Comments Add Comment

पोखरामा निकालियो शान्ति सद्भाव र्‍याली

Pokhara-Shanti-Rally

सन्देश श्रेष्ठ

११ भदौ, पोखरा । देशमा बढ्दै गएको अविश्वास र अशान्तिको अन्त्य सहित सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले शुक्रवार पोखरामा बृहत शान्ति सदभाव र्‍याली निकालिएको छ ।

बन्द र हड्तालको विकल्प खोज्नुपर्ने र पर्यटकीय नगरी पोखरालाई बन्द मुक्त क्षेत्र घोषणा गर्नुपर्ने मागसहित पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा र्‍याली निकालिएको हो ।

र्‍यालीमा उद्योगी, व्यवसायी, राजनीतिक दल तथा तिनका भातृ संगठन, नागरिक समाज, आमा समूह, विद्यार्थी, युवा-युवती, जातीय संघ/संस्था, गैरसरकारी संस्था, टोल विकास संस्थासहित सर्वसाधारणको सहभागीता थियो ।

Pokhara-Shanti-Rally-2

र्‍यालीमा सहभागीहरुले ‘सामाजिक सदभाव कायम राखौं’, ‘बन्दलाई सँधैको लागि बन्द गरौं’, ‘पोखरा सँधै खुल्ला छ’, ‘गरिखान देऊ’, ‘हामी सबै नेपाली’, ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ लगायतका नारा लेखिएका प्ले-कार्ड बोकेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष विन्दुकुमार थापाले र्‍याली कुनैपनि दल तथा समूहप्रति लक्षित नभएको बताए । उनले पोखरालाई बन्दमुक्त पार्ने उद्देश्यसहित देशको बिग्रदो अवस्थालाई ध्यानमा राखेर र्‍याली निकालिएको प्रष्ट्याए । साथै उनले बन्दको विकल्प खोज्न आग्रह गर्दै अबदेखि बन्द तथा हड्ताल कार्यक्रम नराख्न सम्पूर्ण राजनीतिक दल तथा संघसंस्थालाई आग्रह गरे ।

गैह्रापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको कार्यालयबाट विहान साढे ८ बजे शुरु भएको र्‍याली पालिखेचोक, भीमसेनचोक, लखनचोक, सभागृहचोक, न्यूरोड, विपीचोक हुँदै मानवअधिकारचोक चिप्लेढुङ्गामा पुगेर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment