Comments Add Comment

वार्ता गरेर द्वन्द्व समाधान गर्न तयार छौं : शुक्ला

सलमान खान
११ भदौ, भैरहवा । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री एवं प्रवक्ता शर्वेन्द्रनाथ शुक्लाले सरकारसँग वार्ता गरेर अहिलेको द्वन्द्व समाधान गर्न आफूहरु तयार रहेको बताएका छन् । तर, उनले विगतमा भएका सहमति कार्यान्वयन भएमात्रै आफूहरु वार्तामा बस्ने सर्त राखे ।

Sharbendra-Nath-Shuklaशुक्रबार रुपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा शुक्लाले विगतका सहमति छाडेर अगाडि बढ्न नसक्ने प्रष्ट पारे । उनले भने, ‘यदि विगतमा भएका सहमति कार्यान्वयन गर्नका लागि वार्ता गरिने हो भने वार्ता गर्न तयार छौं । नभए वार्तामा जाँदैनौं ।’

जनतालाई छिटो संविधान दिनुपर्ने पक्षमा मधेसीमोर्चा रहेको भन्दै उनले अबको वार्ता द्वन्द्व समाधानका लागि हुनुपर्ने धारणा राखे । प्रदेशको सीमांकन सामर्थ्य भन्दा पनि द्वन्द्व समाधानका लागि गरिनुपर्ने उनको भनाइ थियो ।

‘आन्दोलनरत दलहरुसँग विगतमा भएको सहमति र अहिलेको परिस्थतिलाई टेबलमा राखेर छलफल गरियो भने समस्या समाधान हुन्छ,’ पत्रकार सम्मेलनमा नेता शुक्लाले भने, ‘यदि वार्ताका लागि मात्र वार्ता गरेर वार्ता असफल भयो भने मुलुकमा द्वन्द्व बढ्छ ।’

नेता शुक्लाले सात प्रदेशमा देखिएका विवादित ५ जिल्ला झापा, सुनसरी, मोरङ, कन्चनपुर र कैलालीलाई तत्काल केन्द्र सरकारले हेर्ने गरी अन्य विषयमा सहमति गरेर जानु उपयुक्त हुने आफ्नो व्यक्तिगत धारणा रहेको बताए ।

उनले आन्दोलन अघि नै सरकारलाई आफूहरुले संविधान सभा छाड्ने लगायतका आन्दोलनको चेतावनी दिए पनि र वेवास्ता गर्दै दमन गरेकाले आन्दोलनले चर्किएको जिकीर गरे । आन्दोलन चर्किनुमा सरकार नै दोषी रहेको उनले आरोप समेत लगाए ।

‘सबैले सबैथोक पाउँदैनन्, सबै दलहरु आ-आफ्नो अडानबाट अलि अलि पछाडि हटेर समस्याको समाधान खोज्नुपर्छ र जनतालाई चाँडो भन्दा चाँडो संविधान दिनुपर्छ,’ उनले भने ।

भैरहवा घटना छानबिन हुनुपर्छ

त्यस्तै नेता शुक्लाले भदौ ३ गते भैरहवामा भएको झडपको छानबिन हुनुपर्ने माग समेत राखेका छन् । उनले आन्दोलनमा घुसपैठ भएको दावी गरे । साम्प्रदायीक दंगा भड्काउने माथि सरकारले छानबिन गरी कारवाही गर्नपर्ने उनको माग छ ।

भदौ ३ गते भैरहवामा बन्दकर्ता र प्रतिकार समूहबीच झडप भएको थियो । झडपमा घाइते एकजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment