैले सहयोग गरेनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीले गरेको व्यवहारले झन् पीडा दिएको किरण बताउँछन् ।

‘सहयोग माग्दै हिँड्ने क्रममा हिमानी ट्रष्टले जर्मनी गएको टिकट पेस गरेमा त्यसको खर्च दिने बतायो । तर मलाई त त्यहाँसम्म जाने खर्च पहिले चाहिएको थियो । हिमानी ट्रष्टका कर्मचारीहरुले बाढी पीडितहरुको सहयोगमा जुटिरहेका छौं अहिले नै तपाईंलाई सहयोग गर्न सक्दैनौं भनेपछि फर्कें । त्यसपछि प्रधानमन्त्री कार्यालयमा पुगें । खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुनुहुन्थ्यो । उहाँको निजी सचिव हो जस्तो लाग्छ प्रकाश रेग्मीसँग सबै कुरा भनें । उहाँले केहि सहयोग गर्न सक्दैनौं, तपाईं जान सक्नुहुन्छ भनेर मेरो निवेदन टेबुलमा पछार्नुभयो ।’

यति कुरा गर्दा गर्दै किरण निकै भावुक बने । कुनै राजनीतिक दलको कार्यकर्ता नभएको र सोर्स फोर्स नपुगेरै आफ्नो कुरा सुनुवाइ नभएको निष्कर्ष निकाले उनले ।

‘ठूलो आड भरोसा थियो सरकारप्रति त्यो भनि टुट्यो । त्यसपछि निराश हुँदै काभ्रे फर्कें,’ किरणले भने, ‘जिल्लामा प्राइम एफएमले अन्तरवार्ता लिन बोलायो । मेरो कार्यक्रम सुनेर धेरैले सहयोग गर्ने बचन दिए । एफएमले नै पैसा संकलन गरेर टिकट खर्चको व्यवस्था गरिदियो ।’

त्यसपछि जर्मनी पुगेका किरण भूउपग्रह सम्वन्धि अनुसन्धानमा सहभागि भएका विश्वका ६० जना अनुसन्धानकर्ताहरु मध्ये उत्कृष्ट पाँचमा परे । त्यसपछि उनलाई विश्वकै ठूलो र उत्कृष्ट रिसर्च सेन्टर ‘सेन्टर फर यूरोपियन न्यूक्लीयर रिसर्च’ (सीईआरएन)मा बसेर अध्ययन अनुसन्धान गर्ने अवसर मिलेको थियो । उनले त्यहाँ नेपालमा खगोल पर्यटनको सम्भावनाबारे धारणा पनि राखेका थिए ।  किरणको धारणा एस्ट्रोनोमी पत्रिकामा पनि महत्वका साथ छापियो ।

सीईआरएनले अमेरिकाको नेश्नल एक्सलेरेटर ल्याब्रोटरीलाई सिफारिस गरेपछि स्ट्यानफोर्ड यूनिभर्सिटी मातहतमा सन्चालित अमेरिकी सरकारको अनुसन्धान केन्द्र ‘नेश्नल एक्सलेरेटर ल्याब्रोटरी’ (एसएलएसी)ले आयोजना गरिरहेको ब्रहृमाण्ड सम्वन्धी अनुसन्धानमा ‘गेष्ट रिसर्चर’को रुपमा सहभागिता जनाउने अवसर मिलेको उनी बताउँछन् । त्यहाँ अमेरिकी र युरोपियन देशहरुका बैज्ञानिकहरुसँग बसेर ब्रहृमाण्डको अध्ययन अनुसन्धान गर्ने र नेपाल फर्किने उनले बताए ।

के हो किरणको परिकल्पना ?

अधिकारीले ब्रहृमाण्डको भबिष्यबारे फरक खालको परिकल्पना गरेका छन् । उनी आफ्नो परिकल्पनाबारे प्रष्ट्याउदै भन्छन् ‘अहिलेको ब्रहृमाण्ड एक समयमा अन्त हुन्छ र फेरि नयाँ ब्रहृमाण्ड बन्छ र त्यो ब्ल्याकहोल बाटै बन्छ भन्ने मेरो परिकल्पनाको सार हो । यसलाई तत्कालै पुष्टि गर्न त सकिदैन तर यो परिकल्पना भविष्यमा यथार्थतामा परिणत हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

उनको यहि परिकल्पनाको कारण विश्वका धेरै ब्रहृमाण्ड सम्बन्धी अनुसन्धान गर्ने संस्थाले उनलाई अनुसन्धानको लागि बोलाइरहेका छन् । अहिलेसम्म दुई दर्जन भन्दा बढी देशमा अनुसन्धानको लागि गइसकेको अधिकारी बताउँछन् । अहिले उनलाई अनुसन्धानको लागि जसले बोलाउछन् ति संस्थाले आउने जाने टिकट समेत खर्च व्यहोर्नुपर्ने व्यबस्था गरिदिएका छन् ।

आफ्नो परिकल्पनालाई समेटेर किताब लेखिरहेको बताउने उनी विश्वकै प्रतिष्ठित नोबेल पुरस्कार जित्ने लक्ष्य सुनाउँछन् । ‘म जर्मनी जाने कुरा सुनाउँदा धेरैले विश्वास गरेनन् । कतिपयले गफ दिएको भने कतिले लेबर भिसामा खाडी देश जान लागेको होला पनि भने,’ झोलाबाट भिसा र बिभिन्न देशहरुबाट प्राप्त पत्र निकालेर देखाउँदै उनले भने, ‘तपाईंलाई विश्वास लाग्दैन भने यी हेर्नुस् । जस्ले जे भने पनि मेरो काम रोकिँदैन । मेरो अनुसन्धानबारे पुस्तक लेख्छु र संसारकै प्रतिष्ठित नोबेल पुरस्कार पाएर देखाउँछु । त्यसपछि त विश्वास गर्लान् नि ।’

यो पनि पढ्नुस्

ब्रह्माण्डको अध्ययन टोलीमा नेपाली युवा छानिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment