Comments Add Comment

चुरोट र चप्पलभित्र सवा दुई करोड !

१२ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीलाई बिहीबार बिहान सूचना आयो, ‘अवैध डलर बोकेका चिनियाँ नागरिक उड्दै छन् ।’ सूचना ढिलो आएकाले प्रहरीले तत्काल होल्ड ब्यागेज चेकिङमा चिनियाँहरूको निगरानी थाल्यो । एयर चाइनाको उडान नम्बर सिए ४०८ बाट ल्हासा उड्न लागेका चिनियाँ नागरिक वी वाङ आफ्नो सुुटकेस चेकिङ सुरु गर्नेबित्तिकै हाँसे ।

सुटकेसभित्र डबल ह्याप्पिनेस लेखिएको चुरोटका प्याकेट थिए । वाङले अवैध मुद्रा बोकेको सूचना प्रहरीले पाएको थियो । उनको सुटकेसमा भेटिएको चुरोटको प्याकेटमा सुरुमा खिल्ली मात्र देखिएपछि प्रहरी अचम्ममा पर्‍यो । तर, प्रहरीले चुरोटको खिल्लीसमेत च्यातेर हेर्दा त्यहाँ सुर्ती थिएन, विदेशी मुद्राका नोट रहेको नयाँ पत्रिकामा खबर छ ।

वाङले एउटा चुरोटको खिलीभित्र मिलाएर दुईवटा नोट राखेका थिए । ‘झट्ट हेर्दा भित्र केही सुर्ती नै छ जस्तो देखिन्छ,’ विमानस्थल प्रहरी प्रमुख डिआइजी विजयलाल कायस्थले भने, ‘निकै कुशल तरिकाले चुरोटको सुर्ती निकालेर उनले नोटलाई बेरेर राखेका थिए ।’

करिब चार सयवटा चुरोटका खिलीमा वाङले ६० हजार डलर र २० हजार ४८ चिनियाँ युयान लुकाएका थिए । चुरोटमा अवैध मुद्रा राखेको भेटिएपछि थप शंका लागेर प्रहरीले वाङको शरीर सर्च गर्‍यो, तर केही फेला पारेन । उनले चप्पल लगाएका थिए । चप्पलको सोल भने मोटो थियो ।

शंका लागेर उनको चप्पल काटेर हेर्दा प्रहरी आश्चर्यमा पर्‍यो । चप्पलभित्र अझै धेरै विदेशी मुद्रा भेटियो । दुईवटा चप्पलभित्र ७६ हजार युरो, १४ हजार डलर र ४८ हजार स्विस फ्रेन्क गरी एक करोड ५७ लाखबराबरको विदेशी मुद्रा फेला परेको थियो । वाङको साथबाट दुई करोड २० लाख रुपैयाँबराबरको अवैध विदेशी मुद्रा प्रहरीले बरामद गरेको छ ।

यसअघि पनि वाङले पटक–पटक विदेशी मुद्रा तस्करी गरिरहेको हुनसक्ने डिआइजी कायस्थले बताए । पाँच वर्षयता उनी नियमित रूपमा नेपाल आउने गरेका थिए । पछिल्लोपटक १ भदौमा उनी नेपाल आएका थिए । सन् २०१५ मा मात्र उनी १२ पटक नेपाल आएको उनको पासपोर्टमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment